हिरासतमुक्त भएपछि पत्नीपीडित यस्तो सोच्न बाध्य

हिरासतमुक्त भएपछि पत्नीपीडित यस्तो सोच्न बाध्य


पत्नीपीडित

कसैको मायाप्रेमबाट उत्पन्न यातनाकै कारण महिना दिन पुलिस कस्टडीमा बिताउन बाध्य भएँ भनी आर्तनाद गर्नुपर्दाको पीडा भुक्तभोगीलाई मात्र महसुस हुने रहेछ । त्यही अभागीमध्येको एक हुनुको नाताले व्यथा–विलौना सार्वजनिक गर्दै छु ।

भीमकला दाहाल खड्कासँग जीवन बिताएको बाह्र वर्षपछि गत माघ ११ देखि फागुन १० सम्म इलाका प्रहरी चौकी दमकको कस्टडीमा तीस दिन बिताउन बाध्य भएको अभागी म राजकुमार खड्का हुँ । आङसराङ–३ पाँचथरका चोमबहादुर दाहालको छोरी भीमकलासँग सामाजिक परम्पराअनुसार विवाहबन्धनमा बाँधिएर दुई छोराछोरीको बुवासमेत भएको व्यक्ति हुँ म । हाम्रो सम्बन्धमा खटपट आउँछजस्तो मलाई कहिल्यै लागेको थिएन । ०६७ सालमा रोजगारका लागि म विदेशतिर लागेँ ।

विदेशमा पनि कसैले नपाएको दुःखकष्ट भोगेर एक–एक पैसा जम्मा गरेर घर पठाएँ । भीमकलाकै भाइ विश्वदीप दाहाल काठमाडौंमा क्याम्पस पढ्न भनेर गए । जसको घरमा एक रुपैयाँ आयस्रोत थिएन । बुबाको चौबीसै घन्टा जाँडरक्सीमा आङसराङमा दैनिकी चलिरहेको छ । त्यसैबखत कान्छी बहिनी मन्दिरा दाहाल पनि क्याम्पस पढ्न भनेर फिदिममा हाम्रै सल्लाहले गइन् । उनीहरूको आर्थिक भार पनि मैले नै खेपेर विदेशमा पातमाथि ज्यान राखेर एक–एक सुका घरमा पठाएँ । त्यसैबेला दमक–५ मा चार कट्ठा जमिन उनै भीमकलाको नाममा किन्न सकेँ । हामी दुईजनाकै सल्लाहले उनैको नाउँमा विराट बैंक बुधबारे झापामा खाता पनि खोलेर ६ लाखभन्दा बढी नगद पनि जम्मा गरेको थिएँ । यति गर्नलाई मैले मलेसियामा मलेसियन रिङगेट चौबीस सयदेखि अट्ठाइस सयसम्म तलब थाप्थेँ । यति तलब थाप्नलाई ३६ देखि ४८ घन्टासम्म लगातार ड्युटी गर्नुपथ्र्यो । यति दुःख गर्दा खुट्टाको बूढीऔंलाका नङ गाडिएर पाक्थ्यो । कतिपटक त अप्रेसनसम्म गर्नुपरेको थियो । मलेसियन लामखुट्टेले खाएर डेङ्गु रोग लागेर हस्पिटल धाउँदै गर्दा कम्पनीले छुट्टी नदिएपछि रातभरि ड्युटी गर्नुपथ्र्यो । ड्युटी नगए कम्पनीले तीन दिनको तलब एकैपटक पेनाल्टी हानिदिन्थ्यो ।

म हिरासत परेपछि भीमकलाले नानीहरूलाई कुटपिट गरेर घरबाट निकाली घरमा तालाचाबी फोरेर भएको सामान पनि गायब बनाएकी छ । त्यसपछि नानीहरूले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिए पनि प्रहरीले आइन्दा कुटपिट नगर्ने कागजमा सहीछाप गराएर छाडिदियो । नानीहरू आम्दा अस्पतालमा उपचारपछि हजुरबुबा–आमाको शरणमा बसेका छन् ।

