क्यान्सरका बिरामीलाई वीरले यसरीे दिँदैछ राहत

क्यान्सरका बिरामीलाई वीरले यसरीे दिँदैछ राहत


क्यान्सर देखिएको सेललाई सेकेर मार्ने (रेडिएसनमार्फत किल)का लागि पछिल्लोपटक विकसित प्रविधि टोमो थेरापी उपकरण वीर अस्पतालले अवलम्वन गर्न लागेको छ । टोमो थेरापीको माध्यमबाट क्यान्सरका बिरामीको उपचार गर्ने तयारीमा मुलुककै जेठो अस्पताल जुटेको र छिट्टै यस्तो सेवा वीरमा उपलब्ध हुने अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । हाल यस्तो सेवा निजीस्तरका केही अस्पतालमा मात्र उपलब्ध हुनाले बिरामीले चर्को मूल्य ब्यहोर्नु परेको छ । निजी अस्पतालहरुले दुई लाखसम्म असुल्दै आएको सोही सेवा लिन बीरमा जम्मा पाँचदेखि दश हजार बुझए पुग्ने दाबी गरिएको छ ।

‘टोमो थेरापी सेवा हामी रु पाँच हजारदेखि रु दश हजारसम्ममा दिने तयारीमा छौँ, यसमा अति विपन्न, असहाय, गरिब बिरामीलाई भने निःशुल्क सेवा प्रदान गर्दैछौँ’ – निर्देशक बस्नेतको भनाई छ । बताइएअनुसार स्वास्थ्य मन्त्रालयले यही आर्थिक वर्षमा उपकरण खरिद गरी सेवा सञ्चालनमा ल्याउन अस्पताललाई ४० करोड विनियोजन गरेको थियो । अस्पताल र अमेरिकाको एक्युरे कम्पनीबीच सो उपकरण खरिदका लागि सम्झौतासमेत भइसकेको छ । अस्पतालले उपकरण खरिद गर्न एलसी खोल्ने तयारीमा जुटेको छ ।

क्यान्सरका बिरामीको उपचारका लागि प्रयोग हुँदै आएका कोवाल्ट र लिन ज्याक उपकरणभन्दा टोमो थेरापी सेवा अत्याधुनिक र नयाँ प्रविधि मानिन्छ । विगतमा वीर अस्पतालले ती दुवै प्रविधिद्वारा सेवा दिँदै आएकामा विगत केही वर्षदेखि दुवै उपकरण बिग्रिएर थन्किएका छन् । हाल नयाँ र अन्यन्त्रबाट सिफारिस भइ आएका गरी दैनिक ५०-६० जना क्यान्सरका बिरामी बीर अस्पताल पुग्ने गर्छन् । जबकि, उपकरणको अभाव दर्शाउँदै बिरामीलाई निजी अस्पताल जान सिफारिस गर्ने प्रवृत्ति हुर्किएको छ । विपन्न बिरामीका लागि यो नै मृत्युसरह हुँदै आएको छ ।

नयाँ उपकरण जडान भइसकेपछि बीर अस्पतालले क्यान्सर उपचारका लागि अस्पतालमा आएजति सबै बिरामीलाई सेवा दिने तयारी गरेको छ भने विपन्न, असहाय क्यान्सर रोगीका बिरामीलाई सस्तो, सुलभ तथा अति विपन्नलाई निःशुल्कसमेत सेवा दिने र वीर अस्पतालले क्यान्सर उपचारमा अन्तर्राष्ट्रिय सेवा दिन सक्षम छ भन्ने सन्देश सेवाको सुरुवातसँगै सम्प्रेषण गर्ने अस्पतालको दाबी छ ।