न्यायिक सुधारका लागि प्रधानन्यायाधीश प्रतिबद्ध

न्यायिक सुधारका लागि प्रधानन्यायाधीश प्रतिबद्ध


नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले ढिला न्याय दिनु भनेको न्याय नदिनुसरह हो भन्ने धारणाप्रति गम्भीर हुँदै छिटो र कम खर्चमा न्याय दिने गरी काम गर्न आफू प्रतिबद्ध भएको बताउनुभएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रधानन्यायाधीश सर्वोच्च अदालत पुगी पदभार ग्रहण गर्नुभएको थियो ।

पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश पराजुलीले छिटो र कम खर्चमा न्याय दिनका लागि कर्मचारीलाई समयभन्दा बढी काममा लगाएर भए पनि काम गर्ने आफ्नो योजना खुलासा गर्नुभयो । “सूचना प्रविधिको प्रयोग गरी अनलाइनबाटै म्याद तामेली, तारेख कम खर्चमा गर्न सकिने, असहाय मानिसलाई अदालत शुल्क नलिए हुन्छ कि, कसरी न्यायिक सुधार गर्न सकिन्छ भन्नेतर्फ सोचेको छु” – प्रधानन्यायाधीश पराजुलीलको भनाई थियो ।

जता गयो त्यतै न्यायमा ढिलाई भएको गुनासो आफूले सुनेको दोहोर्याउँदै प्रधानन्यायाधीश पराजुलीले आफूले न्यायिक सुधारसम्बन्धी ३९ बुँदे कार्ययोजना तय गरेको र सोहीअनुसार काम गर्ने उल्लेख गर्नुभयो र थप्नुभयो- ‘अदालत र बार एशोसिएसनबीच आपसी छलफलबाट काम गर्ने प्रतिबद्धता जनाउँदछु ।’