जब राजा वीरेन्द्रलाई विकटमा आधुनिक भवनको रहर जाग्यो

जब राजा वीरेन्द्रलाई विकटमा आधुनिक भवनको रहर जाग्यो


बढ्दो विदेशमोहको परिवेशमा नेपाली इन्जिनियरहरू विदेश जान या विकसित मुलुकको अनुभव सँगाल्न लालायित देखिन्छन् । तर, स्काण्डेभियन मुलुक नर्वेका एक इन्जिनियर नेपालको भौतिक निर्माणमा लामो समयदेखि सक्रियताका साथ कामको आनन्द लिइरहेका छन् ।

कर्णाली प्राविधिक शिक्षालय जुम्लामा लामो समय बिताएका एड्रियन लोसले नेपाललाई जति बुझे उनको बुझाइ सामान्य नेपाली नागारिकका लागि आश्चर्यलाग्दा छन् । मानवविकासको उच्चतम् बिन्दुमा पुगेको नर्वेका यी नागरिकलाई नेपालको पनि कर्णाली क्षेत्रमा दशकौँ बिताउँदाका अनुभव अनौठा छन् । एड्रियन भन्छन्, ‘नौ वर्ष रमाइलोसँग बिताएँ ।’

कुरा चालिसको दशकतिरको हो । कर्णाली प्राविधिक शिक्षालयको भवन बनाउने सन्दर्भमा एड्रियनले कर्णालीको कुण्ठालाई आफैले भोगे । त्यस बेलाको बिजोग सम्झदै भन्छन्, ‘त्यो वास्तवमै कठिन थियो ।’

नेपालगञ्ज वा सुर्खेतबाट हेलिकप्टरमा ल्याउन सारै महँगो पर्ने, हिँडाएर वा बोकाएर पनि सारै कठिन हुने । त्यसका लागि कम्तीमा १०–१२ दिन लाग्ने । सामान जुटाउनै सकस तर पनि भवन बनाउनै पर्ने । शिक्षालयका अध्यक्ष तत्कालीन राजा वीरेन्द्र थिए भने एड्रियनचाहिँ उपाध्यक्ष । यसकारण पनि राजाको कडा निर्देशन एड्रियनलाई प्रत्यक्ष नै थियो । छिटो काम देखाउनुपर्छ भन्ने निर्देशन हुने गथ्र्याे ।

रड, सिमेन्ट, इँटा शहरमा मात्रै थियो । शहरबाट लैजान नै कठिन, के गर्ने के ! एड्रियन त्यसबेलाको अन्योल सम्झिन्छन् । लामो समय र अन्योलतापछि स्थानीय सामग्री नै प्रयोग गर्ने निर्णय भयो । खासमा राजा वीरेन्द्रलाई त्यति विकटमा भए पनि आधुुनिक किसिमको भवन बनाउने इच्छा थियो ।

स्थानीय ढुङ्गा, स्लेट, काठ र विशेष किसिमको माटोको व्यावस्था हुने भयो । यी सामग्री पनि निक्कै टाढाबाट मानिसले बोकेर नै ढुवानी गर्नुपथ्र्यो । तर बोेक्न पाउँदा स्थानीय सारै खुशी भए । यसको कारण आयोजनाले दिने पारिश्रमिक थियो । लगातार ८–९ घण्टा सम्म मानिसहरूले भारी बोक्नु पथ्र्यो ।

सामग्री संकलन भयो, बनाउने डिजाइन पनि तयार भयो । कर्णालीमा जाडो मौसमा बढी जाडो र गर्मी मौसममा बढी तातो हुने भएकोले भवन निर्माण गर्दा नै यस कुरामा ध्यान पु¥याउन भनियो । त्यसपछि गर्मीमा कम र जाडो मौसममा धेरै घाम छिर्ने गरी भवनको डिजाइन गरे । डिजाइनबारे के भनिने हो भन्ने जिज्ञासा एड्रियनलाई त थियो नै स्थानीयलाई झनै ठूलो चासो थियो । राजाले नै मनपराएपछि अरु त सबै हुन्छ भन्ने भैहाले । यो चरण पनि पार भयो ।

