शिलान्यासको बहानामा चाकडी : विष्टको कदम पनि अपाच्य

शिलान्यासको बहानामा चाकडी : विष्टको कदम पनि अपाच्य


गत महिना बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले खेलकुद विश्वविद्यालय र खेलकुद अस्पतालको भविष्यमा निर्माण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय गर्ने तत्कालीन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली सरकार परिर्वतनसँगै मन्त्री पदबाट हटेपछि खेलकुदमा नयाँ नाटकको मञ्चन भएको छ । …लाई भन्दा देख्नेलाई लाज भनेझैँ राखेपका सदस्यसचिव केशवकुमार विष्टले खेलकुद अस्पतालको शिलान्यास निवर्तमान मन्त्री श्रीपालीको हातबाट गराएर जग हँसाउने कार्य गरेका छन् । विष्टले श्रीपालीबाट अस्पतालको शिलान्यास गराउने औपचारिक कार्यक्रम राखेपछि एमालेलगायत अन्य राखेपका सदस्यहरूले उक्त कार्यक्रम बहिष्कार गरेको जानकारीमा आएको छ । श्रीपालीबाट अस्पतालको शिलान्यास गराएपछि अहिले खेलकुदमा विष्टको चर्चा–परिचर्चा चलेको छ । खेलकुदका कर्मचारीले विष्टको यो कदमलाई हाजमोला खाएर पनि पचाउन नसकेपछि ‘सदस्यसचिव विष्ट कहिलेदेखि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् भनी टिप्पणी गरेको सुनिनमा आएको छ ।

यतिबेला मुलुकमा सरकार परिवर्तन भइसकेको छ । मुलुकको प्रधानमन्त्री शेरबहादुर देउवा बनिसकेका छन् । नयाँ मन्त्रिमण्डल गठन भई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी बाँडफाँड नभइरहेको अवस्थामा प्रधानमन्त्री देउवा नै राष्ट्रिय खेलकुद परिषद्को संरक्षक एवम् युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेको अवस्था छ । यस्तो अवस्थामा खेलकुद र खेलाडीको विकासका लागि महत्वपूर्ण मानिएको योजनाको शिलान्यास श्रीपालीबाट किन गराइयो त्यो निकै रहस्यमयी बनेको छ । राखेपका अन्य पदाधिकारी अर्थात् बोर्डका सदस्यलाई जानकारी नगराई सदस्यसचिव विष्टले श्रीपालीबाट शिलान्यास गराएको आरोप लागेको छ । यो कुराप्रति एमालेको तर्फबाट राखेपमा प्रतिनिधित्व गर्ने सदस्यले पनि आक्रोश व्यक्त गरेका छन् । विष्टले श्रीपालीबाट हतारहतारमा अस्पतालको शिलान्यास किन गराए– त्यो अहिले छानबिनको घेरामा परेको छ । स्मरणीय छ, यो घटनापछि एमालेकै बोर्ड सदस्यले विष्ट राजनीतिक दल परिवर्तन गर्न पुगेको आफूलाई आभास भएको घटना र विचारलाई प्रतिक्रिया दिएका छन ।

खेलकुद विकास ऐन २०४८ ले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवलाई प्रमुख कार्यकारीको रूपमा व्यवस्था गरेको छ । परिषद्को बोर्ड वैठकले निर्णय गरेका कुरालाई कार्यान्वयन गर्ने काम सदस्यसचिवको रहेको कानुनी रूपमा प्रस्ट रूपमा व्यवस्था गरिएको छ । तर, यसलाई नजरअन्दाज गर्दै आफूले गर्नुपर्ने दैनिक कार्य सञ्चालन नगरी कसरी विष्टले श्रीपालीबाट खेलकुद अस्पतालको शिलान्यास गराए त्यो आफँैमा खोजीको विषय बनेको छ । यतिबेला श्रीपालीको कुनै कानुनी हैसियत छैन, उनी पूर्वखेलकुदमन्त्री भइसकेका छन् । यस्तो हैसियत नै नभएको बेला श्रीपालीलाई प्रमुख अतिथि बनाएर शिलान्यास गर्न लगाउनुको पछाडि विष्टले आफ्नो पदीय दायित्वसमेत बिर्सेको र प्रश्नचिह्न लगाएको प्रस्ट रूपमा देखिन्छ । अन्यथा आफँैले गर्दा हुने कार्यका लागि विष्टले किन श्रीपालीको चाकरी गरे त्यो बुझ्न सकिएको छैन । आफ्नो कार्यकाललाई स्वर्णकालको रूपमा भाषणमा मात्रै परिभाषित गर्दै आएका विष्ट व्यवहारमा भने खरो उत्रिन सकेका छैनन् । उनको व्यवहार देख्दा त्यो पत्याउने अवस्था पनि छैन । जसलाई श्रीपालीले खेलकुद अस्पतालको शिलन्यास गर्नुले पनि प्रस्ट पार्छ ।

०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले खेलकुदको संरचनामा पु¥याएको क्षतिलाई हटाउनुको साटो हावादारी खेलकुद अस्पताल निर्माण गर्नेजस्ता असान्दर्भिक निर्णयले नेपाली खेलकुदको विकासमा पूर्णविराम लाग्ने अवस्था देखिएको छ । स्मरणीय छ, एउटा मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला जुन जीर्ण अवस्थामा रहेको छ । जसको पुनर्निर्माणबारे सिन्कोसमेत राखेपले भाँचेको छैन । आगामी दिनमा केही गर्ने सोच पनि बनाएको छैन । यस्तो अवस्थामा खेलकुदलाई तत्काल आवश्यक परेको खेल पूर्वाधारको निर्माण नगरी सस्तो लोकप्रियता प्राप्त गर्न गोयबल्सको शैलीमा प्रचार गर्नु आत्मरतिमा रमाउनु हो भन्दा फरक नपर्ला । विष्टको यस्तै पारा रह्यो भने भोलि उनले यस्तै महत्वपूर्णको शिलान्यास अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठबाट गराए भने अन्यथा मानिनेछैन । युद्ध र प्रेममा सवै जायज हुन्छ भनेजस्तै अब नेपाली खेलकुदमा जसले जे गरे पनि जायज हुने भइसकेको छ । बेथितिको जगमा बसेको खेलकुदमा सर्वोच्चको आदेश त पालना हँुदैन, भविष्यमा कानुनलाई चुनौती दिने अन्य घटना घटे त्यसलाई सामान्य मानिनेछ । त्यसका लागि खेलकुदका पदाधिकारीले मनोवैज्ञानिक रूपमा तयार हुनुपर्ने पनि जरुरी भइसकेको छ । यसर्थमा कि अब नयाँ खेलकुदमन्त्री केही समयपश्चात् बन्दै छन् । उनले पनि विगतकै खेलकुद मन्त्रीहरूको जस्तै पारम्परिक र अवैधानिक कदम चाल्ने कुरालाई नकार्न सकिँदैन ।