कान्तिपुरका राजा प्रताप मल्लका समयदेखि भाष्कर मल्लका समयतक पौने एक सय वर्ष (१६४१–१७१५) सम्म तिब्बतबाट आउने सुन कान्तिपुरका ठकुराईमा प्रशस्त मात्रामा आयो अनि त्यो सुन र ललितपुरका ठकुराईका खानीबाट निस्केका तामाका पातामाथि सुनको मोलम्मा भएर कान्तिपुरका ठकुराईका देवलका छाना र राजारानीहरूका ढलौटे मूर्तिसमेत सुन घसिएर झल्झलाएका थिए । सुनमा आकर्षण शक्ति ज्यादा रहने हुनाले श्री ५ पृथ्वीनारायण शाहले काठमाडौंका ठकुराईबाट खासासम्मको कुतीमा जाने मार्ग इ.सं. १७४६ मा दखल गरी भक्तपुरका राजालाई दिएका थिए । तापनि आपसमा सहयोग भएको हुनाले भक्तपुरका व्यापारीसँग मिलेर कुतीपट्टिबाट सुनको व्यापार गर्न आरम्भ गर्दा उनले भक्तपुरका टकको उपयोग गरेका थिए र यस कामका निमित्त कमल बनका चेला सन्न्यायीहरूलाई र कास्मिरी मुसलमान व्यापारीहरूलाई पनि साथ लिएका थिए ।
इ.सं. १७५४ मा सिन्धुपाल्चोक, काभे्रपलान्चोक र दोलखामा समेत एकलौटी अधिकार गरेपछि यस तरफबाट हुने सुनको व्यापार आफ्ना हातमा लिएर उनले भक्तपुरका राजाले वाणिज्यदूत बनाएका हरिदेव पण्डितलाई नै आफ्ना वाणिज्यदूत बनाए । यसबीचमा कान्तिपुरका राजा जयप्रकाश मल्लका टकहरू कसर मिसिएर दूषित भइरहेका हुनाले दूषित टकहरूबाट व्यापार चल्न सक्दैन भन्ने तत्व जानेर आफ्ना टकमा शुद्ध चाँदीको उपयोग उनले गरेका थिए । तैपनि कुत्यालहरूले सुनको व्यापार र चालू हुन दिएनन् । यसको रहस्य इ.सं. १७१६ देखि ल्हासामा चीनका अम्मानहरू रहनु थियो । यी अम्मानहरू तिब्बतका दलाई लामाका प्रशासनमा हस्तक्षेप त गर्दैनथे, तर दलाई लामालाई उचित परामर्श दिन्थे ।
यिनीहरूकै परामर्शबाट दलाई लामाका सरकारले तिब्बतमा जम्मा भएको सुन नेपालतिर झर्न रोकेको थियो । यसकारण कान्तिपुरका राजा जगज्जय मल्लको समयदेखि नै सुनको पैठारी दिनप्रतिदिन कम हुँदै आएको थियो । यस समयसम्म तिब्बतमा कान्तिपुरका राजाका टक चल्दथे । तर, यी टक दूषित हुँदै आएका हुनाले अरू वस्तुको व्यापार पनि मन्द भइरहेको थियो । इ.सं. १७५७ मा कीर्तिपुरको पहिलो हार भएको लगत्तै पछि पनि वैरभाव भुलेर कान्तिपुर र गोर्खाका दुवै राजाले शुद्ध चाँदीका टक चलाउने र व्यापार पनि सझिया रूपले गर्ने भन्ने वाणिज्य सन्धि गरे तापनि चाँडै नै जयप्रकाश मल्लले त्यो सन्धि भङ्ग गरेर फेरि मेल हुनै नसक्ने अवस्था गराइदिएका थिए ।
श्री ५ पृथ्वीनारायण शाहले इ.सं. १७६८ मा कान्तिपुरका ठकुराईमा अधिकार गरेपछि त्यहाँ रहेका दूषित टकहरू मासेर शुद्ध चाँदीका टक ढलाएका थिए । कान्तिपुरको टक तिब्बतमा व्यापार गर्ने परम्परालाई थामेर कान्तिपुरमा मेरो अधिकार भएको हुनाले मेरो टक तिब्बतमा चालू रहोस् भनेर तिब्बतका निमित्त पनि तिब्बती लिपिमा टक ढलाउने योजना श्री ५ पृथ्वीनारायण शाहले गरे । यस कामका निम्ति श्री ५ पृथ्वीनारायण शाहलाई चोखा चाँदीको आवश्यक थियो । उस समयमा मुगल बादशाहहरूका चाँदीका रुपैयाँ टक (सोह्र आना) शुद्ध चाँदीका हुन्थे ।
श्री ५ पृथ्वीनारायण शाहले तराईमा अधिकार गरेपछि त्यहाँ पनि आफ्ना शुद्ध चाँदीका टक चलाई मुग्लानपट्टिबाट त्यहाँ आउने मुगल बादशाहका टकहरू खिचेर काठमाडौंका टक्सारमा ल्याई मासी नेपाली मोहरका टक ढाल्ने नियम चलाएर आफ्नो राज्यभरमा एउटै टक चलनचल्तीमा आउने गराएका थिए । तराईपट्टिबाट आउने मुगलबादशाहका छाप लागेका टकहरू आवश्यकभन्दा ज्यादा हुने भएकाले यिनै रुपैयाँका टकबाट तिब्बतका निमित्त पनि तिब्बती लिपिमा टक ढालेर योजना पूरा गर्ने उद्देश्य लिएर नै राजगिरीको नेतृत्वमा तिब्बतमा दूतमण्डल पठाउने उनले निधो गरेको देखिन्छ । तर, यो सुन खरिद गर्ने काम आरम्भदेखि नै बाधा पर्दै रहेको हुनाले फस्टाउन नसकेको हुँदा राजगिरीका साथ जाने दूतमण्डल नुवाकोटबाट प्रस्थान नहुँदै श्री ५ पृथ्वीनारायण शाहको देहान्त भयो र तिब्बतमा पठाइने दूतमण्डल सफल हुन नसकेको देखिन्छ ।
हुन त कुत्यालहरूबाट खरिद भएको सुन राजकोषमा थन्क्याउनका निमित्त किनिने व्यवस्था भएको देखिन्न, विदेशी व्यापारीलाई बिक्री गरी गरेर नाफा लिने व्यवस्था भएको देखिन्छ । तथापि आएको नाफाको धन राजकोषमा रहने व्यवस्था भएको हुनाले भूमिव्यवस्थाजस्तै वाणिज्यव्यवस्थाअन्तर्गत यो सुनको व्यापार रहेको देखिन्छ ।
(पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’बाट)
प्रतिक्रिया