आफ्नै वडामा नेताहरू पराजित

आफ्नै वडामा नेताहरू पराजित


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो दलका उम्मेदवारहरूलाई विजयी गराउन विभिन्न जिल्लामा पुगे पनि उहाँहरू आफैँ बस्ने वडामा भने आफ्नो दललाई जिताउन असमर्थ रहनुभयो । मतदातालाई आकर्षित गर्नका लागि विभिन्न जिल्लामा केपी ओलीले गतिलै भाषण भर्नुभए पनि आफू बस्ने सूर्यविनायक नगरपालिका वडा नं. २ मा भने काङ्ग्रेसले १७ मतको अन्तरले जितेको छ । केपी ओलीको वडामा नेपाली काङ्ग्रेसका कमलनाथ आचार्यले वडाध्यक्षमा विजय प्राप्त गरेका छन् । आचार्य मात्र होइन, नेपाली काङ्ग्रेसको टिम नै उक्त वडामा विजयी बनेको छ ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको बसोवास रहेको बुढानीलकण्ठ नगरपालिका वडा नं. १ मा एमालेका सुरेन्द्रवीर लामा वडाध्यक्ष बनेका छन् । देउवाको वडामा सुरेन्द्रवीरसहित एमालेको टिमले नै विजय प्राप्त गरेको छ । यस्तै प्रधानमन्त्री प्रचण्डले मतदान गरेको भरतपुर वडा नं. ४ मा माओवादी तेस्रो स्थानमा पुगेको छ । काङ्ग्रेस अत्यन्त बलियो मानिने उक्त वडामा १५ मतले काङ्ग्रेस उम्मेदवारलाई एमालेले पराजित गरेको हो । वैष्णवहरूको ज्यादा बसोवास भएको सो वडामा प्रचण्डको आफ्नो घडेरी पनि रहेको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीको समेत बसोवास रहेको सो वडाको मतदानमा धाँधली भएको भन्दै काङ्ग्रेसका उम्मेदवारले उजुरी हालेका छन् ।

यसैगरी नेपाली काङ्ग्रेसका सांसद रामेश्वर ढुङ्गेलको वडा सूर्यविनायक नगरपालिका वडा नं. ५ मा एमालेका राजकुमार जोशी वडाध्यक्ष बनेका छन् । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहको पकड मानिएको मध्यपुरठिमीको नेतृत्व यसपटक एमालेको पोल्टोमा गएको छ । विगतमा एमालेको उपस्थिति न्यून रहेको मध्यपुरमा एमालेका मदनसुन्दर श्रेष्ठ मेयर बनेका छन् । उपमेयरसहित बाँकी अन्य पदमा भने नेपाली काङ्ग्रेस विजयी भएको छ । प्रकाशमानले आफ्नो पकेटका मान्छेलाई उम्मेदवार बनाउन नचाहेका भए मेयरमा पनि काङ्ग्रेस विजयी बन्ने निश्चित थियो ।
नेताहरू पराजित