सबै जातीसँग जोडिने घले समुदायको प्रयास

सबै जातीसँग जोडिने घले समुदायको प्रयास


घले समुदायले आफ्नो सांस्कृतिक परम्परा जोगाउनका लागि ‘सांस्कृतिक तथा कलाकार विभाग’ गठन गरेको छ । देशभर तीन लाख हाराहारीमा रहेका घले समूदायले आफ्नो परम्परालाई सांस्कृतिक क्षेत्रमार्फत विश्वमाझ चिनाउनका लागि उक्त विभाग गठन गरेका हुन् । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा समाजका अध्यक्ष दिनेशकुमार घलेले आफ्नो समुदायसँग सबै जातीलाई जोड्नका लागि उक्त विभाग गठन गरेको बताए ।

समाजका सचिव मीनबहादुर घले वि.सं. २०६५ देखि घलेहरू संगठित हुँदै आफ्नो हक र हितका लागि लडेको उल्लेख गर्दै भन्छन्, ‘सबै जाती सङ्गठित भएसँगै घलेहरू पनि सङ्गठित हुनुपर्छ भन्ने मान्यताअनुसार समाज स्थापना गरेका हौँ ।’

समाजले यसअघि महिला विभाग, युवा तथा विद्यार्थी विभाग गठन गरिसकेको छ । यसले १६ जिल्लामा आफ्नो शाखा विस्तार समेत गरिसकेको छ ।

१४ औँ शताब्दीमा तिब्बतबाट बसाइँ सरी नेपाल आएका घलेहरूको मुख्य बसोबासको क्षेत्र गण्डक क्षेत्र हो । गण्डक क्षेत्रमा केही समय घलेहरूले राजा भएर शासन गरेका थिए । घले समाज लमजुङका अध्यक्ष विरसिंह घले आफ्नो संस्कृति, रीतिरिवाज र रहनसहनलाई विश्वमाझ पु¥याउन आफुहरू लागिरहेको बताउँछन् ।

कार्यक्रमकै अवसरमा कलाकार हिमाल घलेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ । यस्तै, दुर्गम जिल्ला ताप्लेजुङको घुन्सामा अस्पताल निर्माणका लागि विभिन्न जिल्लाका घलेहरूले रकम सहयोग गरेका छन् । घुन्साकी याङजुङ शेर्पालाई अस्पताल निर्माणका लागि लिः ल फङ् घले समाजलले एकलाख, लमजुङस्थित भोटेओडार घले संरक्षण कोषबाट १५ हजार, लिः ल संघका केन्द्रिय उपाध्यक्ष धनबहादुर घलेले १० हजार, चितवनका अध्यक्ष गंगा घलेले तीनहजार, भोटेवडार घले संरक्षण कोषका कोषाध्यक्ष मकर घलेबाट एकहजार पाँच सय सहयोग भएको महासचिव जित बहादुर घलेले बताए ।