प्रजातान्त्रिक देशमा अराजकताको अन्त्य ?

प्रजातान्त्रिक देशमा अराजकताको अन्त्य ?


-प्रकाश के.सी.
लण्डन । गत हप्ता विश्वले यूकेमा अराजकताको अनि मानवाधिकारको अमर्यादित उदाहरण देख्यो । एक शंकास्पद ग्याङ्गस्टरको पुलिसको गोली प्रहारबाट भएको मृत्युपछि उत्तरी लण्डनस्थित टोठनहामबाट फैलिएको अराजकता यूकेका २६ वटा शहरहरुमा फैलियो । २९ वर्षीय शंकास्पद ग्याङ्गस्टर मार्क डुग्गानको मृत्युलाई पुलिसको अत्याचार भनाउँदै टोठनहामको पुलिस कार्यालयअगाडि थालिएको सानो विरोध प्रदर्शनीको अन्त्यमा केही उत्श्रृङ्खल युवाहरुबाट पुलिसको कारहरुलाई टोडफोड गर्न शुरु गरिएको थियो, जसको अन्त्यमा त्यहीं नै करोडौं धनमालको आगलागीबाट हानी भएको थियो । केही हदसम्म, काला जातिका समुदायहरु, ४ सन्तानका बाबु मार्कको पुलिसबाट गरिएको हत्या भनाउँदै अति नै क्रुद्ध र असन्तोष बन्दै गरिएको विरोधको पराकाष्ठा मान्न थालिएको लगत्तै बगेको पानीमा हात धुने प्रवृतिका युवाहरुका विभिन्न झुण्डहरुले यूकेका विभिन्न स्थानहरुमा लुट्न, आगो लगाउन अनि आतंक मच्याउन शुरु गरेका थिए । देशका विभिन्न स्थानहरुमा भइरहेको सो प्रकारको अराजकतासँग मार्क डुग्गानको मृत्युको सम्वन्धै थिएन । अशान्त भइरहेको बेलामा मौकाको फाइदा लिन केटाकेटीलगायत वयस्क युवायुवतीहरु पनि नचुकेका समाचारहरुका टीभी लेन्सहरुबाट सर्वत्र सार्वजनिक भएको थियो ।

