भारतबाट चोरी गरेर तथा अन्य अवैधानिक बाटो अपनाएर नेपाल भित्र्याइएका गाडी नक्कली ब्लुबुक बनाएर चढ्नेको सूचीमा कुनैबेला समाजका कैयन चर्चित पात्रहरूको समेत नाम आउँथ्यो । त्यसरी अवैध मोटरको धनी बनेर सवार हुनेमध्ये सर्वसाधारण या पहुँच नहुने व्यक्तिलाई कारवाहीको दायरामा ल्याइए पनि पहुँचवाल भने साँठगाँठ मिलाएर उम्किन्थे । चोरीको गाडी कीर्तिे कागजात बनाएर सवार हुने घटनामा व्यापकता आएपछि कारवाही प्रक्रियालाई पनि अलिक कडा बनाइयो, र अवैध सवारीसाधन प्रयोग गर्ने मात्रा घटेको महसुस गरिएको थियो ।
तर, यथार्थ भने फरक नै रहेछ । छिमेकी भारतबाट चोरीका गाडी भित्र्याएर बेचबिखन गर्ने गिरोह अझै पनि सक्रिय रहेछ भन्ने तथ्यको एउटा ताजा उदाहरण सार्वजनिक भएको छ । सरकारी कागजात किर्ते गरी जिप तथा मोटरसाइकल किनबेच गर्ने गिरोहका नाइके कैलाली, भजनी–३ का ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई प्रहरीले आठ थान जिपसहित पक्राउ गरेपछि यसको पुष्टि भएको हो ।
प्रहरीले श्रेष्ठसँगै उनका सहयोगी कैलाली भीमदत्तनगरपालिका–४ का २५ वर्षीय हिमाल जोशीलाई पनि नियन्त्रणमा लिएको छ । लाखौँ मूल्य पर्ने जिप तथा मोटरसाइकल भारतबाट ल्याएर भन्सार लिलाम गरेको किर्ते कागजात महाकाली र सेती अञ्चल यातायात कार्यालयमा दर्ता गर्ने गिरोहका नाइकेलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले असार २९ का दिन बुटवलबाट पक्राउ गरी भोलिपल्ट भीमदत्तनगरमा सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकाशबहादुर चन्दकाअनुसार अभियुक्त श्रेष्ठले ६ महिनायता बर्दियाको गुलरिया छोटी भन्सार कार्यालयबाट सवारी साधन लिलाम गरेका कागजात यातायात कार्यालयमा दर्ता गर्ने क्रममा पेश गर्ने गरेका थिए । वैधानिक रुपमा सवारी साधन छोटी भन्सार कार्यालयले लिलाम गर्न मिल्दैन । अभियुक्तका साथबाट रु एक लाख, दुई थान ल्यापटप, एक दर्जन गाडीका ब्लुबुक, बैंकमा राजश्व दाखिला गरेको भौचरलगायत सामग्री बरामद गरिएको छ ।
लिलाम प्रक्रिया पूरा गरेका कागजातसहित यातायात कार्यालय पुग्ने गरेका श्रेष्ठलाई यातायात कार्यालयले पनि आवश्यक दर्ता प्रक्रिया पूरा गर्ने गरेको देखिएको छ । ‘किर्ते कागजातका आधारमा दर्ता गरी ढड्डामा अभिलेख राखी ब्लुबुक दिँदासम्म यातायात कर्मचारीहरूको गम्भीर त्रुटि देखियो’, प्रहरी उपरीक्षक चन्दले भने– ‘यहाँ दर्ता गरेर धौलागिरिलगायत अन्य अञ्चल कार्यालयमा अञ्चलीकरण गर्ने क्रममा घटनाको रहस्य खुल्यो ।’ कर्मचारीको त्रुटी भनिए पनि यस्तो धन्दामा यातायात कर्मचारीसमेत संलग्न रहने गरेको आशङ्का गरिएको छ ।
भारतबाट नेपालतर्फ चोरीका गाडी पठाउने गिरोहका तीन भारतीयको पनि पहिचान भएको बताउँदै प्रहरीले पक्राउ गर्न भारतीयपक्षसित समन्वय गरिएको जानकारी दिएको छ । अभियुक्त श्रेष्ठले नेपाली नं हालेका जिप र मोटरसाइकल सस्तोमा बिक्री गर्ने गरेका थिए । ‘रु ६० लाख पर्ने जिपहरू २० लाखसम्म बिक्री गरेको देखियो’ चन्दले भने, ‘खरिदकर्ताहरूले पनि गाडीका कागजात सक्कली देखेपछि किनमेल गरेको देखिन्छ ।’
प्रहरीअनुसन्धानबाट खुलासा भएअनुसार महाकाली अञ्चल यातायात कार्यालयबाट सात जिप, १५ थान मोटरसाइकल तथा सेती अञ्चल यातायात कार्यालयमा एक थान जिप र २२ थान मोटरसाइकल दर्ता गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । प्रहरीले दर्ता खारेजीका लागि यातायात कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ । यातायात कार्यालयहरूले पनि श्रेष्ठले ल्याएका कागजात जाँच नगरी हचुवाका भरमा दर्ता गरी आवश्यक प्रमाण दिने गरेको देखिएको छ । सो अवैध कार्यमा यातायात कर्मचारीले पनि मिलोमतो गरेको आशंका गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया