काङ्ग्रेसको गढमा एमाले, एमाले गढमा काङ्ग्रेस

काङ्ग्रेसको गढमा एमाले, एमाले गढमा काङ्ग्रेस


Local Elect

नवलपरासी । प्रदेश नं. ४ अन्तर्गत नवलपरासीको नवलपुर क्षेत्रमा भएको पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार नवलपुर क्षेत्रका ८ स्थानीय तहमध्ये ६ वटा स्थानीय तह नेपाली काङ्ग्रेस र २ स्थानीय तह नेकपा एमालेले कब्जा गरेका छन् । सबै स्थानीय तहमा काङ्ग्रेस र एमालेकै उम्मेदवारबीच कडा टक्कर भएको छ । नवलपुर क्षेत्रमा सत्तारुढ नेकपा माओवादी केन्द्रले जित हात पार्न सकेन । नेपाली काङ्ग्रेसले मध्यबिन्दु, देवचुली नगरपालिका र विनयी त्रिवेणी, हुप्सेकोट, बुङ्दीकाली र बुलिङटार गाउँपालिकाको प्रमुख हात पारेको छ भने नवलपुरको केन्द्र र भावी नवलपुर जिल्लाको सदरमुकाम ठानिएको कावासोती नगरपालिका र नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाको क्षेत्र गैँडाकोट नगरपालिकामा नेकपा एमालेले जित हात पारेको छ । विगतमा एमालेको गढको रूपमा चिनिएका स्थानीय तहमा नेपाली काङ्ग्रेस र काङ्ग्रेसको गढको रूपमा चिनिएका स्थानीय तहमा नेकपा एमाले यो चुनावमा विजयी भएका छन् । ९२ वडा रहेको नवलपुर क्षेत्रमा अधिकांश काङ्ग्रेसकै कब्जामा पुगेको छ । काङ्ग्रेसले ५६ स्थानमा र ३३ स्थानमा एमालेले वडाध्यक्ष जितेको छ । दुई वडामा माओवादी केन्द्र र एक वडामा राष्ट्रिय जनमोर्चाले वडाध्यक्ष जितेको छ ।

नवलपुर क्षेत्रमा भएको निर्वाचनको क्रममा हुप्सेकोट गाउँपालिकाको प्रमुख पदमा विजयी भएकी लक्ष्मी पाण्डेले नेपालकै पहिलो महिला गाउँपालिका प्रमुखको रूपमा चर्चा पाइन् भने कावासोती नगरपालिकाको मेयरमा जित हात पारेकी चन्द्रा पुनले नेपालकै तीन महिला मेयरमध्यकी एक र जिल्लाकै पहिलो महिला मेयरको रूपमा चर्चा पाउन सफल भइन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मध्यबिन्दु नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका चन्द्रबहादुर राना र उपमेयरमा ओमकुमारी महतो विजयी भएका छन् । एमालेका उम्मेदवार भीमलाल अधिकारीलाई पराजित गर्दै मेयर बनेका रानाले १०,९९७ मत ल्याए भने अधिकारीले १०,०६४ मत पाए । उपप्रमुखमा विजयी काङ्ग्रेसकै ओमकुमारीले १०,८३५ मत र प्रतिद्वन्द्वी एमालेकी जोगमाया महतोले १०,०३३ मत ल्याएकी छिन् । कावासोती नगरपालिकाको मेयरमा एमालेकी चन्द्रा पुन र उपमेयरमा एमालेकै प्रेमशङ्कर मर्दनिया विजयी भएका छन् । मेयर पुनले १३,०४१ र प्रतिद्वन्द्वी काङ्ग्रेसका महेन्द्र पोखरेलले १२,५९४ मत ल्याए । उपमेयरमा विजयी मर्दनियाले १३,८१४ र प्रतिद्वन्द्वी काङ्ग्रेसकी खगिसरा गुरुङले ११,६९३ मत हात पारिन् ।

त्यसैगरी, देवचुली नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका पूर्णकुमार श्रेष्ठ र उपमेयरमा एमालेकी पार्वता तिवारी विजयी भएका छन् । मेयरमा विजयी श्रेष्ठले ८,५७९ र प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद न्यौपानेले ८,५१० मत ल्याएका थिए । उपमेयरमा विजयी तिवारीले ८,७५१ र प्रतिद्वन्द्वी काङ्ग्रेसकी लक्ष्मी बस्ताकोटीले ८,३९२ मत ल्याएकी थिइन् । गैँडाकोट नगरपालिकाको मेयरमा एमालेका छत्रराज पौडेल र उपमेयरमा काङ्ग्रेसकी विष्णुकुमारी कँडेल विजयी भएका छन् । मेयरमा विजयी पौडेलले ११,३०२ र प्रतिद्वन्द्वी काङ्ग्रेसका गजेन्द्र आलेले ११,०७८ मत ल्याएका थिए । उपमेयरमा विजयी कँडेलले ११,५५५ र प्रतिद्वन्द्वी एमालेकी राधा पौडेलले १०,४५६ मत ल्याइन् ।

यसैगरी गाउँपालिकातर्फ हुप्सेकोट गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसकी लक्ष्मी पाण्डे तथा उपप्रमुखमा एमालेकी कोपिला मल्लले जित पारेका छन् । लक्ष्मी पाण्डेले ४,५९२ र उनका प्रतिद्वन्द्वी एमालेका मेकबहादुर पुलामीले ४,३५८ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी कोपिला मल्ल ४,४६८ मत ल्याएर विजय भइन् । उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका ओमबहादुर थापाले ४,४१३ मत ल्याएका छन् । बुलिङटारको प्रमुखमा काङ्ग्रेसका शशिकिरण बस्ताकोटी र उपप्रमुखमा काङ्ग्रेसकै मैना विक विजयी भएका छन् । बस्ताकोटी ४,७०८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी एमालेका विद्रोही गिरीले २,५५० मतमा चित्त बुझाएका छन् । उपप्रमुखमा विजयी नेपाली काङ्ग्रेसकी मैना विकले ४,६५३ मत र प्रतिद्वन्द्वी एमालेबाट उपप्रमुखमा पार्वती थापाले २,६१४ मत ल्याएकी छन् ।

बुङ्दीकाली गाउँपालिकाको प्रमुखमा काङ्ग्रेसका दुर्गाबहादुर राना र उपप्रमुखमा काङ्ग्रेसकै मायादेवी श्रेष्ठ विजयी भएका छन् । प्रमुखमा विजयी रानाले ३,१९१ र प्रतिस्पर्धी एमालेका श्यामसुन्दर श्रेष्ठले ३,०३९ मत ल्याएका थिए । उपप्रमुखमा विजयी मायादेवीले ३,१७३ र प्रतिस्पर्धी एमालेकी डिलकुमारी केसीले ३०१० मत ल्याएका थिए । विनयी–त्रिवेणी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा काङ्ग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । गाउँपालिकाको प्रमुखमा काङ्ग्रेसका डम्बर जिसी ६ हजार ९ सय ९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लक्ष्मण पाण्डेले ५ हजार ३ सय ३० मत प्राप्त गरे । उपप्रमुखमा पनि काङ्ग्रेसकै मीना राना विजयी भइन् । उनले ६ हजार ८ सय ९६ मत पाइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी तारा विकले ५ हजार ४ सय २ मत ल्याइन् ।

– आरपी उपाध्याय