बाघको स्वभाव र कम्युनिस्ट चरित्र -शोभाकर पराजुली

बाघको स्वभाव र कम्युनिस्ट चरित्र -शोभाकर पराजुली


पौराणिक कथामा उल्लेख भएअनुसार एउटा ठूलो सिकार गर्न बाघलाई हम्मे पर्ने भयो । त्यो जनावर सधैं आफ्नो नजिकबाट जाने गथ्र्यो तर एक्लै आँट गर्न बाघले सकेको थिएन । उसले यसका लागि अरूको पनि सहायता लिने विचार गर्‍यो । किनभने त्यो त मार्नैपर्ने र त्यसलाई मारेपछि उसका लागि लामो समयसम्मका लागि आहारा हुनेमा ऊ ढुक्क थियो । यसलाई मार्नका लागि उसले अरूको सहयोग लिँदा पनि त्यस्तै क्षमतावान्हरूको लिनुपर्ने भन्ने सोच्यो ।
उसले स्याल, फ्याउरो र जङ्गली कुकुरको सहायता लिने विचार गर्दै उनीहरूलाई बोलायो । उसले उनीहरूलाई जनावरको आनीबानी, त्यहाँ आउने समय, कसै गरे पनि भाग्न नदिने तरिका आदिका बारेमा छलफल गर्‍यो । पछि सबैले मिलेर त्यसलाई मार्ने तय भयो । त्यो जनावर आयो र सबै मिलेर त्यसलाई मारे । अब मासुको भाग लगाउने समय आयो । त्यो मासुलाई चार भाग पनि लगाइयो ।
अब अरूले बाघलाई छान्न दिने निर्णय गरे र उसलाई भाग छान्न भने । मासु देखेर र्‍याल चुहाइरहेको बाघले भन्यो- पहिलो भाग मेरो हो, किनभने मैले पनि सिकार गरेको हुँ । यसमा विवाद भएन, अरूलाई पनि खुसी नै लाग्यो । उसले त्यसपछि भन्न लाग्यो- दोस्रो भाग पनि मेरै हो किनभने म यो जङ्गलको राजा नै हुँ । तेस्रो भाग पनि मेरो नै हुन्छ किनभने सबैभन्दा बढी मिहिनेत मैले गरेको छु । त्यसपछि अरूको चित्त दुख्यो तर बाघका अगाडि आफ्नो हैसियत नभएको र झगडा गर्नु भनेको मारिनु हो भन्ने ठानेर उनीहरूले त्यसलाई पनि स्वीकार गरे । जब उसले अन्तिम निर्णय गर्‍यो- त्यसपछि मात्र उनीहरूको वास्तविक होस खुल्यो वा गुम भयो । बाघले भन्यो कि यो चौथो भाग मासु मसँग लडाइँ गरेर जसले फुत्काउन सक्छ त्यसैले पाउँछ । अब अरूको आशा त हरायो नै । सबै लुखुरलुखुर बाटो लागे । सल्लाह गरेर अगाडि बढ्ने र आफ्नो हात बलियो भएपछि सल्लाह, सुझाव र सहमतिहरूको पालना नगर्ने प्रवृत्ति राजनीतिमा पनि देखिन थालेको छ । विशेषतः अरू गल्तीहरू भए सच्याउन सजिलो छ तर लोकतन्त्रकै विरुद्धमा गल्ती गरिए त्यसलाई सच्याउने सवालमा समयमै ध्यान नदिएपछि सबैलाई पीडा र पछुतो हुन सक्दछ ।
बाटो लाग्ने क्रममा स्यालले डराइडर्राई भन्यो- यो सम्झौता त सिकारलाई मार्नका लागि मात्र पो रहेछ त, सिकार बाँडेर खानका लागि त होइन रहेछ । हामीले राजनीतिमा कुनै पनि कार्य गर्दा सबैको हितको लक्ष्य लिएर गर्ने कि अरूलाई आफ्नो निहित जनविरोधी लक्ष्य पूरा गर्न प्रयोग गर्ने र सहयोग लिने तर फाइदा भने आफू मात्र लिने – भन्ने सोचमा प्रस्ट हुनुपर्छ । हामीलाई कसैले मूर्ख बनाउन खोजेमा समयमा नै सचेत हुन आवश्यक छ । प्रणालीको सम्बन्धमा सबै अटाउनेे प्रणालीका लागि काम गर्न किन पछि पर्ने – मलाई लाग्छ बाघको विरुद्धमा अरू तीनवटा जनावर मिलेर लागेको भए सफल हुने थिए । उनीहरूले मिलेर बाघको विरुद्धमा सङ्घर्ष गर्ने कल्पना गर्न सकेनन् ।
हामी सधैं बाघे-रणनीतिसँग र्सतर्क हुनुपर्छ । आफ्नो गलत लक्ष्य पूरा गर्न हामीलाई प्रयोग गरेमा त्यसको परिणाम गलत हुन जानेछ । ‘बाघ’ले आफ्नो लक्ष्य पूरा गर्न विभिन्न कार्य गरेको पाइन्छ । उसले सकेसम्म आफ्ना अन्यायपूर्ण कार्यलाई पनि कानुनअनुसार गरेको भन्ने र केही नलागे बलको तर्कलाई ल्याएर कानुनमा मिलाउने गरेको पाइन्छ ।
