सामाजिक सदभाव खल्बल्याउने दुस्प्रयास नेपाली सेनाले नसहने

सामाजिक सदभाव खल्बल्याउने दुस्प्रयास नेपाली सेनाले नसहने


Sena

पोखराको फुलबारी ब्यारेकमा नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलन समापनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिखण्डनकारीह तत्वको तमासा हेरेर नेपाली सेना बस्न नसक्ने चेतावनी दिएका छन् । राजनीतिक बहानामा बिखण्डनकारीहरुले सामाजिक सदभाव खल्बल्याउने दुस्प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानसेनापति क्षत्रीले मुलकभित्र बसोबास गर्ने अनि बिखण्डनकारी भूमिका खेल्दै सामाजिक सदभाव खल्बल्याउने दुसप्रयास गर्नेलाई नेपालको संविधानको अधिनमा रही परास्त गर्न नेपाली सेना तयार रहेको बताए । पहिलो चरणको स्थानीय चुनाव सम्पन्न गन नेपाली सेनाको ठूलो भूमिका खेलेको र दोश्रो चरणमा सेनाले आफ्नो तर्फबाट निभाउनुपर्ने भूमिका निभाउने जनाउँदै उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनताको रक्षा गर्नका लागि सेना हरदम प्रतिबद्ध रहेको बताए ।

यसैबीच तनहुँको खैरेनीटारस्थित नं. ३ बाहिनी अड्डामा सञ्चालन भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा एक विशेष समारोहकाबीच जेठ १८ गते सम्मेलन सम्पन्न गरिएको हो ।

नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतको तीन जिल्ला (तनहुँ, गोरखा र लमजुङ) का चारहजार नौ सय ४६ जना भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो । त्यसैगरि, उक्त सम्मेलनको क्रममा मिति २०७४ जेठ १५ बाट १७ गतेसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, वहालवाला सैनिक तथा तीनका परिवार र गैरसैनिक व्यक्तिहरु समेत गरी करिव एक हजार ३२ जनालाई स्वास्थ्य उपचार तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेत्कृष्ट व्यवसायीहरुलाई पं्रशसा पत्र एवम् पुरस्कार वितरण भएको थियो भने अशक्त भूतपूर्व सैनिक र वहाँहरुका अशक्त परिवारलाई व्हिल चियर वितरण तथा गोरखा, तनहुँ र लमजुङ जिल्लाको ज्येष्ठ भूतपूर्व सैनिक एवं निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्ये ज्येष्ठ महिलालाई अभिनन्दनसमेत गरिएको थियो ।

सम्मेलनकै क्रममा पश्चिम पृतना हेडक्वाटरअन्तर्गतका गोरखा, तनहुँ र लमजुङ जिल्लामा तैनाथ युनिटहरुले स्थान बिशेषको झाँकी, खुकुरी ड्रिल तथा पि.टी. प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो । साथै भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका महिलाहरुले प्ले कार्डसहितको मार्च पाष्ट तथा लङमार्च प्रदर्शन गरेका थिए भने प्रधानसेनापति क्षत्रीले सम्मेलनलाई सम्बोधन गर्दै भूतपूर्व सैनिकहरुको त्याग र योगदानको प्रंशसा गरेका थिए ।