वास्तवमा, यूकेको कानून, मानवाधिकारको आडमा निक्कै नै तरल अवस्थामा बनेको लाग्दछ । मानवविकास तथा आर्थिक विकासलगायत व्यवस्थाहरुका प्रतिपादकको रुपमा रहेको बेलायती राजनीतिक अनि बेलायती सामाजिक मानसिकतालाई कानूनी रुपमा यसरी क्षीण लाग्ने बनाएको लाग्दछ कि कुनै पनि बेला, कुनै पनि अवस्थाबाट व्यवस्थालाई नै सङ्क्रमित बनाउन सक्दछ । त्यसैको परिणाम हो, यूकेका काम नगरी, वहाना बनाई अनि सन्तानहरुको जत्था थुपारी राजसी ठाँटमा बस्ने परिवारहरुका परिमाणहरु अत्यधिक रहेको छ । शरणार्थीहरु यहाँ आधिकारिक रुपमा सानसँग सरकारी सहुलियत र सुविधा खाएर राजसी परिवेशमा ठूला घरहरुमा बस्दछन्, जबकि आम परिश्रमी बेलायती कामदारहरु भने आफ्नो कमाइको प्रशस्तै अंशहरु करहरुका विभिन्न रुपबाट सरकारलाई बुझाउन वाध्य हुन्छन् । त्यस्तै गरी, लण्डनको हृयारिङ्ग्ये काउन्सिलअर्न्तर्गत पर्ने टोठनहाममा सरकारी सुविधालाई वा बेलायती कानूनको सङ्क्रमित हालातलाई खेल्नेहरुका संख्या वास्तवमा नै भन्ने भए वहुमतमा रहेका छन् । ज्यादाजसो कालाजातिहरुको वाहुल्यता रहेको सो स्थानमा विभिन्न अवस्था र व्यवहारमा विभिन्न कम्पनीहरु आफ्नो सहभागिता राख्न हिच्किचाउँदछन्, डेलिभरी कम्पनीहरु प्रतिनिधिहरु सो स्थानमा डेलिभरी गर्न रुचाउँदैनन् । काम नगरी सरकारी भत्ता खाई साँढे जस्ता लाग्ने बच्चाबच्चीदेखि युवाहरुको जत्थाहरु छाडा भएर हरपल शहरका विभिन्न गल्ली तथा सडकहरुमा हल्लिरहेका अनि विभिन्न मोडहरुमा झगडाहरु भइरहेका अनि रगताम्मे भएर भाग्नेहरु अनि आक्रामक भएर लखेट्ने यत्रतत्र देखिनु त्यहाँको समुदायमा सामान्य होला तर त्यो बाटो भएर गुज्रनेहरुलाई अति नै आततायी लाग्नु स्वाभाविकै हो । त्यसमाथि २२ वर्षमुनिका युवाहरुको संख्याको ९० प्रतिशत बेरोजगार रहेको बताइएको सो क्षेत्रमा अपराधिक कामहरु नहुने कुरै भएन । विभिन्न प्रकारका गैरकानूनी गतिविधिहरु कार्यान्वयन गरिने उक्त क्षेत्रमा पुलिसको गतिविधि पनि स्वभाविक रुपमा बढी नै रहने हुन्छ । सन् ८५ मा एक काला जातिको युवालाई त्यस्तै एक गैरकानूनी कार्य गरेवापत समातिएपछि सो युवककी आमाले केही जत्था लिएर पुलिस स्टेशनमा धर्ना दिएकिथिईन् भने पुलिससँगको तातोतातो बहसको उपरान्तमा दुईपटक हृदयाघात भइसकेकी ती महिला तेस्रो घातपछि त्यहीं ढलेकी थिईन् । त्यसपछि सोही क्षेत्रमा पहिलो लूटपाट तथा आतंकजनक कार्यहरु थालिएको थियो, जसमा एक पुलिसको स्टेशनमा नै हत्या गरिएको थियो । केही घरहरु जलाइनुका साथै थुप्रै मोटरहरु जलाइएका थिए । त्यसको २५ वर्षपछि, धेरै समयदेखि पुलिसले निगरानीमा राखेको मार्कलाई पुलिसले अन्ततः पिछा गर्दै पक्रिन सफल हुने क्रममा ट्याक्सीको प्यासेन्जर सिटमा बसेका मार्कबाट पिछा गर्दै नजिक आउँदै गरेका पुलिसउपर गोली प्रहार गरिएको लगत्तै पुलिसले जवाफमा चलाएको गोलीले उनको मृत्यु भएको थियो । पुलिसलाई छातीमा झुण्ड्याइएको रेडियोमा गोली लागेको बताइएको थियो भने सोही गोली प्रहरी प्रशासनबाट नै दर्ता गरिएको गोली रहेको हल्ला आउनासाथ सर्वत्र सन्सनी मच्चिएको थियो । दुई गोली लागेर मारिएका मार्कलाई लागेको पहिलो गोली उनको शरीर छेडेर गई उनीतिर आइरहेका पुलिसको छातीमा रहेको रेडियोमा गाडिएको अहिलेसम्मको भनाइ रहेको छ तर सेफ्टी क्याच नै अन नगरिएको मार्कको साथमा भएको पेस्तोलको अवस्था र्सार्वजनिक भएपछि खासगरी टोठनहाममा विरोध झ्याङ्गिएको थियो ।

