बाढीपछि सर्पदंशको प्रकोप

बाढीपछि सर्पदंशको प्रकोप


राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा एकाएक सर्पदंशका बिरामीको चाप बढेको छ । दुई साता अवधिमै अस्पतालमा तीन दर्जनभन्दा बढी सर्पदंशका बिरामी भर्ना भएको बुझिएको छ । खासगरी सप्तरीका बाढी प्रभावित क्षेत्रमा एक्कासि सर्प दंशका घटनामा वृद्धि भएपछि यस्तो अवस्था आएको हो। बाढी क्षेत्रमा यसरी सर्पको बिगबिगी बढेपछि बाढीपीडित थप त्रसित बनेका छन् ।

घरमा पानी पसेर बस्न–सुत्न र खाना खान समस्या रहेको अवस्थामा सर्पको टोकाइबाट घाइते हुनुपरेपछि बाढीपीडितमा त्रास र चिन्ता थपिएको छ । बाढी पसेका गाउँमा सर्पदंशका घटना लगातार बढ्न थालेको बताइएको छ ।

हालसम्म सर्पदंशबाट कसैले ज्यान गुमाएका छैनन् र पनि बाढीका समस्या झेलिरहेका बाढीपीडित सर्पदंशका बढ्दो घटनाले थप त्रसित बन्न पुगेका छन् । जिल्लाको एकमात्र सरकारी अस्पताल सगरमाथा अञ्चल अस्पतालमा आजभोलि दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । आएका सर्पदंशका बिरामीमध्ये उपचार सम्भव भएकालाई त्यहीँ उपचार गराइन्छ भने सम्भव नभएकालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरका विभिन्न अस्पतालमा पठाइने गरिएको अस्पताल बताउँछ ।

यति मात्र होइन, बाढीग्रस्त क्षेत्रमा सर्पदंशका अलावा ज्वरो, पखाला र रुघाखोकीको प्रकोप पनि बढेको छ । यस्ता समस्या लिएर अस्पतालमा दैनिक १५ देखि २५ जना बिरामी उपचारका लागि भर्ना हुने गरेका छन् । गर्मीसँगै वर्षा बढेपछि अहिले यस्ता बिरामीको चाप बढेको र अस्पतालमा एकाएक बिरामीको चाप बढेपछि अस्पतालमा शैय्याको समेत अभाव भएको अस्पतालले जनाएको छ ।