कोलोराडोमा ‘ग्लोबल नेपाली अवार्ड’को तयारी

कोलोराडोमा ‘ग्लोबल नेपाली अवार्ड’को तयारी


17 Fun pic

अमेरिकाको कोलोराडोमा गत वर्षदेखि सुरु गरिएको ग्लोबल नेपाली अवार्डको दोस्रो संस्करण यस वर्ष आगामी अगस्ट १९ मा आयोजना हुने भएको छ । यस वर्षको अवार्ड समारोह नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड नामक संस्थाले गर्दै छन् । पुरस्कारको दायरा फराकिलो पार्दै लैजाने उद्देश्यले यसपटक आठवटा विधामा पुरस्कार थपिएको र भुटानिज समुदायबाट समेत एक कलाकार छानेर पुरस्कृत गरिने आयोजक संस्थाले बताएको छ । मुख्य टाइटल प्रायोजक शेर्पा ब्रेवरी (लाक्पा शेर्पा) र सहप्रायोजक सिटौला ब्रदर्स कोलोराडो (प्रकाश सिटौला) रहे पनि थुप्रै अन्य प्रायोजकसमेत रहेका तथा यती टेक्नोलोजी (टेक्सस), पलम्बिक सेवा र सगुन समूहले समेत सहयोग पु¥याएकाले अवार्ड समारोह भव्य हुने दाबी गरिएको छ ।

यसरी अमेरिकामा आयोजना गरिन लागेको ‘दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड’को मूल तीन उद्देश्य बताइएको छ । सपनाको संसार मानिने अमेरिकामा नेपाली चलचित्र प्रवद्र्धन गरी बजार बनाउन सके नेपाली फिल्मको बजार बढ्ने विश्वास एकातिर लिइएको छ भने नेपाललाई सिनेमा छायाङ्कनको गन्तव्य तुल्याउनु पनि यस अवार्ड आयोजनको लक्ष्य बताइएको छ । अमेरिकाको डेनभर सिटी हलिउडका धेरै कलाकार बस्ने स्थान भएकाले उनीहरूलाई नेपालको सौन्दर्यसँग परिचित गराउन समारोह एक सही माध्यम बन्ने अपेक्षासमेत आयोजकले लिएका छन् । यस्तै, अमेरिकामा यतिबेला धेरै नेपाली चलचित्रकर्मी, कलाकार, गायक–गायिका रहेका र यस कार्यक्रममार्फत त्यहाँका प्रतिभावान सर्जकहरूलाई नेपाली चलचित्रको वर्तमान अवस्थाबारे जानकारी दिलाएर पुनः सक्रिय गराउने कार्यक्रमको उद्देश्य छ । यसका लागि ड्यासपोरासम्बन्धी केही अवार्डको व्यवस्था गरिएको छ । यस अवार्ड कार्यक्रमको आयोजकमा ग्लोबल नेपाल फिल्म अवार्डका संयोजक सैलेश श्रेष्ठ, अध्यक्ष नवराज श्रेष्ठका अलावा राजु सिटौला, पदम विश्वकर्मा, वासु खनाल, जोसन श्रेष्ठ रहेका छन् भने नेपालको आयोजक कमिटीमा कृष्ण मल्ल, मृदुकुमार श्रेष्ठ, एसके श्रेष्ठ, सुवास थापा, भाष्कर श्रेष्ठ, चेतबहादुर राजा, सुनील कटुवाल, राजेश बिसुराल र नारायण प्रधानलगायत रहेका छन् ।