■ स्वयम्भूनाथ कार्की
बीपीको जीवन र राजनीतिक आरोह–अवरोहमा कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको भूमिका के–कस्तो छ वा नेपाली काङ्ग्रेसमा किसुनजीको महत्व के हो भन्ने कुरा भने यस किताबबाट अनुमान गर्न सकिँदैन । बीपीले यस किताबमा किसुनजीको चर्चा गर्न कन्जुस्याइँ गरेकोजस्तो देखिन्छ । तैपनि पानीमा चिनी मिसिएजस्तो कृष्णप्रसाद भट्टराईको अस्तित्व र त्यसको प्रभाव भने किताबभरि नै पाइन्छ । बीपीमा जन्मजात रहेको भनिएको राजनीतिक चेतना बाहिर देखिनुभन्दा पहिलेदेखि नै बीपीको र किसुनजीको परिवारको सम्बन्ध देखिएको छ । असीघाटमा सरकारी स्कुल बहिष्कार गने बाल बीपीको राजनीतिक चेतना त्यसैबेलादेखि देखिएको भनिहाल्नु अलि अतिशयोक्ति हुन जान्छ । हो, बिउ भने मान्न सकिन्छ । त्यसको अङ्कुर बीपी फेरि बनारस पढ्न गएपछि सुरु भएको छ । स्कुल भर्ना हुन सुन बेच्न जानेमा किसुनजीका दाजु बटुकजी गएको परिच्छेद ५ को प्रसङ्ग नै बीपीको र किसुनजीको परिवारको पुराने सम्बन्ध भएको प्रमाण हो ।
४ अक्टोबर १९४६ को बीपीको एक सङ्गठन बनाउने वक्तव्यपछिका काममा साथ दिन किसुनजीको परिवार नै भनेजस्तो तयार अवस्थामा थियो । परिच्छेद १० अनुसार एमए पढ्दै गरेका किसुनजी आफ्नो अध्ययन छोडेर नै बीपीको साथ लागे । काशी विद्यापीठबाट पत्रकारिता अध्ययन गरेका गोपालप्रसाद भट्टराई, एमए छोडेर कृष्णप्रसाद भट्टराईको साथमा राजनीतिमा वास्ता नभएको एमए पास गरेर एक अल्म्युनियम फ्याक्ट्रीको एलेक्ट्रप्लेटिङ सेक्सनको म्यानेजर हुन ठिक्क परेका बालचन्द्र शर्मासमेत बनारसबाट यो सुरुवाती अभियानमा साथ लागे । किसुनजीका दाजु बटुकप्रसाद उपाध्यायले भने युगवाणीको अभिभारा लिए । यति हँुदा पनि बीपीको देखाइमा किसुनजी कर्मठ भएनन् । त्यही परिच्छेदमा बीपी भन्छन्, ‘त्यसपछि उनी (बालचन्द्र शर्मा) निष्ठाका साथ राजनीतिमा लागे । किसुनजी त्यति होइन, तर गोपालजी फेरि अर्को कर्मठ किसिमको मानिस थिए ।’ एमएको पढाइ छोडेर जीवनपर्यन्त बीपीको निष्ठावान अनुयायी भएका किसुनजीलाई बीपीले यो किताबमा किन महत्व दिएनन्, त्यो भने अनौठो नै छ ।
किसुनजीले भने हमेसा बीपीको साथ छायाजस्तो भएर दिई नै राखे । तैपनि जहाँ बालचन्द्र शर्माको कुरो भएको छ त्यहाँ बीपीले किसुनजीलाई बालचन्द्र शर्माभन्दा तल नै राखेका छन् । बालचन्द्र शर्माले त क्रान्तिकालमा लुटपाटसमेत गरेर गृहमन्त्री बीपीले भारतीय सहायताले पक्राउसमेत गर्नुपरेको थियो । यस्तो अनुशासनविपरीतको काम किसुनजीले गरेको कुनै उल्लेख किताबमा छैन । त्यही पनि बालचन्द्रको दाँजोमा बीपीले किसुनजीलाई अवहेलना गरेकोजस्तो छनक भने किताबमा लगातार भेटिन्छ । पद्मशमशेरको कैदमा जब बीपीको घाँटीको बिमारी फेरि सुरु भयो भारतीय नेताहरू गुहार्न पुग्नेमा किसुनजी थिए । गान्धीजीको पद्मशमशेरलाई लेखेको पत्र लिएर आउनेमा किसुनजी सामेल थिए । तै उनीहरू आइनपुग्दै पद्मशमशेरले बीपीलाई छोडिसकेका थिए ।
