बिजुक्छेको पुस्तकमा सय वर्षपछिको भक्तपुरको रुपरेखा

बिजुक्छेको पुस्तकमा सय वर्षपछिको भक्तपुरको रुपरेखा


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे एक लेखक पनि हुन् भन्ने धेरैलाई जानकारी नहुन सक्छ । बाम बुद्धिजीवीको रुपमा सुपरिचित बिजुक्छे अब्बल सर्जक हुन् । राष्ट्रिय राजनीतिमा चर्चित पात्र नारायणमान विकास निर्माणका योजना बनाउँदा चाहिँ मूलतः भक्तपुरकेन्द्रित भएर सोच्ने गर्छन् भन्ने आरोप पनि लाग्दै आएको छ । यिनै जब्बर व्यक्तित्वद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ नामक पुस्तक को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । यस पुस्तकको पहिलो संस्करण पन्ध्र वर्षअघि अर्थात् २०५९ सालमै प्रकाशित भएको थियो ।

नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ केन्द्रीय समितिले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा आगामी १०० वर्षपछि भक्तपुर कस्तो हुन्छ भन्ने परिकल्पना गरेर लेखिएको उक्त कृति सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिकीकरणको अवसरमा लेखक बिजुक्छेले आगामी १०० वर्षमा भक्तपुर कस्तो हुन्छ भन्ने परिकल्पना गरेर तयार पारेको कृतिअनुसारको समाज निर्माण हुने बताउनुभयो ।

काठमाडौँ उपत्यकाको विकासबारेमा वर्षौं पहिले विज्ञहरुले बनाएको विकासको खाकाविपरीत अहिले बस्ती विकास भएको बताउँदै बिजुक्छेले कृतिमा भएको परिकल्पनाअनुसार अगाडि बढ्दा भक्तपुरको विकास त्यसअघि नै हुन सक्ने तर्क गर्नुभयो । स्मार्ट सिटी बनाउने नाममा केही राजनीतिक दल हरित क्षेत्र विनाशको काममा लागेको भन्दै उनले दुःख पनि व्यक्त गरे ।

कार्यक्रममा विशेष आतिथ्यता जनाउनुभएका साहित्य तथा संस्कृतविद्, शताब्दी पुरुष सत्यमोहन जोशीले भक्तपुरका प्रसिद्ध नवदुर्गा र महाकाली नाचलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडी बढाउनुपर्नेमा जोड दिदैं यो कृति भक्तपुरका बासिन्दाका लागि मार्ग निर्देशित हुने विश्वास व्यक्त गर्नुभयो । भक्तपुरले आफ्नो संस्कृति संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा पनि उहाँको जोड थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल, संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ, प्राध्यापक तथा समालोचक माणिकलाल श्रेष्ठ, सम्पदाकर्मी रवीन्द्र पुरी, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, साहित्यकार डा. रामप्रसाद ज्ञवालीलगायतले १०० वर्षपछिको भक्तपुरमा परिकल्पना गरिएको समाज आगामी समयमा परिवर्तन र विकासको सम्वाहक हुने तर्क गरे ।