तीन वर्षअघिको विनाशकारी भूकम्पबाट क्षति पुगेका पीडितहरूको नाममा करोडौँ रुपैयाँ घोटाला भएको खुलासा भएको छ । सरकारले भूकम्पपीडितकै नाममा विभिन्न सामाग्री खरिद गर्ने भन्दै गरिएको बोलपत्र (टेन्डर)बाटै घोटाला भएको भन्दै सम्बन्धित निकायमा उजुरी परेपछि अहिले सो विषयले चर्चा पाएको छ ।
भूकम्पको बहानामा नेपाल भित्रिएका एनजीओ-आइएनजीओदेखि सरकारकै कर्मचारीको मिलिमतोमा करोडौँ घोटाला हुँदासमेत सम्बन्धित निकायले अनुसन्धानसम्म पनि गरेको छैन । प्राप्त विवरण अनुसार गाँउ–गाँउमा खटिएका इन्जिनियरका लागि सहज रूपमा काम गर्न भन्दै र चौबिस घण्टा सम्र्पकमा रहने उद्देश्य दर्शाउँदै खरिद गर्न लागेको विद्युतीय सामाग्रीको खरिद बोलपत्रमा सरकारी कर्मचारीबाटै कमिसन लिँदै अनियमितता गरेको पाइएको छ ।
समयमै राहत र घर निर्माणको अनुदान नपाएपछि भूकम्पपीडितहरू तेस्रो वर्षायाममा पनि पालमै आफ्नो दैनिकी गुजारा गर्दै आएका छन् । तर, कागजी रूपमा भने सरकारले घर निर्माण भइसकेको उल्लेख गरेको छ । भूकम्पपीडितलाई समयमै बासको प्रबन्ध गर्नका लागि स्थापित ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण’का प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलकै योजनाअनुसार सो कार्यलयका उच्च अधिकारीहरू पीडितका नाममा विभिन्न बहाना बनाएर अनियमितता गर्न भित्रभित्रै सक्रिय रहेका पाइएको छ ।
प्राधिकरणले पीडितलाई इन्जिनियरसँग सम्र्पक गर्न सहज होस् भन्दै खरिद गर्न लागेको ट्याब्लेट र चार्जर पावरबैंक खरिदको बोलपत्र स्वीकृत गर्ने क्रममै कमिसन लिई सबैभन्दा बढी मुल्यमा टेन्डर हाल्ने कम्पनीलाई स्वीकृति दिएकोले कारवाही गरि पाउँ भन्दै उजुरी परेपछि अहिले प्राधिकरणभित्र हलचल मच्चिएको छ ।
प्राधिकरणले भूकम्पप्रभावित जिल्लाका गाउँ–गाउँमा खटिएका इन्जिनियरका लागि खरिद गरिएको ट्याब्लेट र पावर बैंक खरिदमा भ्रष्टाचार गरिएको आरोप लागेको छ । ट्याब्लेट र पावरबैंक खरिदमा सबैभन्दा कम दरमा दर्ता गरेको टेन्डरलाई नदिएर आफ्नोलाई टेन्डर दिएको खुलेको छ ।
प्राप्त विवरणअनुसार ‘साइमेक्स इन्क लिमिटेड’ ले सबैभन्दा कम दरमा टेन्डर पेश गरेको थियो । तर प्राधिकरणले बढी प्रस्ताव हाल्ने तेस्रो नम्बरमा रहेको ‘द वेभ गु्रप टे«डिङ प्रालि’लाई सो सामान खरिद गर्ने निर्णय गरेपछि पीडितको नाममा घोटाला गरेको खुलेको हो । साइमेक्सले २ करोड १० लाख रुपैयाँमा प्राधिकरणले मागेको ट्याब्लेट र पावरबैंक आपूर्ति गर्ने टेण्डर प्रस्ताव पेश गरेको थियो । तर उसलाई नदिई २ करोड २९ लाख ९५ हजार ५ सय रुपैयाँ प्रस्ताव पेश गरेको द वेभ गु्रपलाई आपूर्तिको ठेक्का स्वीकृत गरेको पाइएको छ ।
सबैभन्दा कम साइमेक्स र दोस्रो कम दरमा न्यूयोटेक सामसुङ कम्पनीले टेण्डर प्रस्ताव गरेका थिए । न्यूयोटेक सामसुङले २ करोड २६ लाख ६८ हजार ३ सयमा प्रस्ताव गरेको थियो । पुनर्निर्माण प्राधिकरणका सीईओ डा. पोखरेल चुनावमा प्यूठान गएको मौका छोपी सचिव सर्वजितप्रसाद महतोले साइमेक्स भन्दा २८ लाख ९५ हजार ५ सय रुपैयाँ बढी दरमा बोलपत्र पेश गरेको द वेभ गु्रपलाई दिएको आरोप छ । कम दरमा प्रस्ताव हाल्नेको टेण्डर स्वीकृत नगरी सबैभन्दा बढी दरको बोलपत्र स्वीकृत गरेर कमिशन लिएको आरोपसमेत लगाइएको छ । आगामी २०७४ कात्तिक २६ गते अवकाश हुन लागेका सचिव महतोलाई प्रभावमा पारेर द वेभ गु्रपले टेण्डर पारेको छ ।
सबैभन्दा कम दरमा प्रस्ताव गरेको साइमेक्सले कम दरमा हाल्नेको टेण्डर अस्वीकृत गरेर बढी दरको प्रस्तावलाई स्वीकृत गरी भ्रष्टाचार गरेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत पेश गरेको छ । असार २२ गते दर्ता गरिएको उजुरीको दर्ता नम्बर २२२८५ रहेको छ । साइमेक्सले सार्वजनिक खरिद अनुगमन कार्यालयमा असार २२ मा दर्ता नम्बर ३१७२ मा उजुरी दिएको हो ।
उजुरीमा ट्याब्लेट र पावर बैंक खरिदको टेण्डर खोल्दा साइमेक्सको प्रस्ताव प्रथम भएको घोषणा गरिएको थियो । तर, पटक–पटक सम्पर्क गर्दा कुनै जानकारी नदिइएको उल्लेख गर्दै साइमेक्सले एकैपटक असार १९ गते राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी बिट रकमको आधारमा तेस्रो बढी रकम कबोल गर्ने द बेभ ग्रुपलाई छनोट गरिएको जनाइएको छ । पहिलो हुनेलाई सूचना नै नदिई कसरी तेस्रो हुनेलाई दिइयो भन्ने गुनासो पटक पटक गर्दा पनि सचिव महतोले सुनुवाइ नै नगरेको साइमेक्सको उजुरीमा किटानी गरेको छ । यस सम्बन्धमा पटकटेण्डरमा सबैभन्दा कम दरमा प्रस्ताव हाल्ने कम्पनीलाई सूचना नै नदिई गुपचुप रुपमा गरिएको निर्णय अमान्य र कानूनसंगत नभएकाले सो निर्णय रद्द गर्न अख्तियार र खरिद अनुगमन कार्यालयमा दिइएको उजुरीमा माग गरिएको छ ।
प्रतिक्रिया