पहिला लण्डनका विभिन्न स्थानहरुमा फैलिएको अराजकता पाँचौ दिनसम्ममा लण्डनबाहिर पनि फैलिएको थियो । लण्डन मेयर बोरिस जोन्सन, गुह सचिव थेरेसा मे, अनि स्वयं प्रधानमन्त्री पनि आफ्नो छुट्टीको अवधिलाई छोट्याउँदै लण्डन फर्कन वाध्य भएका थिए यही काण्डले गर्दाखेरी भने यही लूटपाट तथा अराजक हालातले गर्दा लण्डनस्थित हृयाक्नीमा कारभित्र एकजनाको गोली हानी हत्या गरिएको छ भने वर्मिङ्घाममा समुदायलाई जोगाउनका लागि लागीपरेका तीन युवाहरुको गाडीको तेज रफ्तारको ठक्करबाट हत्या भएको छ । त्यस्तै लण्डनकै एक स्थानमा आगो लागेको घरभित्र एकजना युवतीको लास मृत हालातमा फेला पारिएको छ । टोठनहामको एक विल्डिङ र लण्डनकै अर्को शहर क्र्योएडेनको अर्को विल्डिङ, दोस्रो विश्वयुद्धको मारबाट पनि बचेका थिए, हाल ध्वस्त पारिएका छन् । सयौं वर्ष पुराना ती विल्डिङहरु यी दुई क्षेत्रलाई चिनाउने नमुनाको रुपमा रहेका थिए ।

अराजकता शुरु भएको पाँचौ दिनपछि अहिले लगभग १००० जना उद्दण्ड युवाहरुलाई समातिएको छ भने लगभग दुईसय जनाउपर कारबाही थालिएको छ, जसको लागि रातभरि सर्वोच्च अदालतमा विशेष सुनुवाइ भइरहेका छन् । यो अराजकताले गर्दा नै अहिलेसम्म नदेखिएको ठूलो परिमाणमा पुलिसहरुको उपस्थिति लण्डनमा भएको छ । १६००० प्रहरीहरु लण्डनका सडकहरुमा र सयौंचाहिँ अफिसका कम्प्युटरअगाडि बसी शहरमा जडान गरिएका विभिन्न सीसीटीभीहरुका फुटेजहरु हेर्दै आतंककारीहरुको पहिचान गर्न व्यस्त छन् । पाँचौं दिनपछि यूकेमा शान्तिको पुनर्वाहाली भएको भान भइरहे पनि विभिन्न शहरहरुमा पशलहरु चाँडै बन्द गर्ने अनि सीसाहरुउपर काठको फल्याक ठोक्ने काम भने रोकिएका छैनन् । कतिपय क्षेत्रहरुमा अराजककारी युवाहरुलाई रोक्नको लागि प्रतिरक्षा टोलीहरुले आफ्नो शहरहरुको परिक्रमा गर्ने क्रम थालेका छन् भने विस्तारै दिनहुँ सैयौं युवाहरुको घरघरमा गई समातिने क्रम बढ्दै गएको छ ।

प्रधानमन्त्री क्यामरुन विदालाई छोट्याई लण्डन फर्केलगत्तै आपतकालीन मिटिङ कोब्रालाई सभापतित्व गरेका छन्, जो दुईपटक बसिसकेको छ । र यही विहीबारबाट संसदलाई पनि बोलाइएको छ । गत हप्ता विश्वले देखेको लण्डन अराजकतामा पुलिसहरुको प्रयत्न अति नै फितलो बताइएको छ भने फायर बिग्रेडहरु लगभग प्रभावहीन देखिएको छ । क्यामरुनको सरकारले पुलिस विभावबाट हजारौं संख्याहरु घटाउने भन्ने योजनाउपर कार्यान्वयन नहुने अर्थात् पुलिसको संख्यामा कमी नगर्नेतिर सबैको एक मत हुने विश्वास राखिएको छ भने पुलिसलाई रबरको गोलीको प्रयोग, पानीको फोहोराको प्रयोगलगायतका अन्य ससाना बर्जित गरिएका अधिकारहरुलाई फुक्का गर्न दिने पक्का भएको छ । मानवाधिकारको जननीकर्ता बेलायतमा सोही मानवाधिकारको आडमा हरकोहीले बेलायती नीतिसँग खेलबाड गर्न सक्ने प्रत्यक्ष प्रशारणमार्फत संसारलाई थाहा भएपछि भने फितलो नीति अर्थात् ‘ब्रोकन सिस्टम’लाई पुनरावलोकन नगरी यो सरकार अनि प्रतिपक्षलाई सुख्खै नभएको सर्वत्र चर्चा रहेको छ ।

