– मुक्तिनाथ भुसाल
महिनावारीबिना कुनै पनि महिला आमा बन्न नसक्ने कारण महिनावारी, गर्भिणी र सुत्केरी अवस्था हरेक महिला दिदीबहिनीका लागि पवित्र समयका रूपमा लिनुपर्ने देखिन्छ । महिनावारी भएकी महिलालाई भान्छामा छिर्न नदिने, पुरुषहरूले छुन नहुने अर्थात् छुट्टै झुपडीमा बस्नुपर्ने (छाउपडी)चलन मुलुकमा रहेको छ । महिनावारी भएको समय पूजा तथा धार्मिक कार्यमा भाग लिएमा अशुभ हुने डरका कारण आफ्नो महिनावारीलाई औषधिको प्रयोगले पछाडि सार्ने कार्यमा महिलाहरू नै सक्रिय रहेका छन् । महिनावारी सुरु भएका हिन्दू महिलाले ऋषिपञ्चमीको व्रत बसेर पूजापाठ गरियो भने महिनावारी भएको बेलामा जानी–नजानी अरूलाई छोएर गरेको ठूलो पापबाट छुटकारा पाउने एउटा कडीको रूपमा लिने गरेका छन् । महिनावारी भएका बेलामा गरेका पाप पखाल्न पञ्चमी व्रत बस्ने परम्परासँगै हात्तीले टेकेको माटोले योनि र गुदद्वार सफा गरिनुको साथै तीन सय ६५ वटा ब्रस आकारका दतिउनका टुक्राले दाँत माझी त्यसका पातहरू नुहाउनका लागि प्रयोग गर्ने कार्यमा कुनै कमी देखिएको छैन ।
यसै दिनलाई मध्यनजर गरी राज्यले सरकारी बिदाको व्यवस्था गर्नु भनेको कानुनी व्यवस्थाको खिल्ली उडाउनु हो भन्दा महिला दिदीबहिनीले चित्त दुखाउनु आवश्यक देखिँदैन । नेपालको संविधानमा महिलालाई सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक हुने कुरा उल्लेख गरिएको छ । एकातिर महिलाविरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनी कानुनी व्यवस्था गर्ने अनि अर्र्कोतिर त्यही कुरालाई संरक्षण गर्न उनीहरूलाई सरकारी बिदा दिएर व्रत बस्न लगाउनुले राज्य आफ्नो नीतिमा अडिग नभएको बुझ्न सकिन्छ । यदि यसो होइन भने महिनावारीलाई पापको रूपमा व्याख्या गर्ने पञ्चमी व्रतका लागि राज्यले बिदा दिनुहुँदैन । हिजोका दिनमा ऋषिमुनिहरूले महिलालाई आफूप्रति आकर्षित गर्न वर्षमा एक दिन भए पनि दाँत, शरीर र योनिलाई सफा गर्न लगाए भन्दैमा आजको वैज्ञानिक युगमा यसको सिको गर्नुपर्ने खासै अर्थ देखिँदैन ।
महिनावारी हुनु कुनै पाप, रोग वा स्वास्थ्य समस्या नभएर स्वाभाविक प्रक्रिया हो । हरेक महिना महिलाको योनिबाट हुने रक्तश्रावलाई महिनावारी भनिन्छ । महिनावारीलाई समाजमा पन्छिएको, पाखा लागेको, नछुने भएको आदि घृणित शब्दले नामाकरण गर्दै पुरुषले ४ दिनसम्म नछुने प्रचलन रहेको छ । पहिलो महिनावारी भएका केटीहरूलाई त झनै ११ दिनसम्म घरको बुवा र दाजुभाइको नजरबाट टाढा राख्ने फेसनका कारण उनीहरू कतिपय अवस्थामा बलात्कार र जङ्गली जनावरको सिकार बन्न विवश बनेका छन् । प्रायजसो १० देखि १५ वर्षमा महिलाको महिनावारी सुरु भई ५० वर्षको हाराहारीमा अन्त्य हुन्छ । महिनावारी सुरु हुनु भनेको महिला सन्तान जन्माउन सक्ने उमेरमा प्रवेश गरेको सङ्केत पनि हो । यो एक प्राकृतिक र सर्वव्यापी विषय भएको कारण संसारभरिका महिलालाई यो नियम लागू हुन्छ ।
