अवैध सम्बन्ध लुकाउन बलात्कार र हत्या

अवैध सम्बन्ध लुकाउन बलात्कार र हत्या


गत वैशाख १९ गते रातको समयमा एक महिलालाई सामूहिक बलात्कार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । घटना महोत्तरी जिल्ला भंगहा गाउँपालिका–९ पोखरी टोलको हो । उक्त रात सोही स्थान निवासी लक्ष्मण दासकी पत्नी ३५ वर्षीया शिलादेवी दासलाई राति ११ बजे राती गई ढोका खोल्न लगाए । अभियुक्तहरु मिली मुख नाक बन्द गरेर घरभन्दा ४०० मिटर उत्तर खेतमा लगी चार-पाँच जनाले सामूहिक बलात्कार गरेका थिए ।

प्रहरी अनुसन्धानबाट खुलासा भएअनुसार चरम गरिबीका कारण विगत १५ वर्षदेखि पति लक्ष्मण दास वैदेशिक रोजगारीमा रहेका शिलादेवी दास छोरा बुहारीसँग घरमा सुतिरहेको अवस्थामा उनलाई अभियुक्त अमृता देवीले घरबाट बाहिर बोलाइकी थिइन् भने चार÷पाँच जनाले उनको दुवै हात, खुट्टा बाँधेर पालैपालो बलात्कार गरेर उनलाई टाउकोमा इँटाले हानेर हत्या गरी फालिदिएको अवस्थामा प्रहरीले वैशाख २० गते बिहान ७ बजे उनकै बारीमा फेला पारेको थियो ।

उक्त अभियोगमा पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी गाउँपालिका–१ बस्ने प्रगास यादवका छोरा ४६ वर्षीय वरुणकुमार यादव, हनिफ कवारीका छोरा २८ वर्षीय जिवरुल राइन कवारी र भंगहा गाउँपालिका–९ बस्ने ललित दासकी पत्नी ३७ वर्षीया अमृतादेवी दास रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका वरुणकुमार यादव र अमृतादेवी दासबीच अनैतिक शारीरिक सम्बन्ध रहेको र सो सम्बन्धबारे शिलाले जानकारी पाएपछि उनलाई दुवै जनाले १० हजार तिरेर भाडामा जिवरुल राईनलगायत अन्य चार-पाँच जना व्यक्तिलाई बोलाएर दुवै जनाले शिलाको सामूहिक बलात्कारपछि हत्या गराएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

घटना घटेको तीन महिनाभन्दा बढी भइसक्दा पनि गाउँमै बसिरहेका तीनैजनालाई प्रहरीले निक्कै ठूलो अनुसन्धानपछि गत मङ्गलबार पक्राउ गर्न सफल भएको हो भने यस घटनामा संलग्न अन्यको खोजतलाश भइरहेको बताइएको छ ।

यसैबीच पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भुमिनन्द दुलालको बुधबार हत्या भएको हो । हत्यामा मृतकका छोरीहरु अञ्जना दुलाल, बेलकुमारी दुलाल, अप्सरा दुलाल र ज्वाई टेकबहादुर बुढासहितका व्यक्तिको संलग्नता देखिएको प्रहरीको भनाई छ । घटना दिउँसो गराए पनि प्रहरीले भने साँझ ५ बजेमात्रै शव सेतो कपडाले छोपी राखेको अवस्थामा फेला पारिएको थियो ।