श्रीमतीसँग बजार घुमेर घर फर्कंदै गर्दा पाँचथरको फाल्गुनन्द गाउँपालिकावासी नेत्र चेम्जोङले आफ्नी श्रीमतीको हत्या गरेका छन् । ४० वर्षीया श्रीमती यशोदा राई चेम्जोङसँग बाटोमै विवाद परेको र विवादले उग्र रुप लिएपछि खुकुरी र लाठी प्रहार गरी ४२ वर्षीय चेम्जोङले श्रीमतीको हत्या गरेको बुझिएको छ ।
बिहीबार श्रीमतीसँगै गाउँनजिकैको राँकेबजार पुगेका चेम्जोङले घर फर्कने क्रममा फाल्गुनन्द–४ लिगिम्बा भन्ने ठाउँमा श्रीमतीको हत्या गरेका हुन् । हत्या नै गर्नुपर्ने कारण भने खुलिसकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले जानकारी दिएका छन् ।
श्रीमतीको हत्या गरेर बाटैमा लास छोडी अभियुक्त भागेका थिए । बटुवाहरुले हिँडिरहेका लास देखेर इलाका प्रहरी चौकी, राँकेमा खबर गरेपछि खटिएको टोलीले हत्या आरोपी चेम्जोङलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
उता तीन सातादेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बाकी एक महिलाको कङ्काल बिहीबार फेला परेको छ । चुनावी प्रचारका लागि घरबाट गत असार ७ गते हिँडेकी ३९ वर्षीया देवीमाया फागोको कङ्काल फेला परेको हो । इलाम नगरपालिका–१२ दोकान टोलका धनबहादुर बोहराको अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थामा उनको कङ्काल फेला परेको प्रहरीले जनाएको छ । मृतकको खोजीका लागि बाबु लाखबहादुर फागोले असार १० गते जिल्ला प्रहरी कार्यालय इलाममा निवेदन दिएका थिए ।
उनको हत्या भएको हो या आत्महत्या भएको हो भन्ने बिषयमा छानबिन भइरहेको छ भने कङ्काललाई डिएनए परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय इलाममा लगिएको छ ।
प्रतिक्रिया