शैक्षिक वातावरण चुस्त तुल्याउन प्रधानमन्त्रीको निर्देशन

शैक्षिक वातावरण चुस्त तुल्याउन प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा शैक्षिक वातावरण निर्माण गरी शिक्षालाई वैज्ञानिक, व्यावहारिक रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभएको छ । त्रिविका पदेन कुलपति समेत रहनुभएका देउवाले त्रिवि सभाको ५८ औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै मुलुकको उच्च शिक्षालाई समयसापेक्ष परिवर्तन गरी चुस्त शैक्षिक वातावरण निर्माणमा विश्वविद्यालयको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको हो ।

आइतबार आयोजित वार्षिक दिवसलाई सम्बोधन गर्दै प्राथमिक शिक्षासँगै उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, धर्म र क्षेत्रको पहुँचमा पु¥याउन आवश्यक रहेको र यसका लागि व्यवस्थापनमा विकेन्द्रीकरण र स्वायत्ततालाई क्रमिक रुपमा अगाडि बढाउँदै लैजानुपर्ने औंँल्याउनुभयो । उहाँले सबै सरोकार भएकाहरुसँग समन्वय गरी विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र नीतिगत विषयमा आवश्यकतानुसार सुधार गरी आफ्ना कार्य सञ्चालन गर्न आग्रह गर्नुभयो ।

फरक प्रसङ्गमा देउवाले हालै सम्पन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुनु र यसमा नागरिकको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रको स्थायित्व र संविधानको कार्यान्वयनमा थप सहजता आएको महसुस गरिएको बताउँदै आगामी माघभित्र सबै तहको निर्वाचन गराई मुलुकलाई स्थायित्व र विकासको मार्गमा अगाडि बढाउनु सरकारको पहिलो प्राथमिकता हो भन्नुभयो ।

सोही बैठकमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री एवम् त्रिविका सहकुलपति गोपालमान श्रेष्ठले समय र परिस्थिति अनुकूल विश्वविद्यालयमा सञ्चालित उच्च शिक्षालाई विश्व परिवेश अनुकूल गराउन तथा गुणात्मक रुपले प्रतिस्पर्धी विद्यार्थी उत्पादन गराउन आग्रह गर्नुभयो भने त्रिविका कुलपति प्रा डा तीर्थराज खनियाले विश्वविद्यालयले काठमाडौँ उपत्यकाभित्र लागू गरेको सेमेस्टर प्रणाली व्यवस्थित गरेको, प्रविधियुक्त शिक्षाको थालनी गरी वाइफाइ र इ–लर्निङको व्यवस्थाका साथै दूरशिक्षाको समेत थालनी गरेको जानकारी दिनुभयो ।

यस्तै, त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले २०७३ असार २ गतेदेखि २०७४ जेठ १७ सम्मका अवधिमा तोकिएका आवश्यकता पूरा गरी परीक्षासमेत उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका ८६ हजार २९२ जना विद्यार्थी रहेको जानकारी दिनुभयो । तीमध्ये शिक्षाशास्त्र सङ्कायमा २६ हजार २९०, व्यवस्थापन सङ्कायमा १८ हजार १५३, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा १३ हजार २३६ र कानुन सङ्कायमा एक हजार १०८ छन् । त्यसैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा चार हजार ३५४, इन्जिनियरिङ अध्ययन संस्थानमा दुई हजार ३९३, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा ४३१ र वन विज्ञान अध्ययन संस्थानमा २४० छन् । ती विद्यार्थीको दीक्षान्त आगामी पुसमा गर्ने तयारी भइरहेको बताइएको छ ।