प्रवासमा रोजगारी गर्ने कुनै पनि नेपाली युवाले आफ्नो घर–परिवारलाई दुःख देखाउन चाहँदैन । घरको समस्या नै ठूलो हो भन्ने सोचका साथ काम गर्छ । अरूको छेउमा आफ्नो घरपरिवार सुखी बनाउनु नै उसको ध्येय हुन्छ । प्रवासमा जतिसुकै पीडा भए पनि हाँसेरै बिताउनुपर्छ । कसैले हिँड्दाहिँड्दै पछाडिबाट एक लाती हान्यो भने पनि जुरुक्क उठेर आफैँले पहिला सरि भन्नुपर्छ, नत्र अरू लात्ती खाइन्छ । काममा सानातिना गल्ती केही पनि गर्न पाइन्न । यदि गरिएमा हप्तौँ दिन सस्पेन्स परिन्छ । यस्तै पीडाहरू सहँदै धेरै युवा होमसिक हुन्छन् । कोही त सुतेको सुत्यै पनि हुन्छन् । घरपरिवारले राम्रो सन्देश नदिँदा र प्रवास पनि सोचेजस्तो नभएपछि कतिपय मानिस प्रवासमै विलीन हुन्छन् ।
म पाँच वर्षको प्रवासी जिन्दगीलाई स्थगित गर्दै आफ्नो घरपरिवार सम्झिएर शनि–अर्जुन–८ सेतीपानी (बुधबारे) घरमा आएँ । तर, जसलाई आफ्नो जीवनको नजिकको साथी ठानेको थिएँ उनी नै परिवर्तन भएकी रहिछिन् । एक हप्तामै मैले उनको फेरिएको मनस्थितिको भेउ पाइसकेको थिएँ । उनी यति बदलिएकी थिइन् कि हामी सुत्ने बेड मात्र नभई कोठा नै अलग भइसकेको रहेछ । बोलीचालीसमेत राम्रोसँग हुँदैनथ्यो । प्रवासबाट फर्किंदा कति धेरै रहर र सपना बोकेर आइएको हुन्छ । ती जम्मै एक–एक हप्ता गर्दै चकनाचुर हुँदै गइरहेका रहेछन् । करेसो जोडिएको छिमेकी रमेश महतोसँग भीमकलाको मायाप्रेम बसिसकेको रहेछ । मलाई आँखा छलीछली कहिले दिउँसोको समय त कहिले रातिको समय भेट्ने गर्दा रहेछन् । एक दिन–दुई दिन गर्दागर्दै नानीहरू र मलाई सबै थाहा भयो । यस्तो कुरा गाउँसमाजले थाहा पाउलान् भनेर आफूचाहिँ घरभित्रैबाट समस्याको समाधान गर्नेतर्फ लागेँ । तर, भीमकलाको व्यवहारमा सुधार आएन । अब घरबाट बाहिर कुरा आउन थाल्यो । गाउँसमाजले औँला उठाउन मात्र थालेन कि शनिश्चरे प्रहरी चौकीमा त्रिपक्षीय कागजसमेत लेखिलेखाइ गरी मिलापत्र गर्नुपर्ने अवस्था निम्तियो । तर, अहिलेसम्म पनि उक्त कागजको कुनै कार्यान्वयन हुन सकेको छैन । कागजमा गाउँसमाजका भद्रभलाद्मी, प्रहरी प्रतिनिधिसमेतको रोहवरमा भीमकला र भीमकलासँग जोडिने महतो र मेरो त्रिपक्षीय कागजमा भीमकलाको नाउँमा बैंकमा रहेको नगद र विदेशबाट पठाएको नगदको हरहिसाब बुझाउने कुरा उल्लेख थियो । मैले विदेश रहँदा किनेको, तर उनको नाउँमा रहेको चार कट्ठा जमिन फिर्ता पास गर्ने सहमति गरिएको थियो । पटकपटक गाउँसमाज बसेर मिलाउँदा पनि घटना दोहोरिइरहेपछि त्यहाँबाट दमक बसाइँसराइ गरी जानुपर्ने भयो ।

