मुटुको उपचार गर्न पूर्वराजा नर्भिकमा

मुटुको उपचार गर्न पूर्वराजा नर्भिकमा


मुटुमा समस्या देखिएपछि पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र शाहको नर्भिक अस्पतालमा उपचार शुरु भएको छ । गत आइतबार नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ नर्भिक जानुभएको थियो । आइतबार गरिएको टिएमटी परीक्षणबाट पूर्वराजाको मुटुको चाल सामान्य नरहेको पत्ता लागेको थियो ।

स्रोतका अनुसार चिकित्सकहरूले पूर्वराजालाई मुटुको अवस्थाबारे अवगत गराउँदै थप परीक्षण तथा उपचार यहीँ (नेपालमै) गराउनुहुन्छ कि विदेश जान चाहनुहुन्छ भनी विकल्प दिएका थिए । जवाफमा पूर्वराजा ज्ञानेन्द्रले ‘सबै नेपालीहरूको उपचार यहीँ (स्वदेशमै) हुन सक्छ भने मेरो किन हुन सक्दैन ?’ भनी प्रतिप्रश्न गर्नुभएको थियो ।

यसपछि पूर्वराजाको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकहरूले आज (४ साउन ०७४) बुधबारको निम्ति समय मिलाएका थिए । नर्भिक अस्पतालका कार्डिओलोजी विभागका प्रमुख डा. यादव भट्ट र डा. जेपी जैसवालको चिकित्सक टिमले पूर्वराजाको उपचारको तयारी गरेको हो । बुधबार विहान नर्भिक पुग्नुभएका उहाँको एनजीओग्राफी भइरहेको र आवश्यकता अनुसार एनजीओप्लाष्टी गर्ने तयारी चिकित्सकहरूले गरेका छन् ।

ज्ञातव्य छ, यसअघि देखि नै पूर्वराजा एवम् राजपरिवारका सदस्यहरूको स्वस्थ्य परीक्षण तथा उपचार नर्भिक अस्पतालमा हुँदै आएको छ । पूर्वबडामहारानी कोमलको नियमित फलोअप समेत नर्भिकमै भइरहेको छ भने केही समयअघि पूर्वअधिराजकुमारी प्रेरणाको पेटसम्बन्धी समस्याको उपचार पनि सोही अस्पतालमा भएको थियो । यस्तै, पूर्वयुवराज पारस शाहको मुटुको एनजीओप्लाष्टी पनि केही वर्षअघि नर्भिक अस्पतालमै सम्पन्न भएको थियो ।