पूर्वीय दर्शनका ज्ञाता घिमिरेको निधन अस्पतालको लापरबाहीबाट ?

पूर्वीय दर्शनका ज्ञाता घिमिरेको निधन अस्पतालको लापरबाहीबाट ?


Janardan Ghimire

यतिबेला मुलुक निर्वाचनमय भएको छ । स्थानीय तह पहिलो चरणको निर्वाचन परिणामको पर्खाइले अन्य सामाजिक घटना–परिघटनालाई ओझेल पारिदिएको अनुभूति गरिएको छ । यसको ज्वलन्त उदाहरण मान्न सकिन्छ– मुलुकका विभिन्न स्थानमा संस्कृत ग्राम बनाउने अभियानका अभियन्ता सुपरिचित धार्मिक तथा सांस्कृतिक व्यक्तित्व जनार्दन घिमिरेको निधन–सन्दर्भलाई ।

स्थानीय तह निर्वाचनमा मतदान गर्ने ध्येयले गत वैशाख २८ गते आफ्ना माता–पितासमेतलाई साथ लिई गृहजिल्ला दोलखा जाने क्रममा भएको बस दुर्घटनामा परी घिमिरे गम्भीर घाइते बन्न पुगेका थिए । उक्त दुर्घटनामा घिमिरेका माता–पिताको समेत निधन भएको थियो । घिमिरेका ७६ वर्षीय पिता मुक्तिनाथ घिमिरेको घटनास्थलमै र आमा रत्नकुमारीको उपचारका क्रममा निधन भएको थियो भने राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोलोजी एण्ड भस्कुलर सेन्टरमा उपचारका क्रममा गत सोमबार जनार्दनलाई मृत घोषणा गरिएको हो ।

धेरैले एक रेडियोकर्मीका रूपमा मात्र चिने पनि जनार्दन घिमिरेको व्यक्तित्व र क्षमताको दायरा व्यापक थियो । त्रिभुवन विश्वविद्यालयको संस्कृत विभागमा एसोसिएट प्रोफेसर रहेका स्वर्गीय घिमिरे डीएभी स्कुलमा समेत अध्यापन गर्दथे । पूर्वीय दर्शनका ज्ञाता एवम् धुरन्धर विद्वान् घिमिरे पूर्वीय ज्ञान र दर्शनको पुनर्उत्थानका लागि सक्रिय रहँदै आएका थिए । दोलखाको कालिञ्चोक गाउँपालिकामा संस्कृत ग्राम बनाउने बृहत् गुरुयोजनालाई साकार पार्न अहोरात्र सक्रिय थिए । संस्कृत वाङ्मयका ज्ञाता र संस्कृत अध्येता घिमिरेका संस्कृतका केही कृति पनि प्रकाशित छन् ।

गत आइतबारसम्म सुधारोन्मुख अवस्था रहेको भनी अस्पतालका चिकित्सकले आफन्त तथा शुभचिन्तकहरूलाई जानकारी दिँदै आएकोमा सोमबार एक्कासि मृत घोषणा गरिएबाट घिमिरेको मृत्यु अस्पतालको लापरबाहीका कारण भएको आरोप लागेको छ । दुर्घटनालगत्तै धुलिखेल अस्पतालमा भर्ना गरिएका घिमिरेलाई सोही दिन राति ११ बजेतिर राजधानीस्थित मनमोहन अस्पताल पु¥याइएको थियो । गत शनिबारसम्म उनलाई अस्पतालमा भेट्दा आफ्नो अवस्था सुधारोन्मुख रहेको भनी चिकित्सकको हवाला दिएर घिमिरे स्वयम्ले शुभचिन्तकहरूसँग कुरा गरेका थिए । आइतबार पनि चिकित्सकहरूले करङका हड्डीहरू भाँचिएकाले उपचारमा समय लागे पनि खतरा भने नरहेको बताएका थिए । तर, सोमबार एकाएक अस्पताल प्रशासनले बिरामीका आफन्तलाई कुनै जानकारी नदिई प्रहरीको टोली बोलाएपछि आशङ्का बढेको थियो । नभन्दै घिमिरेलाई अस्पतालले मृत घोषणा गरिदियो । यसलाई घिमिरेको उपचारप्रति मनमोहन अस्पतालले गरेको चरम लापरबाहीको रूपमा हेरिएको छ ।