महिनावारी नभई गर्भधारण नहुने कारण यदि महिलामा यो क्षमता नभएको भए सृष्टि पनि निरन्तर चल्ने थिएन । महिलामा महिनावारी हुनुभन्दा दुई हप्ताअगाडि दुईवटा डिम्बाशयमध्ये एउटामा डिम्बकोष बढ्दै पाठेघरको नलीद्वारा गर्भाशयतिर जान्छ । यस अवस्थामा विशेष किसिमका यौन हर्मोनहरूका प्रभावले रक्तनलीहरू तथा तन्तुहरू वृद्धि भएर पाठेघरको भित्री तह नरम हुन पुग्छ । यदि महिलाको पुरुषसँग सम्भोग भई शुक्रकीटले डिम्ब निषेचित भएको छ भने निषेचित डिम्ब डिम्बबाहिनीनली हुँदै गर्भाशयमा पुग्छ । यदि महिलाको अण्डाशयबाट निष्कासित डिम्ब शुक्रकीटद्वारा निषेचित भएको छैन भने महिनावारीका रूपमा यो बिस्तारै योनिमार्गद्वारा बाहिर निस्कन्छ । यो अवस्था ४ देखि ५ दिनसम्म रहन्छ ।
महिनावारी प्रायः २८ दिनमा एकपटक हुन्छ, तर २१ दिनदेखि ३५ दिनसम्ममा भए पनि सामान्य मानिन्छ । यसबेलामा हुने हर्मोनको उतारचढावका कारण उनीहरूमा केही शारीरिक तथा मानसिक परिवर्तन देखिने, रगत बाहिर निस्कँदा पाठेघर खुम्चने हुँदा पेट दुख्ने, ढाड दुख्ने, कमजोरी महसुस हुन सक्दछ । महिनावारी हुँदा सामान्यतया ३ दिनदेखि ५ दिनसम्म योनिबाट रक्तश्राव हुने भएकाले दिनहुँ पूरा शरीर नुहाउनुको अलवा प्रत्येक दिन ३ वा ४ पटक योनिलाई राम्रोसँग सफा गरी सफा प्याड वा सुती कपडा फेर्नुपर्दछ । यसरी फेरिएका प्याड वा कपडाहरू खाल्डो खनेर उचित व्यवस्थापन गर्न बिर्सनुहुँदैन । यस्तो अवस्थामा उनीहरूलाई छीःछीः गरी अलग्याउने वा छाउपडीमा राख्नेभन्दा सरसफाइमा ध्यान दिन लगाउने, माया, सहयोग गर्ने र पौष्टिक खान दिने हो भने भविष्यमा योनिको समस्या, पाठेघरको समस्यालगायतका थुप्रै समस्या बोकेर महिलाको नाममा ठूलो धनराशि खर्च गर्नु नपर्ला ।
महिनावारी साँच्चै पाप हो र उनलाई छुँदा पाप लाग्ने भए हामीले पुज्ने सरस्वती, दुर्गा, लक्ष्मी, पार्वती, सीताजस्ता धनवान, बुद्धिवान, बलवान, विद्यावान देवीहरू पनि त महिला हुन् । उनीहरूको मूर्ति भएका अनगिन्ती मन्दिरहरूमा हामी पूजा गर्न जाँदा कुनै महिना, समय वा बारलाई प्रतिबन्ध लगाइएको छैन । उनीहरू पनि महिनावारी हुन्छन् भन्ने सोचका आधारमा देवीहरूको मन्दिर बनाउन लगाउनेहरूले महिनावारी हुँदा बस्ने स्थानको निर्माण गरेको कतै पनि नदेखिनु एउटा सोचनीय विषय बन्न सक्छ । परापूर्वकालमा गरिबी, अशिक्षा र चेतनाको अभावमा महिनावारीको समयमा घरबाहिर राखेर कसैलाई छुनसमेत नदिई आराम गर्न लगाएको कुरालाई आधुनिक मान्छेहरूले खिल्ली उडाउनु आफँैमा गलत व्यवहार हो । सबै धर्महरू आधारभूत रूपमा सामाजिक न्याय वा अनुशासनका रूप हुन्छन् । हिन्दू धर्मशास्त्रमा महिनावारी भएको तीन दिन सेक्स निषेध गरिएको छ । सेक्सबाहेक महिनावारीबारे छरिएका भ्रमको कुनै तुक देखिँदैन । यदि मेरी आमा महिनावारी नभएको भए म कसरी यो धर्तीमा आइपुग्थेँ भन्ने कुराको हेक्काका साथ यो विसङ्गतिको अन्त्यका लागि राज्यले आफैँबाट पहलकदमी चाल्नु उपयुक्त हुने महसुस गरिएको छ ।
प्रतिक्रिया