सांसदले दिए फेसबुकबाट धम्की

सांसदले दिए फेसबुकबाट धम्की


चन्द्रबहादुर-कुँवर

काङ्ग्रेसको गढ मानिएको लमजुङको सुन्दरबजार र बेसीसहर दुवै नगरपालिकामा नेपाली काङ्ग्रेसले नराम्रो पराजय व्यहोर्नुपरेको छ । साबिक सुन्दरबजार नपामा चन्द्रेश्वर, दुराडाँडा, धुसेनी, सिन्दुरे गाविस गाभिई बनेको सुन्दरबजार नपा काङ्ग्रेसको प्रभाव क्षेत्र मानिन्छ । साविक गाविसहरूमा अघिल्लो स्थानीय चुनावमा ७० प्रतिशत स्थानमा काङ्ग्रेसले अत्यधिक बहुमतका साथ विजय प्राप्त गरेको थियो ।

हालै सम्पन्न स्थानीय निर्वाचनमा जनमत पक्षमा हुँदाहुँदै पनि नेपाली काङ्ग्रेसले नमिठो पराजय भोग्नुपरेको छ । यसको मूल कारण सांसद चन्द्रबहादुर कुँवरको व्यक्तिगत चरित्र र तानाशाही शैली भएको स्थानीयवासीको भनाइ छ । आर्थिक अवस्था अत्यन्त कमजोर रहेका कुँवर सांसद भएदेखि खान्दानी भएको पोज देखाई विलासी जीवनयापन गर्ने, निजी कार चढ्ने, स्थानीय भट्टीहरूमा आवारा केटाहरू जम्मा गरी मदिरा सेवन गर्ने, स्थानीय मतदाताहरू वा सर्वसाधारणसँग नबोल्ने, नातेदार र आफन्तलाई जिल्लास्थित विभिन्न विकासे कार्यालयमा जागिर लगाउने, कार्यकर्ता वा समर्थकले जागिर लगाइदिन अनुरोध गरेमा अतिरिक्त रकम माग गर्ने, महिलाका मामिलामा पनि अत्यन्तै कमजोर रहेका कुँवर पदीय हैसियत दुरुपयोग गर्दै १ किमि दूरीमा नजिकै रहेको आफ्नै घरमा श्रीमतीसँग नबसी मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको गेस्टहाउसमा एक्लै बस्दै आएका छन् । सांसद कुँवरमाथि सरकारी गेस्टहाउसलाई आवारा केटाहरू जम्मा गरी मदिरा सेवन गर्ने अखडाको रूपमा परिणत गरेको, अवाञ्छित व्यक्तिहरूलाई प्रवेश गराउने गरेको, सांसद विकास कोषको रकम स्थानीय ठेकेदार बद्रीमान श्रेष्ठसँग मिलेमतो गरी भ्रष्टाचार गरेको आरोप पनि छ ।

गत स्थानीय चुनावमा सुन्दरबजार नगरपालिकाका नेकाका नगर सभापति रहेका अत्यन्तै लोकप्रिय व्यक्ति द्वारिका मिश्रले अत्यधिक बहुमतका साथ चुनाव जित्ने सम्भावना बलियो हुँदाहुँदै पनि जनमत र स्थानीय काङ्ग्रेसी भद्रभलाद्मीहरूको अनुरोधलाई लत्याउँदै सांसद कुँवरको गाडीको किस्ता तिरिदिने, घर बनाइदिने, मदिरा पिलाइदिने र संसद् विकास कोष र सांसदको पदीय हैसियत दुरुपयोग गराई हात पारेको ठेक्कापट्टाको रकम मिलिभगतमा भ्रष्टाचार गर्ने आरोप लागेका बद्रीमान श्रेष्ठलाई सांसद कुँवरले मेयरको टिकट दिएका थिए । मेयरको टिकट जनाधार नभएको व्यक्तिले पाएपछि काङ्ग्रेसका लोकप्रिय नगरसभापतिलगायत अन्य स्थानीय नेताले मेयर–उपमेयरलगायत सबैजसो वडामा बागी उम्मेदवारी दिएका थिए । बागी उम्मेदवारी दिएपछि पनि स्थानीय रूपमा विवाद मिलाउनतिर नलागी स्वतन्त्र उम्मेदवारलाई धम्क्याउने, पार्टी सभापति शेरबहादुर देउवालाई बद्रीमान श्रेष्ठको खर्चमा सुन्दरबजार ल्याई हैकम देखाउने कार्य गरेकोले सांसद कुँवरको घमण्डी र हैकमी प्रवृत्तिको विरोध गर्दै स्वतन्त्र उम्मेदवार द्वारिका मिश्रको ठेकी चिह्नमा मतदान गरेका थिए । फलस्वरूप वडा नं. ९ को १०० मत गन्दा स्वतन्त्र उम्मेदवारको ठेकी चिह्नमा ९७ मत आउँदा ३ मत बदर भएको र रूख वा सूर्य कुनै पनि चिह्नमा १ मत पनि फेला नपरेको बताइन्छ ।

