नेपालको सुखद राजनीतिक भविष्यको कल्पना

नेपालको सुखद राजनीतिक भविष्यको कल्पना


damodar paudel

– दामोदर पौडे

केही पहिला राप्रपाको एकता महाधिवेशन सकियो । सङ्घीयता र राजसंस्थासहितको हिन्दूराष्ट्र हुनुपर्छ भन्ने मान्यता राख्ने कमल थापा दलको अध्यक्ष बने । नेपाली जनमानसलाई हेर्दा राप्रपाप्रति विभिन्न कारणले विमति राख्ने भए पनि देशको जनसङ्ख्याको ठूलो हिस्सा राजसंस्था र हिन्दूधर्मको पक्षमा देखिन्छ । काङ्ग्रेसभित्र र मधेसवादी दलहरूमा पनि हिन्दूधर्मप्रति सकारात्मक सोच राख्नेहरू प्रसस्त नै छन् । त्यस्तै सङ्घीयताको सम्बन्धमा पनि नेपालजस्तो सानो र विविधतायुक्त पक्ष एकै ठाउँमा रहेको देशमा पहिला नै व्यापक विकेन्द्रीकरण भएको भए सङ्घीयताले यति बढी हावा पकड्ने थिएन पनि भनिन्छ ।

मूलभूत रूपमा देशमा हिन्दू धर्मवादी र राजावादी तथा एकात्मकतावादीहरू तथा सङ्घीयतावादी छन् । तर, यी सबै पक्षको ध्रुवीकरण हुन सकेको छैन, दलको प्रधान लक्षको निक्र्योल हुन पनि सकेको छैन । कमसेकम देशमा सङ्घीयतावादी र धर्मनिरपेक्षवादी शक्ति, राजावादी र हिन्दू धर्मवादी शक्तिसमेत एकै ठाउँमा बस्ने अवस्था भएमा दलको सङ्ख्या कम हुने थियो । देशमा साह्रै धेरै दलहरू हुनु पनि विकासको बाधक र जनतामा भ्रम बाँड्ने कारण बन्न पुगेका छन् ।

देशमा लोकतन्त्रप्रति आस्था राख्दै बहुलवादमा विश्वास गर्ने दलहरूको ध्रुवीकरण भयो भने र चारवटा ठूला दलहरू मात्र देशमा रहन सक्ने हो भने बेथिति र अन्योलमा कमी आउन सक्दछ । काङ्ग्रेसमा आफैँ पदको मारामार भएकाले काङ्ग्रेसले अर्को दललाई आफ्नो दलमा मिलाउन सक्ने क्षमता कम देखिन्छ । वैचारिकभन्दा तीव्र रूपको व्यक्तिगत र गुटगत स्वार्थको टकराव नै यो दलका नेता तथा कार्यकर्ताको विशेषता त बन्दै छैन ? भन्ने सवाल खडा भइरहेको छ । मधेसवादी दलहरूका नेताको हैसियतलाई काङ्ग्रेसले उचित सम्मान गर्न सके र एकताका लागि गृहकार्य गर्न सके राम्रो हुने थियो । तर, काङ्ग्रेसकै कारण कठिन छ । तर, के गर्ने लोकतन्त्र मान्ने पुरानो एक मात्र पार्टी यही हो, अर्को पूर्ण रूपमा लोकतन्त्र र बहुलवादप्रति आस्थावान भन्ने मान्न सकिने राष्ट्रिय मान्यता प्राप्त दल छैन भनेर काङ्ग्रेसलाई मत दिनेको सङ्ख्या कम छैन । त्यो काङ्ग्रेसको फाल्न चाहेर पनि फाल्न नसकिने सम्पत्ति हो । त्यही सम्पत्तिले नै काङ्ग्रेसलाई मूलभूत रूपमा बचाएको छ ।