तर उनलाई सामान्य लाग्ने विषयमा राजाको कडा निर्देशन आयो– ‘रङ्ग रातै हुनुपर्छ ।’ सबै चुप र स्तब्ध भए । राजाको आदेश…, कसले के भन्ने ? सबैले एड्रियनको मुख ताके । निमेषभर अल्मलिए पनि साहस बटुलेरै उनले भने, ‘महाराज बरु मलाई जेल हालिबक्सोेस् तर यसको रङ्ग रातोचाहिँ हुँदैन ।’

यसो भन्नुको कारणचाहिँ प्रचलित रातोमाटोको सट्टा चुनढुङ्गाबाट छुट्टै सामाग्री बनाएका थिए उनले । जसको पकड तथा भारवहन क्षमता माटोभन्दा बेसी थियो । रातो माटोको प्रयोगले यसलाई कमजोर बनाउने सम्भावना थियो ।

दुई दशक लामो नेपालको निर्माण व्यवसायमा संलग्न यी विदेशी इन्जिनियर यहीँकै स्थानीय साधन–श्रोतको व्यापक प्रयोग गर्न सकिने बताउँछन् । स्थानीय प्रविधिलाई तरिका पु¥याएर प्रयोग गरेमा दीगो हुने कुरामा यिनी जोड दिन्छन् ।

यिनको नजरमा बसेका निर्माण सामग्रीहरूमा डुंगा, चुनढुङ्गा, स्लेटढुङ्गा कमेरो, काठ, रातोमाटो, बालुवा, इट्टा पानी आदि छन् । निर्माणका क्रममा ध्यान पु¥याउनु पर्ने पक्षहरू तापक्रम, मिसावटको रेसियो, हावाको मात्रा, चिसोको मात्रा पनि सारै महत्वपूर्ण हुन्छन् । यिनको सुत्र नै छ– ‘किप इट सिम्पल एण्ड सर्ट !’

सरल, सजिलो र साधारण शैलीका घरहरूले पनि सन्तोष प्रदान गर्दछन् । यसलाई सुन्दर र स्वस्थ्यवद्र्धक बनाउन सकिन्छ । काठमाडौंका आधुनिक घरहरूप्रति एडलास त्यति सन्तुष्ट छैनन् । थोरै र साघुँरा ठाउँमा बनेका घरहरू बस्न योग्य छैनन् । सित्तैमा उपलब्ध हुन सक्ने उर्जालाई सद्ुपयोग गर्न सकिएको छैन । दिउँसै बत्ती बाल्नुपर्ने घरहरू सही मान्न सकिँदैन । उनी भन्छन् ‘बिजुलीमा नचाहिने खर्च भयो ।’ हावा गतिशील हुन सकेन । कोठाभित्र ताजापन ल्याउन सकिएन ।

सन् १९८० मा युएमएन मिसनमार्फत एड्रियन नेपाल आएका थिए । उनको टोलीले नेपाल छिट्टै छोडे पनि उनी भने हालसम्म छन् । जुम्लामा आएपछि शुरुमा हाइड्रो पावरको निर्माण र पछि भवन निर्माणमा लागे । काठ चिर्ने कामका लागि यसो गर्नुपरेको उनी बताउँछन् । स्थानीय सामान र श्रोतको प्रयोगलाई नै प्राथमिकता दिने आयोजनाको उद्देश्य थियो । भूकम्पपछि उनले बनाएका भवन जोगिएको र यसले धेरैलाई सुरक्षित तुल्याएको थाहा पाएपछि एड्रियन धेरै खुशी भए ।

नेपाली कामदार मेहेनती र सिर्जनशील छन् तर उनीहरूसंग प्रविधि छैन भन्ने एड्रियनको बुझाई छ । प्रविधिका लागि नेपाली निर्माण जगतले केही खर्च गर्नैपर्छ, उनको सुझाव छ ।

प्रस्तुति : सुरेश सुवेदी