एउटा आरोपमा नियन्त्रणमा लिइएका व्यक्तिमाथि अनुसन्धान गर्न कानुनी अड्चन देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्कै अभियोगमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ । एउटा आरोप लगाइएका व्यक्तिलाई सो आरोपमा दण्डित गर्न नसकिने भएपछि आरोप फेरेर भए पनि कारबाही प्रक्रिया अघि बढाउने काम अख्तियारको इतिहासमा पहिलोपटक भएको मानिएको छ ।
सन्दर्भ आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माको हो । चूडामणि शर्मा नेपाली कर्मचारी प्रशासनमा हुने भ्रष्टाचारको इतिहासमा सर्वाधिक अगाडि मानिने दीप बस्न्यातभन्दा विलासी मानिन्छन् । पुस्तक बिक्रीको आम्दानीबाट नै उनले आफूलाई अर्बौँको मालिक बनाएको विश्वास गर्न सकिने आधार पनि भेटिएको छैन । तर, कर फस्र्र्योट आयोगको सदस्यसचिवका रूपमा आयोगबाट भएको निर्णयलाई लिएर उनीमाथि कारबाही गर्न भने कानुनी अवरोध पैदा भएको छ ।
सरकारले नियमित प्रक्रियाद्वारा उठाउनुपर्ने कर उठ्नै नसक्ने स्थितिमा पुगेपछि बक्यौता रकम उठाउने उद्देश्यले २०३३ सालमा कर फस्र्र्योट ऐन बनाइएको थियो । उक्त ऐन बनेयता विभिन्न कालखण्डमा विभिन्न सरकारले विभिन्न व्यक्तिको नेतृत्वमा कर फस्र्योट आयोग गठन गरी बक्यौता उठाउने काम गर्दै आएको छ । कर निर्धारणसमेत गरी उठाउने अधिकार प्राप्त आयोगको निर्णयमाथि कुनै निकायमा पुनरावेदन नहुने स्पष्ट कानुनी व्यवस्था छ । ऐनको दफा १२ मा भनिएको छ– ‘…आयोगले गरेको कर निर्धारणको निर्णयउपर पुनरावेदन लाग्ने छैन ।’ त्यस्तै दफा १७ मा भनिएको छ– ‘यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियमबमोजिम असल नियतले गरेको या गर्न खोजिएको कुनै कामकारबाहीका निमित्त आयोग, आयोगका कुनै सदस्य वा आयोगका आदेश तथा निर्देशनबमोजिम काम गर्ने कुनै व्यक्तिका विरुद्ध कुनै मुद्दा वा कानुनी कारबाही चलाउन पाइनेछैन ।’
यसरी ऐनले नै चूडामणि शर्मामाथि कुनै कानुनी कारबाही गर्न नसकिने भएपछि शर्मालाई अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा केन्द्रित भएर छानबिन एवम् अनुसन्धानात्मक कारबाही अघि बढाइएको छ । जुन कानुनी दृष्टिमा नाजायज र विधिविपरीत मानिन्छ । अकुत सम्पत्ति मुद्दामा फसाउन अख्तियारले चूडामणि शर्माका पारिवारिक सदस्य, नातेदार तथा अन्य निकटस्थहरूलाई धम्क्याउने, तर्साउने र चरम मानसिक यातना दिनेजस्ता कार्य गरिरहेको थाहा भएको छ । कुनै समय तात्कालिक अख्तियार प्रमुख लोकमानसिंह कार्कीको निकटस्थ मानिएका चूडामणि शर्मालाई कार्कीनिकट भएकै कारण बदला लिने उद्देश्यले यसप्रकारको व्यवहार गरेको भन्ने पनि कतिपयको भनाइ छ । तर, दीप बस्न्यात जो पहिले कर फस्र्योट आयोगकै सदस्यसचिव थिए र सर्वाधिक धनाढ्य कर्मचारीमध्ये पर्छन्, उनले चूडामणि शर्मालाई कारबाहीको प्रयास गर्नुलाई चाहिँ हास्यास्पद मानिएको छ ।
प्रतिक्रिया