प्रहरी हिरासत भनेको त एउटा सुधार केन्द्रजस्तो हुनुपर्छ, एउटा मन्दिरसरह हुनुपर्छ । त्यहाँ सही–सत्य मात्र बोलिनु या गरिनुपर्छ जस्तो लाग्थ्यो मलाई । त्यहाँबाट फर्किएपछिका थुनुवाहरूले सकारात्मक सोच बोकेर समाजमा जानुपर्छ र समाजमा नयाँ कार्य गर्न सक्नुपर्छ भनी ठान्थेँ म । तर, होइन रहेछ । हिरासतमा भेटेका धेरै बन्दी थुनुवालाई हेर्दा उनीहरूको दिमागमा सकारात्मक सोचभन्दा पनि नकारात्मक सोच जन्माएर हिरासतमुक्त हुँदा रहेछन् भन्ने मैले प्रस्टै अनुभव गरेँ । पहुँच र पैसा हुनेहरू सोसफोर्स गरेर हिरासतमुक्त हुन्छन् । मुद्दा आफ्नो पक्षमा पार्छन्, तर गरिब निरीह असक्तहरू प्रहरीले जे–जे भन्छन्–गर्छन् त्यसैलाई स्वीकार गर्दै सजाय भोग्न बाध्य हुनुपर्छ । थुनुवा तिनीहरू सबै अपराधी हुँदैनन्, तर कानुनी रूपमा उनीहरूलाई अपराधी बनाइँदोरहेछ ।

कागज गरेको केही दिनदेखि घरबाट सामानहरू एउटा–एउटा गर्दै हराउन लागेका थिए । हुँदाहुँदै घरबाट राम्राराम्रा सामान, महत्वपूर्ण कागजपत्र, सुनचाँदी, गरगहना नगद सबै भीमकलाले उनैकी बहिनीको घर इलामतर्फ हुँदै माइतीघर पाँचथर पु¥याउन थालिछन् । गाउँघरबाट भीमकलाकै कारण शनि–अर्जुनबाट दमक–५ मा बसाइँसराइ गरी गएको हप्ता दिनपछि भीमकला कहिले दमक बजार कहिले बिर्तामोड बजार गर्दागर्दै एक महिना बित्यो । कसैले भनेको नमान्ने, नसुन्ने यति हुँदाहुँदै एकाएक दमकबाट भीमकला बेपत्ता भएर काठमाडौं पुगेको हल्ला आयो । एक हप्तापछि गाउँका उसैको आफन्तले हल्ला फिँजाए, तर घरपरिवार नानीहरूमा सम्पर्क भएन । आखिर भीमकला के चाहन्थिन् त ? आफ्नो कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन ? महिलाअधिकार भनेर मात्र हुन्छ कि आफ्नो जिम्मेवारी पनि बोध गर्नुपर्छ ? अधिकार खोज्ने, तर कर्तव्यबोध नगर्ने हो भने बाँकी जिन्दगी कसरी बित्छ त ? समाज कतातिर जाँदै छ त ? उनैको भाइ विश्वदीप दाहालले भएको जमिनको आधा भीमकलालाई अंश दिनुपर्ने दबाब दिन थाले । भएको जम्मा जमिनको आधा भनेको चार कट्ठा हुन आउँछ । उसलाई आधा दिएपछि बाँकी चार कट्ठा दुई नानीहरू र मैले खानुपर्ने भन्ने आयो । घरबाट हिँड्दा भीमकलाकै कान्छी देउरानी इन्दिरा खड्का र नाताले उसैकी फुपूकी छोरी लक्ष्मीमाया खड्काले बाटो खर्च दिएर पठाएको कुरा बुझिन आयो ।

घरमा भएका राम्राराम्रा भाँडावर्तन लत्ताकपडा तिनै आफन्तकोमा लुकाएर हिँडेकी रहिछन् भीमकला । अब घरमा दुई नानीहरूका साथमा मसमेत तीनजना मात्र भयौँ । हामीले जे–जस्तोसुकै परिस्थिति आए पनि घरव्यवहार सम्हालेर दैनिकी सञ्चालन गर्न थाल्यौँ । बर्खामा नानीहरूको सहयोगमा धान खेती गरियो । मङ्सिरको थान्कोमन्कोसमेत गरेर आठ कट्ठा जमिनमा चालीस मन धान घरमा थन्क्याइयो । तर, खानेबस्ने बेलामा भीमकला एक्लैले उपभोग गरिरहेकी छ । भीमकला घरबाट हराएको चार महिनापछि अचानक तिनै देउरानी, फुपूकी छोरी र भाइको आडभरोसामा उनले गाउँसमाज भेला पारेर अंश मागिन्, तर गाउँसमाजले उनलाई अंश दिन अहिले नै नमिल्ने बतायो, किनकि उनको चरित्रको कुरा उठ्यो ।

