समस्यामा परेकी एक महिलालाई आश्रय दिने बहानामा घर लगी सामूहिक बलात्कार गर्ने तीन युवालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । बारा जितपुरका २२ वर्षीया युवतीलाई आश्रय दिने बहानामा घर लगी बलात्कार गरेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१९ इनर्वाका ३० वर्षीय तैयब हुसैन, ३० वर्षीय नुरुल हक र २९ वर्षीय महम्मद तबरेजलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ।
बलात्कारको शिकार बनेकी महिला भारतको कारागारमा विगत दश महिनादेखि बन्दी जीवन बिताइरहेका श्रीमानलाई भेट्न घरबाट सोमबार बेलुकी निस्किएकी थिइन् । एक बच्चाकी आमा समेत रहेकी उनलाई तैयबले बाटोमा भेटी आश्रय दिने बहानामा आफ्नो घर लगेका थिए । तर उनले नजिकका साथीहरुलाई समेत बोलाएर महिलामाथि सामुहिक बलात्कार गरे । बलात्कार गरेर मंगलबार बिहान घरबाट निकालेपछि पीडित महिला स्थानीय प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । उनले दिएको जानकारीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।
प्रहरीले जनाएअनुसार तबरेज र तिनका साथीले यौन सम्पर्कका लागि जोड गर्दा महिलाले नमानेपछि छोराको हत्या गर्ने धम्की दिइएको थियो । छोराको जीवन रक्षाको लागि महिला विवश बन्न पुगेकी प्रहरीको आँकलन छ । त्यसपछि तीनै जनाले पालैपालो लगातार बलात्कार गरेका थिए ।
बलात्कारकी शिकार भएकी महिला र अभियोग लागेका तीनै जना अभियुक्तलाई मंगलबार नै वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लागि स्वास्थ्य परीक्षण गराइएको थियो । पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ भने महिलालाई जिप्रकाकै महिला तथा बालबालिका विकास शाखामा संरक्षण दिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया