दाङका व्यापारी राजकुमार श्रेष्ठको अपहरण गरी हत्या गरेको घटनाका मुख्य योजनाकार काठमाडौँबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा, टेकुको विशेष टोलीले तारकेश्वर नगरपालिका मनमैजु बस्ने दाङ, तुल्सीपुर उपमहानगरपालिका–११ कटाहका ३० वर्षीय खुमबहादुर केसीलाई मङ्गलबार उनकै कोठाबाटै पक्राउ गरेको हो । युवती प्रयोग गरी अपहरण गरेर फिरौती असुल्ने चक्करमा हत्या गरिएका दाङ, तुल्सीपुर उपमहानगरपालिका–५ वुटवल बस्त्रालयका सञ्चालक एवम् तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष ५३ वर्षीय राजकुमार श्रेष्ठलाई गत जेठ २६ गते अपहरण गरी सल्यान, छत्रेश्वरी गाउँपालिका–४ स्थित झिम्पे रेन्ज जङ्गलमा लगेर हत्या गरी ओडारभित्र शव लुकाएर फरार रहेका मुख्य योजनाकार केसीलाई पक्राउ गर्न केही ढिलै भएपनि प्रहरी सफल भएको छ ।
यसअघि प्रहरीले अपहरणपछि व्यापारी श्रेष्ठको हत्यामा संलग्न रहेको अभियोगमा तुलसीपुर–१२ का २५ वर्षीय अवीरल महतरा, दाङ घोराही उपमहानगरपालिका–१४ नयाँ बजारकी ३८ वर्षीया जमा पुन, तुलसीपुर उपमहानगरपालिका–६, का २३ वर्षीय रुगत थापा मगर र रोल्पा जम्कोट १ घर भई हाल घोराही उपमहानगरपालिका–४ बस्दै आएका ४० वर्षीय मनबहादुर पुनलाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेर हाल फरार रहेका अन्य सात जनाको खोजी भइरहेको छ ।
गत जेठ २६ गते साँझ अपहरणमा परेका व्यापारी श्रेष्ठको शब असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जङ्गलमा ढुङ्गाले पुरिएको अवस्थामा फेला परेको थियो ।
प्रतिक्रिया