सुब्बा भएस् !

सुब्बा भएस् !


– सागर

गोठालोमा लोक–राग आलाप्दै हिँड्थ्यो
ऐंसेलु, काफल र चुत्रोको स्वादले
तिखारिएको जनजिब्रोबाट सुरिलो
निखारिएको घरेलु स्वर न त हार्मोनियम
चाहियो न त गितार तानपुरा नै
फापरको रोटी कोदो कोइरालो खाएर
हुर्किएको चट्टाने अडान लिने बानी
बहकिएर सहर पस्ने त्यतै बस्ने
निधो निर्णय गरेर बिसाएको दिनचर्या
टुक्रिएको अमिवाको सेलले पुनः आकार पाएझैँ
फेरि शून्यबाट आसमान छुने तलतल
सम्झियो हजुर’बाले दशैँको टीकामा
सुब्बा हुन र सुखी हुन दिएको आशीर्वाद
साँधेको गुन्दु्रकमा भातको माड हालेर
बनाएको तीखो तितौरे तिहुनसँग खाएर
लोकसेवा र भविष्यमा सुब्बा हुने तयारी
एवम् रीतले हाकिम भइटोपलेकोलाई
सहरकी सुनयनाले आँखा लगाइन्
दुःखले साँधिएकोलाई सभ्यताको राग थपिदिँदा
मुट्ठीको माखो बनाउन आसन
बहकिएको बानीलाई बन्दी बनाई साध्ने
अनि त सुवर्ण जरीजडित सारी–चुरी
चाँदीको चमकधमकसहितको घरद्वार
हीराको हार भोजनगृहको आहार
मोटरको सवार जलक्रीडा र बिहार
यसकै लागि थालिए ठूला फाइलको सदर
‘सवारी होस्’ र ‘राज होस्’को भाषा भलाकुसारी
यस्तो रसाहारमा पल्किएको साइँलो
स्वर्ण महलमा थुनिँदा आफूलाई सफल ठान्थ्यो
तर, समयको चक्रले हातमा हतकडी
पुलिसको अन्धकार निरश कस्टडी
लामखुट्टेको टोकाइ, उडुसको डसाइ
सातपुस्ते बदनाम एक्लो यातना भोगाइ
जेलमा भात बोकेर ल्याउने नोकर भाग्दा
श्रीमती के मुखले भात बोकेर आउँथी
ऊ त परि खानदानकी छोरी–चेली
फुक्को चिउराको फाँको मार्दै
नुनिलो आँसुसँग पानी खोज्दै
साइँलो यतिबेला बिर्सिएको फापरे रोटी
कोदो–कोइरालो र आफन्तलाई सम्झँदै
हजुरबाको दसैँको आशिक कल्पिरहेछ ।