अन्त्यमा स्वतन्त्र उम्मेदवारले जम्मा सदर मतको २७३० मत प्राप्त गरे भने आधिकारिक उम्मेदवार बद्रीमान श्रेष्ठले ३४८२ मत प्राप्त गरे । यसरी रूख र ठेकीमा गरी जम्मा ६२१२ मत हुँदाहुँदै एमाले उम्मेदवार जनक मिश्र ४९६९ मतका साथ मेयर पदमा निर्वाचित घोषित भए । काङ्ग्रेस र काङ्ग्रेसकै बागी उम्मेदवारभन्दा १२४३ मत कम पाए पनि चन्द्रबहादुर कुँवरको कारण पार्टीले पराजय भोग्नुप¥यो । उपमेयरमा भने काङ्ग्रेसकै ज्ञानु शाह विजयी भइन् । टिकट वितरणमा लोकप्रिय र पार्टीका निष्ठावान व्यक्तिलाई टिकट नदिई व्यक्तिगत लाभका आधारमा टिकट वितरण गर्दा सांसद कुँवरको वडामा वडाध्यक्षलगायत एक सिट पनि काङ्ग्रेसले जित्न सकेन । त्यसैगरी निजको छिमेकी वडा नं. ९ मा पनि लोकप्रिय व्यक्तिलाई टिकट नदिएको कारण एमालेले वडाध्यक्षलगायत सबै पदमा विजय प्राप्त गर्न सम्भव भएको हो । वडा नं. ६ को मत गन्दागन्दै आफ्नै वडामा पराजित भएपछि स्थानीय नेका समर्थकले कुटपिट गर्ने डरले सांसद कुँवर मतगणनास्थलबाटै रातारात फरार भएको बताइन्छ ।

सांसद कुँवरले सुन्दरबजार मात्र नभई सदरमुकामको बेसीसहर नगरपालिकामा पनि अनावश्यक हस्तक्षेप गरी चुनाव हराएका छन् । आगामी संसदीय निर्वाचनमा आफ्ना प्रबल प्रतिद्वन्द्वी मानिएका नेका जिल्ला सभापति भेषबहादुर पौडेललाई अहिल्यै ठेगान लगाउने नियतले जबर्जस्ती रूपमा मेयरमा उठाएकोले सदरमुकाममा पनि काङ्ग्रेसले हात धुनुपरेको अवस्था छ । स्थानीय लोकप्रिय नेता कृष्णबहादुर अधिकारीलाई टिकट दिएको भए प्रचण्ड बहुमतका साथ जित्ने सम्भावना हुँदाहुँदै आफ्ना प्रतिद्वन्द्वीलाई ठेगान लगाउने रणनीतिका साथ सांसद कुँवरले पार्टीलाई हराउने फोहोरी खेल खेलेको स्थानीयवासीहरूको ठम्याइ छ ।

हालै नेका टोखानगर वडा नं. ९ कार्यसमितिका सभापतिले स्थानीय निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएकोबाट पाठ सिकी पदबाट राजीनामा दिनुपर्नेमा मतगणनास्थलबाट फरार भएका सांसद कुँवरले आफ्नो आत्मालोचना गरी माफी माग्नुको सट्टा स्थानीय नेता र कार्यकर्तालाई कारबाही गर्ने व्यहोराको धम्कीयुक्त भाषाको विज्ञप्ति फेसबुकमार्फत सार्वजनिक गरेका छन् । आफ्नै वडामा १ सिट पनि जिताउन नसक्ने कुँवरले टिकट वितरणमा पक्षपात गरी पार्टीलाई हराउने भूमिका विर्वाह गरेर उल्टै अरूलाई कारबाही गर्ने धम्की दिएको देख्दा स्थानीयवासी आश्चर्यचकित भएका छन् । सांसद कुँवरलाई नै कारबाही गरी पार्टीबाट निष्कासन गर्नुपर्ने माग लमजुङमा उठेको छ ।