तपाईंको यो साता : (२०७४ असार १४–२० सम्म)

तपाईंको यो साता : (२०७४ असार १४–२० सम्म)


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :
राजनीतिक र सामाजिक क्षेत्रबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । मित्र वा आफन्तको सहयोगबाट नयाँ कार्यको थालनी हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सोमबारबाट ठूलो महत्वाकाङ्क्षा राखेर धन लगानी गर्नु राम्रो हुनेछैन । जुवातास र सट्टाबाजीबाट जोगिनुपर्छ । दुर्गाजीको आराधना गरी यात्रा गर्नले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ६, ८ र शुभरङ हरियो हो ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला । साताको उत्तरार्धबाट व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३, ९ र गाढा पहेँलो वा केशरी हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :
अनावश्यक यात्राको साथै बन्न लागेको काम बिग्रनेछ । बाध्यतामा खुम्चिनुपर्नाले नरमाइलो लाग्न सक्छ । व्यापार–व्यवसायमा बाधा आउनेछ । साताको उत्तरार्धबाट सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेछ । आँटेका उद्योग तथा बन्दव्यापारमा सामान्यतया फाइदा नै हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ५, ७ र शुभरङ खैरो वा ध्वाँसे हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना छ । वाहनको कारोबारबाट लाभ मिल्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । फेन्सी तथा सौन्दर्यताका क्षेत्रमा गरेको लगानी लाभदायक हुनेछ । साताको अन्त्यबाट कुनै शुभकर्म गर्नुपूर्व सिद्धिविनायकको ध्यान गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ नीलो हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :
शैक्षिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । शनिबारबाट राजनीतिक कार्यमा बाधा आउनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ घिउरङ वा सुन्तला हो ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :
प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । रविबारबाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार–व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । कुनै शुभकर्म गर्नुपूर्व महामृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३,४ र शुभरङ वैजनी वा पहेँलो हो ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :
शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । साताको अन्त्यबाट मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ साथै सामान हराउन सक्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क २,४ र शुभरङ कालो हो ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :
साताको पूर्वार्ध सुखद रहनेछ । वैदेशिक कार्य अघि बढ्ने । पार्टनरसिपबाट राम्रो फाइदा मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । साताको उत्तरार्धबाट वैदेशिक कार्यमा समस्या देखापर्ला । हतारको निर्णयले समस्या निम्त्याउन सक्नेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । देवीको दर्शन गरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ घिउरङ वा गुलाबी हो ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे) :
उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिनेछ । फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । मुखलाई नियन्त्रणमा राख्नुहोला । कुनै शुभकर्म गर्नुपूर्व बटुकभैरवको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ आकासे नीलो वा पहेँलो हो ।

मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि) :

यो साता लाभ, हानि, आय, व्यय, सुख, दुःख बराबरी मध्यम खालको रहनेछ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ सेतो हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :
बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । घरजग्गा खरिद तथा बिक्रीको योग छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनुपर्नेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि उन्मत्तभैरवको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ हरियो वा सेतो हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :
मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्नेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । स्वास्थ्यमा समस्या आउनेछ । रविबारबाट शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ गुलाबीे हो ।