क्यानडाबाट फर्किएकी पूजा भन्छिन्– ‘मेरो प्रेमी त अमेरिकामा छ’

क्यानडाबाट फर्किएकी पूजा भन्छिन्– ‘मेरो प्रेमी त अमेरिकामा छ’


Pooja-Sharmas-Hot

कला क्षेत्रमा सङ्घर्ष गर्ने, नाम कमाउने र नामको लाभ उठाउँदै युरोप, अमेरिकाको भिसा लिएर पलायन हुने कलाकारहरूको ठूलै लर्को लागिसकेको छ । अहिले पनि जति कलाकर्मी यस क्षेत्रमा प्रवेश गर्छन्, अधिकांशको ध्येय थोरबहुत नाम कमाउने र विदेशको भिसा हासिल गर्ने नै देखिन्छ । यसरी विदेशमोह बढिरहेको बेला विदेश बस्ने अवसर त्यागी स्वदेश फर्कने कलाकार पनि छन् भन्दा आश्चर्य लाग्नु स्वाभाविक छ । तर, रातारात हिट भएकी तर सफलताको स्वाद त्यत्ति चाख्न नपाएकी अभिनेत्री भनेर चिनिएकी नायिका पूजा शर्माले सहकर्मीहरूलाई चकित पार्दै क्यानडाबाट नेपाल फर्कने निर्णय मात्रै नलिई सो निर्णयलाई कार्यान्वयन नै गरेकी छिन् ।

वैशाख तेस्रो सातादेखि पच्चीस वर्ष लागेकी पूजाले १६ वर्षकै उमेरमा मोडलिङबाट कलायात्रा आरम्भ गरेकी थिइन् । ठूलोपर्दामा भने २१ वर्ष लागेपछि मात्रै उनले ब्रेक पाएकी हुन् । ‘मधुमास’ नामक चलचित्रबाट फिल्मीयात्रा सुरु गरेकी पूजा अभिनय नै नसिकी फिल्ममा काम गर्नुलाई आफ्नो जीवनको भूल भन्न हिच्किचाउँदिनन् । दर्जनौँ म्युजिक भिडियोमा काम गरेकी पूजाले पछि ‘अझै पनि’, ‘चङ्खे शङ्खे पङ्खे’, ‘प्रेमगीत’ जस्ता चलचित्रमा काम गरिन् भने प्रेमगीतबाट चाहिँ निकै चर्चा र प्रशंसा बटुलिन् । अहिले त ‘म यस्तो गीत गाउँछु’मार्फत पूजा निमात्रीसमेत बनेकी छिन् ।

यसबीच उच्चशिक्षा अध्ययनार्थ क्यानडा गएकी पूजाले सुरुमा विदेशमै करिअर बनाउने सोच नबनाएकी होइनन् । तर, उनको यस्तो आकाङ्क्षा क्यानडा गएको महिनादिन नबित्दै सेलाएर गयो । उनलाई त्यहाँ बस्न मनै लागेन र स्वदेशमै आफूलाई व्यस्त राख्ने ध्येयका साथ फर्किइन् । आफ्नो उच्चशिक्षा अध्ययन पनि नेपालमै जारी राखेकी छिन् उनले । कुनैबेला अभिनेता तथा निर्देशक सुदर्शन थापासँग नाम जोडिएकी पूजा त्यसलाई बेकारको हल्ला भन्दै खण्डन गर्छिन् । बरु हाकाहाकी उनी भन्छिन्– ‘मेरो मान्छे त यतिबेला अमेरिकमा पढ्दै छ ।’

‘चण्डिका’ उत्कृष्ट

नेपाली सेनाद्वारा आयोजित यस वर्षको लघु चलचित्र प्रतियोगितामा दिनेशकुमार प्रजापतिद्वारा निर्मित ‘चण्डिका’ सर्वोत्कृष्ट घोषित भएको छ । गत साता शुक्रबार सैनिक मुख्यालयमा आयोजित लघु–चलचित्र प्रदर्शन तथा पुरस्कार वितरण समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उक्त चलचित्रलाई रु. दुई लाख नगद र प्रमाणपत्र प्रदान गर्नुभयो । सो प्रतियोगितामा कृष्णशरण बुढाथोकीको ‘कल अफ ड्युटी’लाई दोस्रो र सागर अर्यालको ‘प्रेरणा’लाई तेस्रो घोषित गरियो भने दोस्रो र तेस्रो लघु–चलचित्रलाई क्रमशः रु. एकलाख पचास हजार र एकलाख नगद पुरस्कारसहति प्रशंसापत्र प्रदान गरिएको थियो । नेपाली चलचित्र क्षेत्रमा अग्रसर, स्थापित र नवप्रवेशी कलाकार एवम् चलचित्र निर्मातालाई प्रोत्साहित गर्दै प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्र निर्माण गरेर मुलुकको कला, संस्कृति र पहिचानलाई दर्बिलो बनाउन सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।