मोहनशमशेरको पालामा काठमाडांै सङ्गठन गर्न गएको बीपीको टोलीमा केदारमान व्यथितसँग किसुनजी नै थिए । बीपीको पण्डित भेषमा उनको शिष्यको रूपमा साथ दिन किसुनजीकै आवश्यकता परेको थियो । व्यथित त ब्राह्मण भेष धारण गर्न असमर्थ थिए, त्यसैले तराईमा राँगा किन्न आएको साहुको भेष लिएका थिए । सम्पूर्ण अभियानमा यो भेष कायम रहुन्जेल सबैको सेवकको काम गर्नुपर्ने मिहिनेती भाग त किसुनजीले नै सम्हाल्नुपरेको थियो । जब बीपी मोहनशमशेरको फन्दामा परेर आफ्नो जीवनको सबैभन्दा कष्टकर भाग भोग्दै थिए त्यसबेला नेहरूसँग मद्दत माग्न पनि किसुनजी नै अग्रसर भएका थिए । बीपीले अनेकौँ चतु¥याइँले आफ्नो घामको उज्यालोसम्म पनि नपस्ने कालकोठरीबाट उम्काएको पत्र लिएर नेहरूलाई उनैले पु¥याएका थिए । किसुनजीले परिआएका बखत सधँै नै कुशलताले काम गरेका थिए त्यो पनि कुनै नैतिक मूल्य र मान्यता ननाघी । यसै किताबको सेरोफेरोमा निष्पक्ष विवेचन गर्ने हो भने पनि बालचन्द्रभन्दा किसुनजी धेरै उच्च देखा पर्दछन् ।
क्रान्तिमा आफ्नो जिम्मेवारीमा परेको सप्तरी सेक्टरमा किसुनजीले देखाएको कुशलताले सप्तरी र उदयपुर कब्जा गर्न कुनै विशेष लडाइँ लड्नुपरेन । परिच्छेद ३१ मा बीपी भन्छन्, ‘किसुनजीलाई सप्तरी सेक्टरमा पठाएको थियो । सप्तरीमा धेरै ठूलो मिलिटरी घटना घटेन । किसुनजी जानुभयो, त्यहाँ रामेश्वर बाबुहरू हुनुहुन्थ्यो । चौकीहरूका मानिसहरूले धमाधम समर्पण गर्न थाले । उहाँ त उदयपुरसम्म पुग्नुभयो । त्यसो हुनाले उहाँलाई अहिले पनि सप्तरीवालाहरूले भन्दा उदयपुरवालाहरूले बढ्ता मान्दछन् । उहाँ गएर बस्नुभयो उदयपुर ।’ यस्तो चमत्कार त्यस क्रान्तिमा केवल किसुनजीले मात्र देखाउन सक्नुभएको थियो । धनजनको क्षतिबिना कब्जा जमाउने उनको त्यो कौशललाई सजिलो सेक्टर परेको भनेर हल्का लिन खोजिएकोजस्तो लान्छ, तर त्यो सेक्टर सजिलो भने बिल्कुलै थिएन, किसुनजी भएकाले सजिलो भएको थियो ।
सत्र सालपछिको नजरबन्द कालमा त बीपीले किसुनजीको जुन चित्रण गरेका छन् त्यो किसुनजीको अन्य व्यक्तित्वको ठीक उल्टो देखापर्छ । रिसको भ्mवाँकमा मेजरको मुखमा जुठो पानी छ्याप्ने काम, भनेजस्तो जुत्ता किनेर ल्याइदिएन भनेर फोहोर गाली गर्ने काम किसुनजीबाट भएको थियो होला भन्ने कुरा पत्याउन गाह्रो पर्छ । तर, यो प्रसङ्ग किताबको ५९ परिच्छेदमा आएको छ । समय बिताउन किसुनजीले बीपीलगायत अन्य नजरबन्दमा रहेकालाई उपनिषद् पढाउने कुरा भयो, तर बीपीलाई पत्यार लागेन र त्यो बन्द भयो । बीपीले राजासँग दर्शनभेट मागेको पत्रमा किसुनजीले बीपीको इच्छाविपरीत गतिरोध र सरकारको इच्छा भएको शब्द पनि राखे । त्यो किसुनजीको भाषा चातुर्यको नमुना थियो । तर, नजिकको तीर्थ हेला भनेजस्तो पारिवारिक सम्बन्ध भएको र सुरुदेखि नै आफ्नो निष्ठावान भएकाले बीपीले किसुनजीको मूल्याङ्कनमा हलुका लिएकोले किसुनजीको पात्रले किताबमा महत्व कम पाएको छ । तैपनि यो पात्र वातावरणमा हावाजस्तै सर्वव्यापी बनेको छ ।
प्रतिक्रिया