नेपाल अवसर नै अवसरको मुलुक : राजदूत पुरी

नेपाल अवसर नै अवसरको मुलुक : राजदूत पुरी


नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीले नेपाल अवसर नै अवसर भएको मुलुक भएको बताएका छन् । नेपाल चेम्बर अफकमर्शले सोमबार चेम्बर भवनमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पुरीले नेपाल र भारतको आर्थिक समृद्धिका लागि दुबै देश बीचको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुले राजदूत पुरीसँग बेग्लै छलफल समेत गरेका छन् । चेम्बरका पदाधिकारी तथा कार्यसमितिका सदस्यको सहभागितासहितको छलफलमा च्याम्बरका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले नेपाल र भारतको आर्थिक विकासका लागि दुबै देश बीचको सम्बन्धलाई झन् बलियो बनाउनुपर्ने आवश्यकतामाथि जोड दिए ।

छलफलका क्रममा उद्योग, पर्यटन, जलविद्युतलगायत नेपालका ठूल्ठूला आयोजनामा लगानीका लागि भारत सरकारसँंग आग्रह गर्दै दुवै देशको आर्थिक विकासका लागि दुई देशबीचको सडक, रेल्वे सञ्जाललाई मुख्य शहरसम्म पुग्ने गरी परियोजना बनाउनुपर्नेमा विशेष जोड दिनुपर्ने आवश्यकता डा. श्रेष्ठले औल्याएका थिए ।

सो अवसरमा राजदूत पुरीले नेपालमा जलविद्युत्, पर्यटनलगायत विकासका लागि पूर्वाधार विकासको ठूलो भूमिका रहने उल्लेख गरे । उनले नेपाल र भारतबीचको सदियौँदेखिको मित्रतालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।