लस्करै कारहरु पार्क गरी विभिन्न पशलहरुबाट आफूलाई चाहिने सामानहरु कारको बुटमा हालेको, पशलहरुका ट्रलीहरु भरी-भरी सामानहरु ओसारिएको, पशलहरुका सीसाहरु फोर्दै अनि आगो लगाउँदै युवाहरु मुस्कुराइरहेको, घाइतेलाई सहयोग गरेको बहाना गर्दै उक्त घाइतेलाई नै लुट्दै गरेकोलगायतका अति नै असामाजिक, अमर्यादित अनि अमानवीय व्यवहारहरुको प्रसङ्गलाई सम्झँदै प्रधानमन्त्रीले ती समाजका कोढको रुपमा रहेका, नीच अभिभावकत्व पाएका ती बालबालिकहरुउपर पनि कानूनी कारबाही अत्यन्तै सख्त रुपले हुने भनेका छन् जसलाई विपक्षहरुले पनि स्वीकारेका छन् ।

देशमा रहने व्यवस्था वा लागू गरिने नीति नियमहरु ती सर्वसाधारण कानूनपालन गर्ने नागरिकहरुका लागि नै हुन् । जो सीधा छन्, जो जागरुक छन्, तिनलाई नै कानूनका परिभाषाहरुले तिनका ससाना व्यवहारलाई सम्वोधन गर्ने गर्दछ भने जसले कानूनलाई नै मान्दैनन्, तिनलाई कानूनअन्तर्गत कारबाही गर्न साधारण हालातमा बेलायत अर्समर्थ रहेको देखिन्छ किनकि, जब त्यस्तो अवस्था आउँछ, त्यहाँ कानवाधिकार, बालअधिकार, शरणार्थी अधिकार, बाँच्न पाउनु पर्ने अधिकार, खान पाउनु पर्ने अधिकार, बोल्न पाउनु पर्ने अधिकार, चिच्याउन पाउनु पर्ने अधिकारलगायत यस्ता अधिकारहरु छन् कि त्यसको प्रयोगको दुहाइ दिएलगत्तै ती निरपराध लाग्दछन् यहाँ । कसैको घर फोडेर भित्र पस्नेलाई बस्न पाउने अधिकार हुन्छ, तिनलाई सरकारले या त बासको व्यवस्था गर्न सक्नु पर्दछ, या त्यसरी नै कसैको खाली घरलाई कब्जा गर्न दिइनुपर्दछ । चोरलाई पनि चोरी गरी खान पाउने अधिकार भएको लाग्दछ । सरकारले या त खाना दिनु पर्दछ, या त रोजगारी । यसको आखिरीमा यो वहुजाति, वहुभाषी, वहुसंस्कृतिका मानिसहरु भएको देशमा सानो सानो अवस्थामा पनि भेदभावको दुहाइ दिन मिल्दछ, तब त्यो देशमा कानून वा पुलिस नाम मात्रका लाग्दछन् । तर अर्को वर्ष लण्डनमा हुँदै गएको ओलम्पिकको प्रभावलाई निस्तेज नपार्नका लागि भने बेलायती सरकारले योपालि कानूनउपर अनि वर्तमान हालातको व्यवस्थाउपर धेरै हेरफेर गर्ने पक्का छ । यो नयाँ फेरबदलीले कतिपय आम अनि सर्वसाधारण कानूनपालक नागरिकहरुलाई कुनै न कुनै अवस्थाले पिरोल्ने पक्का छ ।
-वूड ग्रीन, लण्डनबाट