आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माको रिहाइको माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइ आइतबार गर्ने भएको छ । शर्माको सुनुवाइ असार ३० शुक्रबारका दिन भए पनि समय अभावले नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखेर आइतबारको लागि सारेको हो ।
अदालतका न्यायाधीशद्वय चोलेन्द्र शमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गरेको हो । शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई मंगलबार गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
विशेष अदातलले शर्मालाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि चूडामणि शर्मा यतिबेला बन्दी अवस्थामै छन् । शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्याेट आयोगको सदस्य सचिवसमेत रहेका व्यक्तिले रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।
यता, बेग्लै आरोपमा नियन्त्रणमा लिइएका शर्मामाथि अनुसन्धान गर्न कानुनी अड्चन देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्कै अभियोगमा अनुसन्धान प्रक्रिया अघि बढाएको चर्चा सम्बद्ध क्षेत्रमा चलेको छ । अकुत सम्पत्ति मुद्दामा फसाउन अख्तियारले चूडामणि शर्माका पारिवारिक सदस्य, नातेदार तथा अन्य निकटस्थहरूलाई धम्क्याउने, तर्साउने र चरम मानसिक यातना दिनेजस्ता कार्य गरिरहेको समाचार पनि प्रकाशमा आएको थियो ।
प्रतिक्रिया