जनप्रतिनिधिसँग नयाँ पुस्ताको अपेक्षा

जनप्रतिनिधिसँग नयाँ पुस्ताको अपेक्षा


– रेजिना गौतम, झापा

झापा मेचीनगरका आशुतोष आचार्य र वर्षा भुजेल आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पहिलोपटक भोट हाल्दै छन् । पहिलोपटक मतदान गर्ने अवसर नजिकिँदै जाँदा मताधिकार प्रयोग गर्न पाउनेमा उनीहरू निकै उत्साहित छन् भने आफूलाई जिम्मेवार नागरिक पनि ठानेका छन् । निर्वाचनमा भोट खसालेर आफैँ आफ्नो जनप्रतिनिधि छानिरहँदा के चाहन्छन् त जनप्रतिनिधिबाट उनीहरू ? मेचीनगर–९ का आशुतोष भन्छन््, ‘भोट हाल्न पाउँदा एकदमै खुसी लागेको छ, साथै जिम्मेवारी पनि बढेको फिलिङ भएको छ ।’

पहिलोपटक मतदाता भएर भोट दिइरहँदा निर्वाचित हुने जनप्रतिनिधिसँग उनको अपेक्षा पनि छ । होटेल म्यानेजमेन्टअन्तर्गत कक्षा १२ मा पढ्दै गरेका आशुतोषले भने, ‘आफ्नै ठाउँमा युवालक्षित कार्यक्रम ल्याउन, रोजगारीका लागि अन्य मुलुकमा दौडनु नपरोस्, गाउँको विकास होस् ।’

मेचीनगर–३ कै वर्षा भुजेललाई पहिलोपटक निर्वाचनमा मतदाताका रूपमा सहभागी हुने तयारीमा बसेकी वर्षालाई भोट कसरी हाल्ने भन्ने स्पष्ट जानकारी पनि छैन । तथापि अभिभावकको सहयोगमा भोट नबिग्रनेमा उनी विश्वस्त छिन् । मतदाता शिक्षा लिन पाइनँ, गाउँमा अस्ति नै आएर गएछन्, कलेजले गर्दा भोट हाल्ने तरिकाबारे बुझ्नै पाइनँ, तर आन्टीहरूले पछि सिकाउनुहुन्छ ।’ पहिलोपटक भोट हाल्न पाउँदा खुसी भएकी वर्षाको पनि जनप्रतिनिधिप्रति राम्रो काम गरून् भन्ने अपेक्षा छ । उनी भन्छिन्, ‘बन्द, हड्ताल अन्त्य होस्, घुस नखाउन्, शारीरिक अपाङ्गता भएकाहरूको पनि वृद्धवृद्धाहरूको जत्तिकै भत्ता वृद्धि गरिनुपर्छ ।’ जनताले विकास चाहेको बताउँदै वर्षाले भनिन्, ‘नेताहरूले जनताको चाहनाअनुसार काम गर्नुपर्छ, गाउँदेखि सहरसम्मकै बाटाहरूको स्तरोन्नति गरी दुर्घटना हुनबाट जोगाउनुपर्छ । परीक्षाका बेला विद्यार्थीले लोडसेडिङको समस्या भोग्नुपर्दा समस्या भएको बताउँदै उनले थपिन्, ‘परीक्षामा बिजुली जाँदा धेरै समस्या पर्छ, लोडसेडिङ अन्त्य गरिनुपर्छ ।’
Local Elect
बिर्तामोडस्थित देवी उमाविको कक्षा–११ मा अध्ययनरत बुधबारेकी कुसुम श्रेष्ठले नागरिकता प्रमाणपत्र लिएकी छैनन् । नागरिकता नभएपनि नै आफू एक सचेत नागरिक हुनुको नाताले निर्वाचित जनप्रतिनिधिसँगको अपेक्षा भने आफूभित्र रहेको उनको कथन छ । ‘गाउँ–घरको विकास, गरिब तथा अनाथहरूका क्षेत्रमा काम होस्,’ कुसुमले भनिन्, ‘गाउँघरको विकास गर्नुपर्छ, गरिब र अनाथलाई सहयोग गरून्, अर्कालाई असर पु¥याउने गरी बन्द–हडताल नगरून्, गाउँमा जितेर नेता सहर पसेरसरमै नहराऊन् ।’

समाजको आवश्यकता बुझेर निर्वाचित प्रतिनिधिले काम गर्नुपर्ने बुद्धशान्ति–२ जयपुरनिवासी प्रतिमा श्रेष्ठको भनाइ छ । पहिलोपटक मतदानमा सहभागी हुन पाउनेमा खुसी भएकी कक्षा–१२ मा अध्ययनरत प्रतिमा भन्छिन्, ‘गाउँमा विकास हुन सकेको छैन, भएका कामहरू पनि व्यवस्थित छैनन्, विकास नभएका ठाउँमा विकास र भएका विकासको सही व्यवस्थापन तथा नियमित सेवा प्रवाह हुनुपर्छ ।’ प्रतिमाका अनुसार जयपुरमा बत्ती भए पनि व्यवस्थित छैन, खानेपानीको व्यवस्था भए पनि नियमित पानी आउँदैन, बाटो व्यवस्थित हुन सकेको छैन । त्यसो त स्थानीय कला–संस्कृति संरक्षण र संवद्र्धनमा पनि ध्यान दिन उनको आग्रह छ ।

१५ वटा स्थानीय तह रहेको झापामा ७ सय २३ जना जनप्रतिनिधि निर्वाचित हुने निश्चित भइसकेको छ । २ सय ८३ वटा स्थायी मतदान स्थल र ६ सय ३७ वटा केन्द्र रहेको झापामा निर्वाचन सम्पन्न गर्न ५ हजार ८ सय कर्मचारी खटिने जिल्लास्थित निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यले जानकारी दिए ।
उमेरले २० वर्ष नकटेका पहिलोपटक भोट खसाल्ने अवसर पाएका यिनीहरू प्रतिनिधि पात्र मात्र हुन् । निर्वाचनमा पहिलोपटक भाग लिँदै गरेका यी ‘नयाँ पुस्ता’ले जनप्रतिनिधिप्रति राखेको अपेक्षा आमजनताको अपेक्षा पनि हो ।

राजनीतिक भाषणमा रसिला आश्वासन दिने राजनीतिक दलहरू निर्वाचनमा विकास, रोजगारी, सामाजिक कार्यसम्बन्धी निकै आकर्षक घोषणापत्र जारी गर्छन् । निर्वाचन समाप्त भएपछि निर्वाचितहरू गाउँबाट सहर पस्ने र सहरबाट पुनः निर्वाचनमा मात्रै जनताका घर–आँगनमा पुग्ने दृश्य देखेको नयाँ पुस्ताका अपेक्षा जनप्रतिनिधिले पूरा गर्न दत्तचित्त भएर लाग्न सक्नुपर्छ ।