प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ

प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ


राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर, संवैधानिक अंगका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, मुख्य सचिवलगायतको उपस्थिति रहेको थियो । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले आइतबार प्रस्तावित प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

गत जेठ २४ देखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएका पराजुली प्रधानन्यायाधीशमा नियुक्त भएपछि उहाँले आगामी २०७५ वैशाख १५ गतेसम्म कार्यभार सम्हाल्नु हुनेछ । विसं २०१० वैशाख १६ गते तनहँु ु काहँु शिवपुरमा जन्मनुभएका पराजुली लामो समयसम्म कानुन व्यवसायमा संलग्न रहनुभएको थियो । विसं २०४७ मंसिरमा तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीशका रुपमा अदालतमा उहाँको प्रवेश भएको हो ।

प्रधानन्यायाधीश पराजुलीले सपथ लगत्तै सर्वोच्च अदालत आएर पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा सपथ खाएर सर्वोच्च अदालत आउँदा पराजुलीलाई कर्मचारीहरुले पुष्पगुच्छासहित स्वागत गरेका थिए ।

२७ औं प्रधान्यायाधीश पराजुली आउँदो वैशाख १५ गतेसम्म पदमा रहनेछन् । ०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रुपमा उनी न्याय सेवामा प्रवेश गरेका थिए । यसअघि महाअभियोग लागेर प्रधानन्यायाधीश सुशीला कार्की निलम्बनमा परेपछि पराजुलीले केही दिन कार्यवाहक प्रधानन्यायाधीशको रुपमा काम गरेका थिए ।