यातायात विभाग एकान्तकुनामा प्रदर्शन

यातायात विभाग एकान्तकुनामा प्रदर्शन


चालक अनुमति पत्र (लाइसेन्स) वितरण तथा नविकरण रोकेको भन्दै सेवाग्राहीले यातायात व्यवस्था कार्यालय, बाग्मतीमा नाराबाजी तथा प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शन गर्दै एकान्तकुनामा यातायात अवरुद्ध गरेका छन् ।

स्थानीय निर्वाचनका कारण रोकिएको लाइसेन्स वितरण तथा नविकरण आइतबारबाट सुरु भएको थियो । पहिलो दिन ५ सयले आवेदन दिए तर, सोमबार सर्बर विग्रिएको भन्दै काम रोकेको थियो । सर्बर विग्रिएका कारण अनलाइन आवेदन दिन नपाएकाहरुले एकान्तकुना पुगेर लिखित आवेदन दिए । तर, लिखित आवेदन नलिने भनेपछि कर्मचारीमाथि हातपातको प्रयास भएको छ ।

मंगलबार पनि सर्बरमा समस्या आएको भन्दै सेवा रोकिएपछि एकान्तकुनास्थित कार्यालयमा पुगेका सेवाग्राहीले कार्यालयमा तालाबन्दी गरेका छन् र सडकमा नाराबाजी तथा प्रदर्शन गरिरहेका छन् । कार्यालय प्रमुख तेजनारायण यादवले प्रदर्शनकारीले बाहिरबाट ताला लगाएको र आफूहरुभित्रै थुनिएको दाबी गरे ।

सेवाग्राहीहरुले भने आफूहरुलाई सर्बर विग्रिएको भन्दै लाइसेन्स नदिएको तर, केहीलाई भने भित्रभित्रै दिने गरेको पाइएको आरोप लगाएका छन् । गत असार ९ गतेको कुपन भएकाहरुले समेत अझैसम्म लाइसेन्स नपाएको उनीहरुको गुनासो छ ।