एमाले आफँैमा सङ्क्रमणकालमा छ । यो कम्युनिस्ट पार्टी हो कि लोकतान्त्रिक समाजवादी दल हो भन्ने प्रस्ट भइरहेको छैन । एमाले नेताहरूका आधिकारिक भनाइहरू लोकतन्त्र र बहुलवादको पक्षमा छन् जब कि उनीहरूका विचारका स्रोत आज पनि माओ, लेनिन, स्टालिन आदि हुन् जसको विचारले लोकतन्त्र र बहुलवादलाई कहिल्यै आत्मसात् गर्न सक्दैन । केहीले भन्ने गरेका छन् कि एमालेले आफूलाई पूर्ण रूपमा लोकतन्त्रवादी र वामपन्थी÷समाजवादी शक्तिको रूपमा दस्तावेज र नामलाई पनि सुधार गरेर अगाडि बढ्न सकेन, के गर्ने ? अन्यथा काङ्ग्रेसबाहेक अर्को बहुदल र बहुलवादप्रति पूर्ण आस्थावान दल छैन भन्ने अवस्था रहँदैनथ्यो ।

काङ्ग्रेसका लागि बीपीको योगदान वैचारिक, रणनीतिगत, विद्वता, सङ्गठनात्मक समेतमा अहम् छ । जसरी एमालेमा माओ, स्टालिन, लेनिन, माक्र्स, एन्जेल्स आदिको छाप छ, त्योभन्दा बढी काङ्ग्रेसीको मनमा बीपीको छाप छ । बीपी अझै यसै देशका पनि हुन् । उनका सार्वभौमबाहेकका स्थानीय विचारसमेत नेपाल र नेपालीमा आधारित छन् भन्न सकिन्छ । तैपनि काङ्ग्रेसले आफूलाई प्रकट रूपमा वा दस्तावेजमा बीपीवादी भन्दैनन् । बीपीको फोटोसमेत गणेशमान, गिरिजा, कृष्णप्रसाद आदिको भन्दा फरक मान्यताको छ भन्ने यदाकदा मात्र देखिन्छ । काङ्ग्रेसको यो सम्पत्तिलाई अरू दलले पनि पकड्न सक्नुपर्छ । विचार र बहसको चुरो यहीँ छ । त्यो चुरो नपक्रेसम्म कुनैलाई पनि लोकतन्त्र र बहुलवादको पक्षमा रहेको मान्न सँंदैन । अर्थात् देशको लोकतन्त्र र बहुलवाद मान्ने र यसको सदुपयोग गरेर समानता, विकास, शान्ति, सुख दिन सकिन्छ भन्ने मानसिकता लिएको एउटा ठूलो वर्र्गलाई समेट्न अरू दलले सकेका छैनन् । अरू दलका नजिक भएका विद्वान्हरूका लागि पनि वैचारिक रूपमा यो पक्ष नै समस्याहरू समाधानको अभुतपूर्व फर्मुला हुन सक्दछ ।

अर्थात् मानिस साह्रै कमजोर प्राणी पनि हो । सिकाइ र बानीले गर्दा उसले नदेखेको उपरवालाको नाममा पुरुष र महिलालाई उचनिच देख्न सक्दछ । उसले लक्ष्यका लागि मानिसै मारेमा पनि आफू मरेपछि राम्रो ठाउँमा बस्न पाइन्छ भन्ने कल्पना गर्दछ । युद्धमा मरे पनि राम्रो ठाउँ स्वतः सुरक्षित भएको महसुस गर्दछ । साना–साना विषयमा पनि उपरवालालाई ल्याउने र मर्न तयार हुने चलन छ । कसैले नदेखेको उपरवालामाथि किन ज्यानैसमेत दिने इच्छा ? त्यही हो बानीको कारणले भएको लगाव र त्यसबाट निक्केको भ्रमलाई पनि सत्य भन्ने सोच र व्यवहार । त्यसमा हराउनेहरूले आफू स्वर्गीय आनन्दमा भएको अनुभव गर्दा होलान् । त्योभन्दा बाहिर रहनेहरूले त्यसलाई पागलपनजस्तो मान्छन् । त्यसमा असहिष्णु नभए केही फरक पर्दैन र एउटा विचारलाई जीवित राखेको अर्थमा लिन सकिन्छ । समयअनुसार सुधारको बाटोमा लग्न सकिन्छ वा समयले पनि लग्दछ । तर, असहिष्णु भएमा ?

