कसलाई चुन्ने ?

कसलाई चुन्ने ?


– गोविन्द नेपाल

यसपटक
आफ्नो–अर्को नहेरौँ
कालो–गोरो नहेरौँ
अग्लो–होचो नहेरौँ
दुब्लो–मोटो नहेरौँ
चुच्चा–थेप्चा नाक नहेरौँ
चिम्सा–बाटुला आँखा नहेरौँ
मंगोल–आर्य अनुहार नहेरौँ
घोषणा नहेरौँ
¥याली नहेरौँ
नारा नहेरौँ
रूखको छहारी नहेरौँ
घामको पहारी नहेरौँ
गाईको कल्चौँडो नहेरौँ
हँसिया–हथौडाको चोट नहेरौँ
मशाल वा झमझम इस्टकोट नहेरौँ
पाइन्ट वा पतलुन
माथि सार्न भनौँ र घुँडा हेरौँ
नियालेर हेरौँ घुँडा
र यकिन गरौँ–
कसको घुँडामा
खुइलिएको छैन छाला
कसले टेकेको छ
प्रभुको अगाडि स्वाभिमानी
पाइताला
र उभिएको छ ठिङ्ग
कथित प्रभुसँग आँखा जुधाउँदै ?
यसपटक
घुँडाको छाला नखुइलिएको
स्वाभिमानी उम्मेदवारलाई
मतदान गर्दै छु म
तपाईँहरू नि ?!