आदर्श बहुमुखी क्याम्पसभवनको शिलान्यास

आदर्श बहुमुखी क्याम्पसभवनको शिलान्यास


धादिङको गजुरीबजारस्थित आदर्श बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । मित्रराष्ट्र भारतको ४ करोड १२ लाख आर्थिक अनुदान सहयोगमा नयाँ क्याम्पसभवन बन्न लागेको हो । नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीले गत साता नयाँ क्याम्पसभवनको शिलान्यास गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनसहित सन् २००६ मा स्थापना भएको आदर्श बहुमुखी क्याम्पसमा करिब दुई सय छात्रछात्रा अध्ययनरत छन् भने क्याम्पसको नयाँ भवन निर्माणपछि गजुरी एवम् आसपासका लगभग १८ गाविसका छात्रछात्राले उच्च शिक्षा अध्ययनको सुविधा हासिल गर्नेछन् । विशेषगरी पिछडिएका चेपाङ, तामाङलगायतका विभिन्न जनजाति तथा दलित समुदायका विद्यार्थीका लागि यो क्याम्पस फलदायी हुने अपेक्षा लिइएको छ । नयाँ भवनमा उपलब्ध हुने थप सुविधाले अध्ययन–अध्यापन कार्यको गुणस्तरसमेत वृद्धि गर्ने स्थानीय अभिभावकहतको विश्वास छ ।

ज्ञातव्य छ, भारत सरकारको सहयोगमा धादिङमा यसअघि ३ करोड ८३ लाख लगानीको एक परियोजना सम्पन्न भएको छ भने अर्को एक परियोजना (छापाभञ्ज्याङ खानेपानी आयोजना) निर्माणाधीन अवस्थामा रहेको छ । यस्तै, जिल्लाका लागि आठवटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध भइसकेको छ ।

यसैबीच, नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीले नेपाल अवसर नै अवसर भएको मुलुक भएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले सोमबार चेम्बर भवनमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पुरीले नेपाल र भारतको आर्थिक समृद्धिका लागि दुवै देशबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले उद्योग, पर्यटन, जलविद्युत्लगायत नेपालका ठूलाठूला आयोजनामा लगानीका लागि भारत सरकारसँग आग्रह गरेका थिए ।

राजदूत पुरीसँग भएको छलफलमा च्याम्बरका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले नेपाल र भारतको आर्थिक विकासका लागि दुवै देशबीचको सम्बन्धलाई झन् बलियो बनाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो भने राजदूत पुरीले नेपालमा जलविद्युत्, पर्यटनलगायत विकासका लागि पूर्वाधार विकासको ठूलो भूमिका रहने उल्लेख गर्दै नेपाल र भारतबीचको सदियौँदेखिको मित्रतालाई अझ मजबुत बनाउनुपर्ने धारणा अघि सार्नुभयो ।