काङ्ग्रेसले बीपीलाई जे कारणले प्राधिकार उल्लेख गरेन त्यसैले बुद्धिजीवीको ठूलो हिस्सा काङ्ग्रेसमा छ । किनभने, औपचारिक रूपमा कुनै विचार र माध्यमलाई आफ्नो आस्थाको केन्द्र बनाएमा त्यो विचार वा पक्षलाई बदल्न गाह्रो हुन्छ । मनलाई बानी परेको हुन्छ । समय बदलिन्छ, विकास हुन्छ, प्रविधिले फट्को मार्दछ, नयाँ विचारहरू आउँछन्, अझ विचारहरू खारिन्छन् । तर एउटा मानिस वा केही मानिसको सेरोफेरोमा विचार बनेकोमा त्यसलाई परिस्कृत गर्न चाहँदा पनि पुरानाप्रति आग्रह र माया रहन्छ । अनायस नै पनि मानिस त्यसको पक्षधर बनेको हुन्छ । त्यसैले पुरानो विचारलाई माया होइन, पारख गरौँ भन्ने सोच चाहिन्छ । नयाँ विचारबाट समाजको, दलको र मेरो मनको समेत विचार बदलिएर अझ समाज उपयोगी बन्ने विचारले स्थान पाउनुपर्छ, त्यो मेरो लक्ष्य हो । त्यो लक्ष्यको गन्तव्य वा राजनीतिक लक्ष्य नै विकास, समानता, शान्ति, सद्भाव, सबै विचारलाई समान रूपमा हेर्ने र उपयोगीलाई लागू गर्ने, तर त्यसलाई पनि पारख गर्ने र समय सकिएपछि खुसीले फाल्न तयार हुने बानीको विकासलाई काङ्ग्रेसको सिद्धान्तले प्रतिनिधित्व गर्दछ । त्यसैले काङ्ग्रेसले बीपीलाई मानेर पनि बीपीवादी भन्दैन । बीपी आफँैले नयाँ विचारका लागि कान र आँखा खुला राख्नुपर्छ भनेका थिए । उनैको त्यो महान् सोचको अनुयायी भएको कारण नै काङ्ग्रेसले आफूलाई बीपीवादी उल्लेख नगरेको हुनुपर्छ ।

त्यो निष्पक्ष दार्शनिक आँखा एमालेका कतिपय पारखीहरूमा व्यवहारमा छ, तर सैद्धान्तिक धरातलमा छैन । यही कारण नै देशमा बुद्धिजीवीहरूमध्येको ठूलो हिंस्सा चाहेर वा नचाहेर पनि काङ्ग्रेसको नजिक बन्ने कारण बनेको छ ।

व्यावहारिक रूपमा एमालेलाई कम्युनिस्ट नाम हटाउँदा कम्युनिस्ट भोटबैंक गुम्ने रिस्क पनि हुन्छ । तर, कम्युनिजम विकास, शान्ति र समानताको माध्यम हो लक्ष्य हुनै सक्दैन भन्ने तथ्य बुझ्न र बुझाउन सकेमा त्यो समस्या समाधान हुन सक्दछ । अन्यथा मानिस गरिबीमा पिसिएको छ, तर उपरवालाको भक्तिमा माथि गएपछि सबै ठीक हुन्छ भनेर उनको नाम जपेजस्तै हुन सक्दछ । अर्थात् राम्रो कामभन्दा कथित राम्रो सिद्धान्तको पछि लाग्ने प्रवृत्ति । हामी आफूलाई भ्रममा धेरै ठूलो ज्ञान भएको मान्दछौँ, तर अरू हामीलाई मूर्ख मान्दछन् । हामी एउटा ज्ञान चाहिनेभन्दा बढी भएको र अर्को ज्ञानको जानकारी नै नभएका बन्न पुग्दछौँ । यो समस्यालाई एमालेले अन्त्य गर्न चाहने हो भने कुनै वा बढी मधेसवादी दलहरूसँग मिलेर अर्को परिस्कृत शक्तिको रूपमा विकसित भई आफू समयअनुसार स्थापित भएर काङ्ग्रेसभन्दा सिद्धान्त र व्यवहार दुवैमा कम लोतन्त्रवादी होइन, बरु राम्रो सम्भावना भएको दल हो भन्ने पनि देखाउन सक्दछ ।

