सरकारसमक्ष रेल किन्न प्रस्ताव

सरकारसमक्ष रेल किन्न प्रस्ताव


पुनर्गठित रेल्वे विभागले सरकारसमक्ष रेल किन्नका लागि प्रस्ताव गरेको छ । सन् २०१८ को अन्त्यसम्ममा रेल गुडाउने योजनाअनुसार रेल्वे विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रेल किन्ने प्रस्ताव गरेको हो ।

रेल्वे विभागका प्रवक्ता प्रकाश उपाध्यायाका अनुसार यसका लागि करिव ३ अर्ब रुपैयाँ लाग्नेछ भने सुरुमा दुईटा मेसिन र कम्तीमा ब्रोड गेजको ६-६ वटा डिब्बा भएको रेल किन्नुपर्ने हुन्छ । सरकारले रेल किनेको खण्डमा बर्दिवास–जनकपुर–जयनगर खण्ड (४० किलोमिटर) मा २०१८ को डिसेम्बरसम्ममा रेल गुड्ने उनको दाबी छ ।

‘रेल किन्नका लागि हामीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यो हप्ता प्रस्ताव गरेका छौँ । सरकारले रेल किन्यो भने सन् २०१८ को अन्त्यसम्म नेपालमा कुदाउन सकिने छ’, उपाध्यायले थपे– ‘हाम्रो तर्फबाट सबै काम पूरा हुनेछ । मार्चसम्ममै सबै काम सकिन्छ ।’

बर्दिबास–जनकपुर–जयनगर रेल्वे खण्डमा सिभिल इन्जिनियरिङको सबै काम सकिएको जानकारी दिँदै उपाध्यायले भने, ‘अबबाँकी लिक ल्याउने काम हो, त्यसको पनि काम भइरहेको छ । यी सबै हेर्दा मार्चसम्म सकिन्छ र रेल गुड्नका लागि रेल्वे तयार हुन्छ ।’

ज्ञातव्य छ, बर्दिबास–जनकपुर–जयनगर रेल्वे खण्ड निर्माणको जिम्मेवारी भारतीय निर्माण कम्पनी ‘इरकोन’ले पाएको छ । जयनगर–जनकपुर रेल्वेको लिक ‘न्यारो गेज’ को भएकाले त्यसलाई भत्काएर नयाँ बनाइएको हो ।

चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमा बर्दिबास–लालबन्दी (३० किलोमिटर)मा काम भइरहेको छ । यस क्षेत्रमा १० मिटरसम्म अग्ला ग्राभेलका संरचना निर्माण तथा कलभर्ट निर्माणको काम भइरहको प्रवक्ता उपाध्यायले बताए ।

चालु आर्थिक वर्षमा सरकारले जम्मा ४ अर्ब बजेट छुट्याएको छ । तर, यसमै मोनो रेल र मेट्रो रेलको बजेट पनि समावेश भएको छ । ‘यो बजेटमा हाम्रो भागमा आउने बजेट करिब २ अर्ब मात्रै हो । यो बजेटले योजनाअनुसार काम गर्न सकिँदैन’, प्रवक्ता उपाध्यायले भने– ‘हामीले अर्थमन्त्रालयसँग २० अर्ब बजेट माग गरेका छौँ ।’

तस्बिर सभार : गुगल