नीतिकथामा भनिएअनुसार एउटा बाघ धर्मात्मा बन्न चाहेछ । उसले आफू जङ्गलको राजा भएकोले सबैलाई न्याय दिने र कुनै पनि समयमा गल्ती नगर्ने जनावरलाई नमार्ने घोषणा गरेछ । जनावरले कुनै न कुनै गल्ती गर्छन् । गल्ती गर्नेहरूका विरुद्धमा उजुर आउँछन् । त्यसपछि गल्ती गर्नेमा एउटा त हुन्छ नै । किनभने कि त उजुर गरिएको झुटा हुन्छ र उसलाई मार्ने कि उजुरमा परेकोको गल्ती हुन्छ त्यसैलाई मार्ने उसको नियत रहेछ । पछि उजुर गर्नेहरू नै नभएकोले बाघ भोकै पर्ने भएछ । अब उसले के गर्ने – एक दिन ऊ नदीमा पानी खाँदै रहेछ । उसले पानी खाएकोभन्दा धेरै तल एउटा मृग नदी तरेछ । उसले त्यो देख्नासाथ मृग भएको ठाउँमा पुगेछ र च्याप्प उसलाई समातेर मार्न तयार भएछ । मृगले कुनै गल्ती नगरेको बताउँदा उसले आफू पानी खानलाग्दा नदी तरेर पानी धमिल्याइदिएको आरोप लगाएछ । त्यसपछि मृगले भनेछ- म त तपार्इंले पानी खाएर बगेर आएको पानीबाट पो तरेको थिएँ, कसरी तपाईंको पानी धमिल्याउनु – बाघले घाँटी च्याप्दै भनेछ- मैले पानी त्यहाँ खाएँ र तैले यो ठीक भन्न पाइस् तर मैले तँ तरेकोभन्दा तल पानी खाएको भए मेरो पानी धमिलो हुने थियो कि थिएन – त्यसपछि मृगको इहलीला समाप्त नै भयो । बाघ साकाहारी बन्नै सक्दैन, केवल आफ्नो अपराधलाई लुकाउन अरूको दोष खोज्न सक्छ । दोष नदेखिए जबर्जस्ती दोष देखाउँछ । यसबाट के सिक्नुपर्छ भने बलियाले गल्ती गरे पनि कमजोरलाई नै दोष दिने प्रवृत्तिले संस्कृतिको काम गर्‍यो भने यसको पीडा पुस्तौँपुस्ताले भोग्नुपर्छ ।
चितवनमा यात्रु चढेको गाडीमा सुरक्षाकर्मी बीचमा आएर चढे । सुरक्षाकर्मीको हत्या गर्न उद्यत् माओवादीले बम हानेर यात्रुहरूलाई समेत मारिदिए । माओवादीको अघोषित आरोप भनेको सुरक्षाकर्मी चढेपछि यात्रीहरू त्यस बसबाट उत्रनुपर्ने थियो । त्यस्तै एम्बुलेन्समा बम हानेकोमा माओवादीहरूको आरोप अरू ठाउँहरूमा बिरामी मात्र नचढेर अरू पनि चढेको सुनिएको हुँदा त्यसको बदला लिएको हुन सक्दछ । माओवादीका गुरुले भनेका छन्- विश्वमा कुनै पनि ठाउँमा भएको नराम्रो कामको विरोध विश्वको कुनै अर्को कुनामा पनि गर्न सकिन्छ । यसका आधारमा त लाग्दछ- प्रचण्ड, बाबुराम आदिले विश्वको कुनै कुनामा पत्नीले नवजात शिशुलाई मारेको बदला उनीहरूका पत्नीहरूमाथि लिए भने पनि त्यो न्यायपूर्ण नै ठहर्‍याइनेछ । नत्रभने एउटा एम्बुलेन्समा बिरामीलाई ल्याइएको छ । अर्को एम्बुलेन्समा गल्ती भएको हुँदा त्यसको बदला बिरामी भएको एम्बुलेन्समा लिने कार्य एकप्रकारको पागलपन हो कि होइन –
एकजना मानिसले रेलबाट यात्रा गर्दा दिल्लीबाट कोलकातासम्म पुग्नका लागि तीन दिन लाग्छ भने मेरो उमेर कति भयो – भनेर सोधेछ । यस्तो उट्पट्याङपूर्ण सवाल सुनेर अर्को उट्पट्याङ्गे मानिसले तपार्इं ३० वर्ष हुनुभयो भन्ने जवाफ दिएछ । प्रश्नको उत्तर संयोगले मिल्न गएछ । प्रश्नकर्ताले तपाईंले त मेरो प्रश्नको उत्तर ठीक मिलाउनुभयो कसरी हो – भनेर सोधेछ । उत्तर दिनेले भनेछ मेरो अमुक नाताको मानिस साठी वर्षको हुनुहुन्छ । उहाँ पूरा पागल हुनुहुन्छ । तपाईं आधा पागल हुनुहुँदोरहेछ, त्यसैले तीस वर्ष हुनुभयो भनेको हुँ । मानिसले कुनै पनि कार्य गर्दा त्यसको तुक र तर्कप्रति पनि सचेत हुन आवश्यक छ । हँसियाले हात काट्यो भनेर सबै ठाउँका हँसियाहरू फाल्ने उर्दी गर्ने प्रवृत्तिले गल्ती आफूमा कहिल्यै नदेख्ने अवस्थाको सिर्जना हुन्छ । त्यो सोचले न देशको विकास हुन्छ न न्याय नै प्राप्त हुन्छ ।