अर्को पक्षमा माओवादी पनि छ । यसमा वैचारिक स्थिरता छैन । उनीहरू आफूले गरेका कामलाई राम्रो भन्दै जता जान पनि तयार छन् भन्ने त बन्दुकको विकल्प छैनबाट लोकतन्त्रको विकाल्प छैन भन्नेमा आएकाले पनि प्रस्ट गर्दछ । तर, उनीहरू मधेसवादीसमेतसँग मिलेर अर्को वैकल्पिक लोकतान्त्रिक शक्तिको रूपमा आउन सक्छन् । जस्तो अहिले बाबुरामको दल सङ्घीय समाजवादी फोरमसँग नजिक हुँदै छ । यसमा बाबुरामलाई समेत समेटेर माओवादी अगाडि बढ्ने हो भने यो दल देशका २ वटा ठूला दलमध्येमा स्थापित हुन सक्दछ ।

अहिले राप्रपा पनि धर्म र राजसंस्थाको कारणले धेरैको मनमा छ । असल नेतृत्वका साथ मधेसवादी दलहरूसँगसमेत मिलेर अगाडि बढ्ने हो भने यो दलको पनि वैकल्पिक राजनीतिक शक्ति बन्ने सम्भावना हुन्छ । तर, आफू सत्तामा हुँदा बीपीलाई फाँसी दिनुपर्छ भन्ने कमल थापाहरूले राजा फ्याँक्दा बीपीजस्ता महान् व्यक्तिहरूले राजसंस्थाको औचित्यको व्याख्या गरेका भनेर केवल अवसरलाई दुरुपयोग गर्ने, आफ्नो फाइदाका लागि मात्र व्याख्या गर्ने होइन, रियल पोलिटिक्सको सकारात्मक पक्षलाई समात्न सक्नुपर्छ ।

यदि यसप्रकारले देशमा मूलभूत रूपमा चारवटा मात्र राजनीतिक शक्ति स्थापित हुने वातावरण हुँदै बहुलवाद र लोकतन्त्रको माध्यमबाट समाजहित खोज्ने लक्ष्यले राष्ट्रहित आफैँ देख्नेछ । तर, बहुलवाद र लोकतन्त्रको प्रयोगलाई बहुलवाद र लोकतन्त्रलाई नै खत्तम गर्ने मनसाय लिएका राजनीतिक वा धार्मिकसमेतका शक्तिहरू प्रकट रूपमा तत्काल अरूका लागि र दीर्घकालीन रूपमा आफ्नै लागि घातक हुन्छन् भन्ने मूल मान्यता कमसेकम निष्पक्ष बुद्धिजीवीहरूमा स्थापित हुन आवश्यक छ । मेरो प्राधिकार मात्र राम्रो भन्नेले बहुदलीयतालाई बद्नाम गर्न त प्रयास गर्दछ र सफल पनि हुन सक्दछ, सफलै नभए पनि यसले आफ्नो मनमा विश्वका सबै विचार आफ्ना भएको स्वीकार गर्न सक्दैन र नयाँ विचारलाई अस्वीकार गर्न विभिन्न जलप लगाएर आफूले लिएको विचार नै राम्रो भनेर मूर्ख बनेको हुन्छ ।

त्यसैले काङ्ग्रेसको गल्तीको कारणले लोकतन्त्र र बहुलवादलाई अवमूल्यन नगर । राप्रपाको कमजोरीले राम्रो काम गरेर जनताको मत लिने सोचलाई विचारको नाममा तिरस्कार नगर । एमाले, माओवादी तथा मधेसवादीजस्ता दलहरूलाई पनि अझ लोकतन्त्र र बहुलवादको माध्यमबाट अगाडि बढ्न आग्रह गरौँ । जनतालाई बलियो बनाऔँ ।