निखिललाई किन घोच्छ घरायशी प्रश्नले ?

निखिललाई किन घोच्छ घरायशी प्रश्नले ?


पहिलो फिल्ममै सात तलामाथिबाट फाल हानेर वास्तविक ‘नायक’को रूपमा रातारात चर्चित बनेका अभिनेता निखिल उप्रेतीले लगभग डेढ दशकको फिल्मी करिअरमा अनेक उतारचढाव ब्यहोरिसकेका छन् । कलिउडमा प्रवेशलगत्तै राजेश हमालको विकल्पका रूपमा समेत चर्चामा आएका एक्सन किङ निखिलले फिल्मी पर्दामा एकसाथ दर्जनौँ खलपात्रसँग लडाई गरे । रियल लाइफमा पनि खरो, प्रस्ट र आपतमा पनि नआत्तिने स्वभावले आमदर्शकका आँखामा निखिललाई वास्तविक हिरोकै रूपमा स्थापित गरायो । तर, यस्ता नायक निखिललाई एउटा प्रश्नले भने भने तर्साउन थालेको छ ।

पछिल्लो चरणमा निखिललाई भेट्यो कि मिडियाकर्मीहरू एउटा प्रश्न गरेरै छाड्छन्– ‘निखिलजी, दुईवटी पत्नीलाई मिलाएर घर चलाउन गाह्रै होला, कसरी म्यानेज गरिरहनुभएको छ ?’ यो प्रश्न सुन्दा–सुन्दा उनी वाक्कै भइसकेका छन् । व्यक्तिगत लाइफका कुरा व्यावसायिक विषयमा बारबार जोडेर प्रश्न गरेपछि दिक्क नहुन् पनि किन ? फेरि यो कुरा कुनै नयाँ पनि होइन, वर्षौं भयो पहिली पत्नी कोपिलामाथि कान्छी बनाएर निखिलले सञ्चितालाई घर भित्र्याएको । हालै निखिलसम्बद्ध एक फिल्मको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा अचानक जेठी पत्नी कोपिला प्रवेश गरेर खल्बली मच्चाउँदा निखिल सुटुक्क पछिल्तिरबाट उम्कनुपरेको सन्दर्भपछि उनको पारिवारिक तनावबारेको चर्चा फेरि सतहमा आएको हो ।

पाँच वर्ष मुम्बइमा बसेर नेपाल आएका निखिलले एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । उनी कमब्याक भएपछि व्यक्तिगत रूपमा हिट त भएका छन् तर उनलाई लिएर चलचित्र बनाउने निर्मातालाई भने निखिल उप्रेतीको पारिवारिक विवादकै कारण खुशी मिलेको छैन । निखिल आफै पनि सञ्चारकर्मी भेट्नेवित्तिकै कुराकानी गर्नुअघि ‘घरायसी प्रश्न नसोध्नुहोला है’ भनी अनुरोध गरिहाल्छन् । तथापि, उनको अनुरोधलाई नसुनेझैँ गरी उही प्रश्न दोहो¥याउन मिडियाकर्मी हिच्किचाउँदैनन् । यस्तै हो भने, जसोतसो दुई परिवारको सन्तुलन मिलाएर जीवन अघि बढाइरहेका निखिल पुनः कुनबेला वलिउडतिर हानिने हुन्, कुनै ठेगान छैन ।