सबै नेताको आँखा भौतिक योजनामा

सबै नेताको आँखा भौतिक योजनामा


देश बनाउने हो भने सबै मन्त्रालयको महत्व बराबरी हुन्छ र जुनसुकै मन्त्रालयको जिम्मेवारी प्राप्त भए पनि राम्रो काम गर्न चाहनेहरूले त्यसलाई अवसरको रूपमा उपयोग गर्न सक्छन् । तर, ठूलादेखि साना सबै दलका नेताहरू भौतिक योजना मन्त्रालय लिन हानथाप गर्ने गर्दछन् । पौने एक अर्बभन्दा बढी वार्षिक बजेट भएको भौतिक योजना मन्त्रालय पाउन यसपटक पनि रोचक प्रतिस्पर्धाको स्थिति देखापरेको छ ।

प्राप्त जानकारीअनुसार उक्त मन्त्रालय लिन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुवैले इच्छा राखेका छन् । काङ्गे्रसको भागमा परेमा काङ्गे्रसका सबै नेताहरूको दाबी उक्त मन्त्रालयमा रहने निश्चित छ । प्रचण्डले पनि आफ्नो भागमा पारेर सर्वाधिक विश्वासप्राप्तलाई सो मन्त्रालय जिम्मा लगाएर काम लिने सोच बनाएको बुझिन्छ । उता माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि भौतिक योजना मन्त्रालय लिएर गिरिराजमणि पोखरेललाई मन्त्री बनाउन प्रचण्डसमक्ष प्रस्ताव राख्नुभएको छ ।

विजयकुमार गच्छदार, उपेन्द्र यादव र कमल थापाले पनि भौतिक योजना मन्त्रालय पाउन प्रयास गरिरहेका छन् । लामो समय विजयकुमार गच्छदारले सम्हालेको उक्त मन्त्रालयको जिम्मेवारी यसअघि विमलेन्द्र निधि र रमेश लेखकले सम्हालिसकेका छन् । यसपटक उक्त मन्त्रालय काङ्गे्रस या माओवादीमध्ये एकले पाउने निश्चित मानिएको छ । तर, सो मन्त्रालय प्रधानमन्त्री देउवा या माओवादी अध्यक्ष प्रचण्डको विशेष नियन्त्रणभन्दा बाहिर रहने ठानिएको छैन ।