बीचैमा रोकियो पीडित बालिकालाई बलात्कारीसँगै विवाह गराउने प्रयास

बीचैमा रोकियो पीडित बालिकालाई बलात्कारीसँगै विवाह गराउने प्रयास


सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिकास्थित फुल्पिङकट्टीकी १२ वर्षिया बलात्कृत बालिकालाई पीडकसँगै जर्बजस्ती विवाह गर्न खोजिएको प्रयास बीचैमा रोकिएको छ । गाउँमा भएको घटना बाहिर आएमा समाजकै बेइज्जत हुने डरले स्थानीय राजनीतिक दलसहितको सहमतिमा गराउन लागिएको विवाह रोकिएको हो ।

जिल्लाको विकटमध्येको गाउँ मानिने फुल्पिङकट्टीमा कार्यरत सामाजिक संस्था ग्रामीण महिला सिर्जनशील परिवारले बालिकाको उद्धार गरी सामाजिक सुरक्षा प्रदान गर्न लागेको थियो । तर, उद्धार गर्नबाट रोकेर केही स्थानीय र राजनीतिक कार्यकर्ताले पीडकसँगै बालिकाको विवाह गराउन खोजेका थिए ।

फुल्पिङकट्टीकी महिला सञ्जालकी सचिव फुर्लामु शेर्पाले सामाजिक संस्था महिला सिर्जनशील परिवारले आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा बलात्कृत बालिकाको विवाह गराउन खोजेको खुलासा गरेपछि यो रहस्य बाहिर आएको हो । सो संस्थाले उद्धारको गर्न खोज्दा राजनीतिक दलका कार्यकर्तासहित केही स्थानीयले ‘शेर्पामा जातले दिएको हुन्छ’ भन्दै पीडकसँग जबर्जस्ती विवाह गराउन खोजेका थिए ।

‘हामी मिलाउँछौं, हाम्रो जातमा यस्तो चल्छ भनेर विवाह गराउन मलाई भनियो,’ स्थानीयले दिएको दबाबलाई सिर्जनशीलकी एक सामाजिक परिचालकले नलेख्ने शर्तमा भनिन्, ‘हामीले बालविवाह गर्न नहुने र पीडकलाई सजायँ दिलाउनुपर्ने आवाज उठाउँदा अनेक खप्की सहनुप¥यो ।’

बलात्कृत बालिकाको अवस्थाबारे महिला तथा बालबालिका कार्यालयमा जानकारी दिएको दिएपछि १८ दिनपछि प्रहरीको मद्दतमा बालिकाको उद्दार गरेर चौतारास्थित बालगृहमा राखिएको थियो । ‘अहिले बालिकालाई हामीले अभिभावकको जिम्मामा दिएका छौं,’ इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी प्रमुख इन्सपेक्टर पञ्चकुमार बंखुले भने, ‘आरोपितमाथि थप अनुसन्धान भइरहेको छ ।’ उनले पीडित अहिले पुर्पक्षका लागि थुनामा रहेको जानकारी दिए ।

बलात्कृत बालिकालाई पीडकसँगै विवाह गराइदिएर घटना गुपचुप राख्ने दाउमा स्थानीयवासीसमेत थिए । ‘यहाँका राजनीति दलका नेताहरु पनि त्यही गर्न खोज्दैथिए,’ एक स्थानीयले भने, ‘पछि मात्रै कुरा बाहिर आएको हो ।’

यसरी भइन् बालिका शिकार

जेठ अन्तिम साता फुल्पिङकट्टीकी १२ वर्षीया बालिका सानु शेर्पा (नाम परिर्वतन) आफ्नो दुई बहिनीसँगै चोयाले बनेको छाप्रोमा सुतिरहेकी थिइन् । बर्षात्बाट जोगिन छाप्रोमा पालको छानो हालिएको थियो । बाबुआमा माथिल्लो भेगको गोठमा बस्ने गरेकाले तीन दिदीबहिनी मात्रै थिए । बहिनीहरु झन् सानै उमेरको भएकोले तीनको रेखदेखको जिम्मेवारीसमेत उनैमा थियो ।

रातको दुई बजेतिर पीडक आङछिरिङ शेर्पाले छाप्रोमा लात्तीले हाने । चोयाले बारेको कमजोर ढोका एकैपटकमा ढल्यो । पीडक शेर्पा सोही गाउँका १८ वर्षीय युवा हुन् । ढोकाबाट छिर्नासाथ आङछिरिङले सानुको मुख छोपेर घाँटीमा छुरी देखाएको थियो । साथै रहेका साना दुई बहिनीलाई कुनातिर हुत्याएको पीडित बताउँछिन् । ‘गुहार माग्न कराउन खोज्दा अरुलाई भनिस् भने मारिदिन्छु भन्दै मलाई यस्तो गरे ।’पीडित सानु भन्छिन् । सानुलाई बचाउने अरु कोही थिएनन् । रुँदारुँदै मुर्छा परेकी उनलाई बेहोस बनाएर बहिनी दुईलाई मार्ने धम्की दिएर आङछिरिङ भागेको थियो ।

उमेर ढाँटेर जन्मदर्ता

बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय बाह्रबिसेमा भोलिपल्टै उजुरी दिएका थिए । उजुरीपछि पीडक शेर्पालाई बाह्रबिसे प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । स्वास्थ्य केन्द्रको मेडिकल रिपोर्टका अनुसार शेर्पाले करणी गरेको प्रमाणित भइसकेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक पञ्चराम बाखुले बताए । ‘तर, शेर्पाले जर्बजस्ती गरेको स्वीकार गरेका छैनन्,’ प्रनि बाखुले भने, ‘उनीविरुद्ध मुद्दा चलिरहेको छ ।’

मुद्दालाई फितलो पार्न पीडक शेर्पाको उमेर नै परिवर्तन गरी १४ वर्ष बनाएर जन्मदर्ताको कागजात बनाएर प्रहरीमा पेश गरिएको छ । पीडक अध्ययनरत विद्यालयको कागजातअनुसार २०५६ सालमा जन्म भएको पत्ता लगाएको महिला सिर्जनशील परिवारकी परिचालिकाले बताइन् । ‘विद्यालयको कागजातअनुसार शेर्पाको जन्म २०५६ सालमा भएको पत्ता लागेको छ,’ उनले सुनाइन् ।

राजनीतिक कार्यकर्ता र केही स्थानीयले अत्यधिक रुपमा दबाब दिएका कारण सामाजिक संस्थाले चाँडै उद्धार गर्न सकेका थिएन । बिहे गरेर अपराध लुकाउने प्रयास गरिएकाले यसको पर्दाफास गरिनु आवश्यक भएकाले यो आवाज उठाएको महिला सञ्जालकी फुर्लामु शेर्पाले बताइन् । ‘यस्तो क्रियाकलाप रोक्न हरेक नागरिक अगाडि रहन आवश्यक छ,’ उनले भनिन् । पछिल्ला केही वर्षदेखि बलात्कारीका बालिकामाथि परेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।

– किशमा किशोर