यसै बखतमा पाँचथर स्याबरुम्बाकी सिन्धु निरौलाका पति वीरेन्द्र कटुवालले सधैँ यातना दिने र नयाँ–नयाँ श्रीमती ल्याउँदै अर्कालाई जिम्मा लगाउँदै गर्ने प्रवृत्तिबारे खुलासा भयो । त्यसको सिकार मै अभागीसमेत बन्नुप¥यो । भीमकलाको माइली फुपूको छोरा खगेन्द्र थापाको माध्यमबाट एउटा चिनजानको साथीको पवित्र नातामाथि दोषारोपण गरेर हामीमाथि दाग लगाउने कार्यमा दमकका केही व्यक्तिसमेतको संलग्नता पाइयो । हामीलाई जबर्जस्ती प्रहरी कस्टडीमा कुँज्याउनका लागि भीमकलासमेतको टोलीले चाल चालिरहेको रहेछ । दमक–५ का स्थानीय भद्रभलाद्मीहरूको रोहवरमा माघ ९ गते भीमकलालाई भाइअंश दिलाउने घरायसी कागज गरियो । माघ ११ गते दिउँसो जग्गा पास गराउन भनी सबै दमकको मालपोतमा भेला भएको बेला अंश थोरै भयो पूरा जमिनको आधा भाग चाहिन्छ नत्र नमिल्ने भन्दै फन्किएर हिँडेको विश्वदीप दाहाल र भीमकलाले उनीहरूको साथमा स्याबरुम्बा पाँचथरका हाल दमक बस्दै आएका भीमकलाका भुपाजुका सम्धी हेमन्त थापालगायतको समूह प्रहरीको साथमा एकैचोटि आई मलाई पक्राउ गरेर प्रहरी हिरासतमा राखे । त्यसको दुई दिनपछि सिन्धुका श्रीमान्ले सिन्धुलाई पनि ल्याएर प्रहरीसमक्ष बुझाए । यो घटना सम्झिँदा सिन्धुको श्रीमान् वीरेन्द्र कटुवाल र मेरी पत्नी नाता रहेकी भीमकलाको पनि कुनै सम्बन्ध छ कि भन्ने मलाई लाग्यो । त्यसपछि प्रहरीले हामीलाई बहुविवाहको मुद्दा चलाएर अनुसन्धान सुरु ग¥यो । हामीलाई प्रहरीले अत्यन्तै मानसिक यातना दियो । बहुविवाहको मुद्दा अस्वीकार गरे अरू नै मुद्दा चलाउने भन्दै डरत्रास देखाएका थिए प्रहरी अनुसन्धान अधिकारीहरूले ।

महिलाले पुरुषमाथि अत्याचार गरे पनि पुरुष नै अनुसन्धानका लागि प्रहरी कस्टडीमा ल्याइएका पाएँ । बाटोमा गीत गाउँदै हिँडेकाहरूलाई पनि कुनै पनि केटीले किटानी जाहेरी दिएमा प्रहरीले सार्वजनिक मुद्दा चलाएर कम्तीमा २५ दिन प्रहरी कस्टडीमा राखिदिँदो रहेछ । कुनै केटाले कुनै पनि केटीलाई सीधा नजरमा हेरेमा पनि मुद्दा लाग्ने, तर केटीले केटामाथि जे गरे पनि सुनुवाइ नहुने रहेछ । दमक–५ बेलडाँगीको एउटा घटनामा श्रीमतीले श्रीमान्को लिङ्ग लुछ्दा अण्डकोष सुन्निएर घाइते बनेको भेटियो । तर, बेलडाँगी प्रहरी चौकीले उक्त घाइतेलाई हस्पिटल लानुको सट्टा हिरासत दमकमा पठाएको थियो । साह्रै गन्हाएको र उसका कुनै आफन्तले भेट्न नआएकाले थुनुवाहरूले कम्प्लेन गरेपछि उसलाई प्रहरीले दुई दिनसम्म थुनामा राखेर हस्पिटल पठाएको थियो ।

