वीरगञ्ज । आस्था नेपाल नामक सुधार केन्द्रमा दुव्र्यसनको कुलतबाट छुटकारा दिलाउन भनी भर्ना गरिएको आप्mनो छोराको केन्द्रभित्रै हत्या गरिएको भन्दै न्याय दिलाइदिन पीडित परिवारले आग्रह गरेको छ । वीरगञ्ज–१९, (हाल वडा नं. १६) नगवानिवासी रामबाबुप्रसाद कम्करले आप्mना २१ वर्षीय एक मात्र छोरा दीपुकुमार कम्करलाई आस्था नेपाल नामक संस्थामा कुलतबाट मुक्त तुल्याउने भन्दै भर्ना गरेका, तर त्यहीँ छोराको हत्या गरिएको आरोप लगाए ।
संस्थाका दीपु बर्माले तीन महिनाभित्र कुलतबाट छोरालाई कुलतबाट छुटकारा दिलाउने विश्वास दिलाएकाले तीन महिनाका लागि सुधारगृहमा राख्न आफूले अनुमति दिएको उनको भनाइ छ । तर उक्त सुधार केन्द्रभित्र विभिन्न दुःख, यातना दिने गरेको कुरा छोराबाट गुनासो आएपश्चात् छोरा घर फर्काउन खोज्दा नदिएको उनको भनाइ छ ।
पीडित रामबाबु कम्करका अनुसार गत जेठ १६ गते बिहान ७ः३० देखि ८ बजेको समयमा एकाएक सुधार केन्द्रका दीपु बर्माले फोन गरी तपाईंको छोराको अवस्था चिन्ताजनक रहेकोले तुरुन्तै नारायणी अस्पतालमा आउनु भन्ने जानकारी गराएपछि त्यहाँ पुग्दा छोराको मृत्यु भइसकेको भन्ने कुरा अस्पतालका चिकित्सकले जानकारी दिएका थिए । छोराको मृत्यु कसरी भयो भनी प्रश्न गर्दा अस्पतालमा ल्याउनुअगावै मृत्यु भइसकेको जवाफ चिकित्सकले दिएका थिए ।
मृतक छोराको शरीर हेर्दा शरीरमा ब्लेडले चिरेको तथा शरीरको अन्य भागमा समेत घाउ चोटपटक लागेको र निजको टाउकोसमेत त्यही दिन मुण्डन गरी नयाँ लुगा लगाएको देखेर आफू दुःखद आश्चर्यमा परेको उनले बताए । बर्मासँग छोराको मृत्युबारे जिज्ञासा राख्दा उनले प्रस्ट जवाफ नदिएको र गोलमटोल जवाफ दिएर टार्न खोजेको रामबाबुको भनाइ छ ।
मृतक छोराको अन्तिम संस्कार सकेपछि जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन जाँदा प्रहरी नायब उपरीक्षक चक्रराज जोशीसँग सम्पर्क गर्दा जाहेरी दर्ता गर्नुको साटो प्रहरीले उल्टै हप्काएको पीडितको आरोप छ । बाध्य भई जिल्ला हुलाक कार्यालय पर्सामार्फत जाहेरीलाई रजिस्ट्री दर्ता गराउँदासमेत प्रहरी प्रशासनबाट हालसम्म कुनै किसिमको छानबिन र अनुसन्धान नगरी अपराधलाई प्रोत्साहन तथा पीडितलाई झन् पीडा हुने काम गरिरहेकाले उच्चस्तरीय छानबिन आयोग गठन गरी वास्तविक अपराधी पत्ता लगाएर न्याय दिलाउन पहल गरिदिन पीडित कम्करले मानवअधिकारवादी सङ्घसंस्था, समाजसेवी, राजनीतिक दल, बुद्धिजीवी, सञ्चारकर्मीलगायतसँग आग्रह गरेका छन् ।
प्रतिक्रिया