इतिहासको बाटोमा

इतिहासको बाटोमा


Nisnu Thing

– निस्नु थिङ

इतिहासका बाटाहरू कति धेरै बाङ्गाटिङ्गा
सरल होइन बक्र रेखामा हिँडेका
ऊ त्यो दरमखोलाको किनारैकिनार
अझै जिउँदो छ गलकोट दरबार
अझै जिउँदो छ मल्ल वंशको घरबार

कालीगण्डकीको छेउमा पानीमुनिको लेउमा
एउटा जीव सयर गरिरहेछ
आफ्नो पुर्खाको खोजीमा
पुरानो इतिहासको खोजीमा
मुस्ताङतिर गइरहेछ त्यो जीव
थाहा छैन उसले इतिहास फेला पार्छ कि पार्दैन ?

बाग्लुङका घुम्तीहरूमा, जीवनका घुम्तीहरूमा
ओकाली र ओरालीमा, सम्झनाका तरेलीमा
पुर्खाका कहानीहरू
नाचिरहेछन् नयनका परेलीमा

गल्कोट, पञ्चकोट, कालिका भगवती
कति सुन्दर र शान्ति
सम्झेर ती दिनहरू, सम्झेर ती क्षणहरू
छाएर आउँछ कान्ति

गण्डकी तीरैमा बेनीबजार
म्याग्दीको भीरैमा गलेश्वर
पर्वतको कुश्मा, त्यो झोलुङ्गे पुल
मनमोहक दृश्यहरू
पञ्चकोटको शिरबाट देखिने
धौलागिरि हिम शृङ्खलाहरू

धौलागिरीको काखमा बाग्लुङको गाउँ छ
शालिग्राम पत्थरमा पुर्खाको नाउँ छ
बाइसे चौबिसे ती राज्यहरू
हिउँजस्तै रहेछन्
कहिले पग्लने कहिले जम्ने
कहिले फैलने कहिले खुम्चने
चलिरहने एवम् रितले
ढोरपाटनको फाँटले
यी नयनहरूलाई कैदी बनायो
निसी, भुजीको तीरैमा, निसी, भुजीको शिरैमा
कुुनै नृवशंको थलोमा
इतिहास खोज्ने यी पाउहरू
इतिहास लेख्ने यी हातहरू
यसैउसै सल्बलाइरहेछन्
यसैउसै चल्मलाइरहेछन्

धौलागिरिको मुस्कानले मोहित ग¥यो ज्यानलाई
धौलागिरिको मुस्कानले भंग ग¥यो ध्यानलाई
मोदी खोला, मादी खोला यो काली र गण्डकी
निर्दोष यी नदीहरू अविरल–अविरल बगिरहेछ
हजारौँ माइल बगेपछि, हजारौँ गल्ली–गल्छेडा तरेपछि
बल्ल पुग्नेछ एक दिन सागरमा
बल्ल हुनेछ मिलन सागरमा
तब त उ लाखौँ वर्षदेखि
निरन्तर चुमिरहेछ सागरलाई
निरन्तर चुमिरहेछ सागरलाई
वर्षौंको प्यास मेट्न, वर्षौंको प्यास मेट्न

हिमालको फेदबाट हिँडेको त्यो नदी
बाटोमा थाकेर बाटोमा गलेर
शायद मान्छे भए बीचैमा थ्याच्च बस्थे होला
बीचैमा कति रुन्थे होला
बीचैमा यात्रा छाडेर, बीचैमा यात्रा हापेर
जान्थे होला कतै दूर
कहिले नर्फकिने कसम खाएर
तर ऊ नदी हो, बगिरहन्छ निरन्तर
तर ऊ नदी हो, हिँडिरहन्छ निरन्तर
यस्तै नदीजस्तै
नेपाली इतिहासकारहरू
सदा बगिरहुन्, सदा हिँडिरहुन्
………………
नेपाली इतिहासकारहरू
………………