एक चिकित्सकलाई दुव्र्यवहार गरिएको विषयलाई लिएर बाँके जिल्लामा सञ्चालित सबै अस्पताल बन्द गराइएको छ । नेपाल चिकित्सक संघ (भेरी अञ्चल समिति)को आह्वानमा मंगलबारदेखि सेवा बन्द गरिएको हो।
गत असार २८ गते नेपालगन्जस्थित जानकी अस्पतालका चिकित्सक डा. श्यामसुन्दर यादवमाथि केही व्यक्तिले हातपातको प्रयास गरेका थिए । डाक्टरलाई दुव्र्यवहार गर्ने अभियुक्तमाथि स्थानीय प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएको विरोधमा संघले मंगलबारदेखि अनिश्चितकालीन अस्पताल बन्दको आह्वान गरेको हो ।
चिकित्सक डा. यादवमाथि दुव्र्यवहार र अस्पतालमा क्षति पु¥याउने पाँच जनाको नाम किटान गरी निवेदन दिँदा समेत स्थानीय प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएकाले बाध्य भएर आन्दोलन आह्वान गरिएको संघका सचिव डा. आरके झाले बताए । सङ्घको आह्वानमा बाँकेका सरकारी तथा निजी अस्पताल र निजी क्लिनिकसमेत बन्द गरिए पनि अस्पतालका आपत्कालीन सेवा भने सञ्चालनमा राखिएको छ ।
सो घटनामा सन्दीप सिंह, यादव बस्याल, कमल शाही र महेश खतिवडा अभियुक्त भएको भन्दै संघले किटानी जाहेरी दिएको थियो । अहिले जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबीच सो घटनाका विषयमा छलफल भइरहेको बुझिएको छ । अस्पतालका सेवा बन्द गरिएकाले टाढा टाढाबाट उपचारका लागि नेपालगन्ज पुगेका बिरामी र तिनका आफन्तले सास्ती भोग्नुपरेको छ ।

प्रतिक्रिया