प्रहरी हिरासत भनेको त एउटा सुधार केन्द्रजस्तो हुनुपर्छ, एउटा मन्दिरसरह हुनुपर्छ । त्यहाँ सही–सत्य मात्र बोलिनु या गरिनुपर्छ जस्तो लाग्थ्यो मलाई । त्यहाँबाट फर्किएपछिका थुनुवाहरूले सकारात्मक सोच बोकेर समाजमा जानुपर्छ र समाजमा नयाँ कार्य गर्न सक्नुपर्छ भनी ठान्थेँ म । तर, होइन रहेछ । हिरासतमा भेटेका धेरै बन्दी थुनुवालाई हेर्दा उनीहरूको दिमागमा सकारात्मक सोचभन्दा पनि नकारात्मक सोच जन्माएर हिरासतमुक्त हुँदा रहेछन् भन्ने मैले प्रस्टै अनुभव गरेँ । पहुँच र पैसा हुनेहरू सोसफोर्स गरेर हिरासतमुक्त हुन्छन् । मुद्दा आफ्नो पक्षमा पार्छन्, तर गरिब निरीह असक्तहरू प्रहरीले जे–जे भन्छन्–गर्छन् त्यसैलाई स्वीकार गर्दै सजाय भोग्न बाध्य हुनुपर्छ । थुनुवा तिनीहरू सबै अपराधी हुँदैनन्, तर कानुनी रूपमा उनीहरूलाई अपराधी बनाइँदोरहेछ ।

पागल प्रकाशसँग मेरो लागूऔषधको मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा भेट भएको थियो । उनी पटकपटक गरेर १३ वर्षसम्म हिरासत र कारागार बसेको अनुभव सुनाउँथे । आफूलाई प्रहरीले गरेको अनुसन्धानको व्यवहारले अझै यही यस्तै बाटो हिँडिरहन बाध्य बनाएको गुनासो उनले गरेका थिए । त्यस्तै गरिबीको कारण प्रहरी कस्टडीमा परेको गुनासो थुनुवा भीम भुजेल, सन्जोग लावती, मन्दीप राईलगायतकाले गरेका थिए । कतिपयचाहिँ पुरुषहिंसाका पीडितहरू नै भेटिन्थे । प्रहरी हिरासतमा १२ वर्ष उमेरदेखि माथिकाहरू भेटिए ।

प्रहरीले अनुसन्धानमा लिनेबित्तिकै थुनुवाहरूको स्वास्थ्य परीक्षण गर्ने नियम रहेछ । मलाई पनि प्रहरीले माघ ११ गते राति ९ बजेको समयमा आम्दा अस्पताल दमकमा चेकअपको लागि लगियो । चेकअपमा आफ्नो नाम सोध्ने भन्दा अरू केही काम हुँदैन रहेछ । प्रहरी भ्यानमा पछाडिपट्टिको भागमा राखियो । सुरक्षागार्ड दुईजना खटिएका थिए । एकजनाचाहिँ मादक पदार्थ सेवन गरेका मतुवा गार्ड परेछन् । पदम भुजेल नामका ती गार्डको सास ह्वास्सै गनाइरहेको थियो । थुनुवाहरूमाथि अश्लील शब्दहरू प्रयोग गर्दै पाट्टपिट्ट लगाउँदै थिए उनी । उनको सास सारै नै गन्हाएकाले म अलि अलग्गै बसेँ । प्रहरी कार्यालय फर्किएपछि प्रहरी अनुसन्धान विभागका असइ वीरेन्द्र कोइरालासँग आधा घन्टा जति गफगाफ भयो । उहाँको प्रस्तुति अत्यन्तै सभ्य र शालीन थियो । सेन्ट्रीमा खटिएका प्रहरीमा पनि व्यवहार राम्रो नै थियो । केही प्रहरीको रुखो स्वभाव भए पनि कतिपयको चाहिँ सहयोगी भावना नै पाइयो । कतिपयचाहिँ थुनुवाहरूसँग सापटी पैसा लिने अनि सम्पर्कमा नआउने पनि हुँदारहेछन् ।

