वैदेशिक रोजगारीमा जानेलाई दुई बैंकखाता किन ?

वैदेशिक रोजगारीमा जानेलाई दुई बैंकखाता किन ?


वैदेशिक रोजगारीमा जानेले अब अनिवार्य रूपमा दुईवटा बैंक खाता खोल्नुपर्ने नीति सरकारले ल्याउने भएको छ । दुई खातामध्ये परिवारका नाममा एउटा र अर्को व्यक्ति स्वयम्को नाममा रहन्छ । रेमिट्यान्सको ठूलो हिस्सा उपभोगमै सिध्याउने उपक्रम क्रम रोक्न यसरी दुई खाताको अवधारणा ल्याइएको हो ।

वैदेशिक रोजगारीमा गएका ब्यक्तिले नेपाल पठाउने रकम अधिकांश उपभोगमै खर्च हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । आयमूलक काममा लगानी हुनुपर्ने रकम उपभोगमा खर्च नहोस् भनेर घर खर्चका लागि परिवारको छुट्टै खाता खोल्ने व्यवस्था गर्न लागिएको सम्बन्धित निकायको भनाई छ ।

वैदेशिक रोजगारीमा गएकाहरूले रकम घर पठाउने तर श्रीमतीले रकम लिएर अर्कैसित हिँड्ने गरेका घटना पनि धेरै छन् । दुईवटा खाता खोलेपछि यसमा पनि नियन्त्रण हुने विश्वास लिइएको छ ।

योसम्बन्धी विधेयक व्यवस्थापिका संसदमा दर्ता भएको छ । संसदले पास गरेपछि मात्रै विधेयक पूर्ण रूपमा कार्यान्वयनमा आउने छ ।

सरकारले बीमा पनि परिवार र सम्बन्धित व्यक्तिको गरी दुवैको गरिनुपर्ने व्यवस्था गर्न लागेको छ । यसअघि वैदेशिक रोजगारीमा जानेले मात्र बीमा गरी जानुपर्ने व्यवस्था थियो ।