थुनुवाहरूलाई थर्ड क्लासको खाना खुवाउने गरिँदोरहेछ । बासी खानामा नयाँ चामल थपेर पुनः पकाई ल्याउने गरिँदोरहेछ । प्रायजसो नपाकेकै खाना खुवाइँदोरहेछ । खानामा कतिपटक त सिसासमेत भेटिएको थियो । थुनुवाहरूलाई बस्दा असहज नहोस् भनेर टीभी हेर्ने व्यवस्था मिलाइएको रहेछ, तर टीभी बिग्रेकाले थुनुवाहरूले नै पैसा जम्मा गरेर टीभी मर्मत गरेका थियौँ ।

धेरै मुद्दा महिला र पुरुषबीचका नै थिए । महिलाले पुरुषमाथि अत्याचार गरे पनि पुरुष नै अनुसन्धानका लागि प्रहरी कस्टडीमा ल्याइएका पाएँ । बाटोमा गीत गाउँदै हिँडेकाहरूलाई पनि कुनै पनि केटीले किटानी जाहेरी दिएमा प्रहरीले सार्वजनिक मुद्दा चलाएर कम्तीमा २५ दिन प्रहरी कस्टडीमा राखिदिँदो रहेछ । कुनै केटाले कुनै पनि केटीलाई सीधा नजरमा हेरेमा पनि मुद्दा लाग्ने, तर केटीले केटामाथि जे गरे पनि सुनुवाइ नहुने रहेछ । दमक–५ बेलडाँगीको एउटा घटनामा श्रीमतीले श्रीमान्को लिङ्ग लुछ्दा अण्डकोष सुन्निएर घाइते बनेको भेटियो । तर, बेलडाँगी प्रहरी चौकीले उक्त घाइतेलाई हस्पिटल लानुको सट्टा हिरासत दमकमा पठाएको थियो । साह्रै गन्हाएको र उसका कुनै आफन्तले भेट्न नआएकाले थुनुवाहरूले कम्प्लेन गरेपछि उसलाई प्रहरीले दुई दिनसम्म थुनामा राखेर हस्पिटल पठाएको थियो । प्रहरीले मुद्दा चलाएपछि घटनास्थलको सर्जमिन मुचुल्का तयार बनाउँदोरहेछ । मुद्दाअनुसार विभिन्न किसिमका कागजात तयार गर्दोरहेछ प्रहरीले । प्रहरीमा यसैबेला बोलवालाहरूको घुसपैठ हुने गर्दोरहेछ ।

बाहिरी दबाब परेन भने र कुनै पनि मुद्दा प्रहरीले सही अनुसन्धान गर्न चाह्यो भने अपराध न्यूनीकरण गर्न नेपाल प्रहरी सक्षम छ, तर बाह्य दबाब दिने–लिने प्रचलन हाम्रोमा ज्यादै नै खराब छ । यही कारण सही अनुसन्धानमा अप्ठ्यारो आइपर्ने, प्रहरी अनुसन्धानमा पनि बोलवालाहरूकै पिठो बिक्ने हुँदोरहेछ । अनि त भुइँमान्छेहरू प्रहरी कस्टडीमा परेर कस्टडीमुक्त भएपछिचाहिँ सुध्रिनुको सट्टा आपराधिक सोच बोकेरै जाँदा रहेछन् । किनकि उनीहरूले प्रहरी कस्टडीमा न्याय भन्ने नै देख्न नपाउने रहेछन् ।

म पनि प्रहरीको कस्टडीमा ३० दिन बिताएर जिल्ला अदालत झापाबाट धरौटीमा छुटेको छु । मुद्दा विचाराधीन अवस्थामा छ । सिन्धु निरौलाले घटनामा साक्षी बसेका, जाहेरीकर्ता र मसमेतलाई विपक्ष बनाई लिखत गाली बेइज्जती फिराद जिल्ला अदालत झापामा दर्ता गराएको अवस्था छ । प्रहरी हिरासत भुइँमान्छेहरूका लागि सुधार केन्द्र र पहुँचवालका लागि कस्टडी नबनुन्जेल देशमा अपराध घट्दैन भन्ने निचोडमा पुगेको छु । यस यथार्थप्रति प्रहरी निकाय नै पहिला सचेत हुन जरुरी छ ।
Rajkumar Khadka 3

– राजकुमार खड्का