निजामती सेवाको सर्वोच्च पद मुख्यसचिव रहेका व्यक्ति पैसाका लागि सहसचिवसरहको पद स्वीकार गर्न तयार भएपछि नेपाली कर्मचारीको स्तर, जिम्मेवारीबोध र देशप्रतिको निष्ठा तथा भक्तिमाथि गम्भीर प्रश्न उठेको छ । मुख्यसचिव पदमा रहेका सोमलाल सुवेदीले पदबाट राजीनामासमेत नदिई एसियाली विकास बैंकको मनिलास्थित प्रधान कार्यालयमा सहसचिवस्तरको ‘जागिर खान’ गएपछि यसरी प्रश्न उठेको हो । सुवेदीको यो कदमले कर्मचारीको छवि त धमिल्याएकै छ, देशको समेत बेइज्जत गरेको महसुस सबै जानकारहरूले गरेका छन् । यसअघि नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकृत गोविन्दबहादुर थापाले जुनस्तरको कर्मचारी भएर उक्त बैंकमा काम गरेका थिए, अहिले ‘मुख्यसचिव’ सुवेदी पनि सोही हैसियत स्वीकार गरेर ‘सेवा गर्न’ मनिला पुगेका छन् । सुवेदीलाई सरकारले अतिरिक्त समूहमा राखेर एसियाली विकास बैंकको कर्मचारीका रूपमा काम गर्ने अनुमति दिएको छ । करिब एक वर्ष सेवाअवधि बाँकी रहँदै सुवेदी पदबाट राजीनामा दिएर मनिला जान चाहन्थे । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिईकन जान भनेपछि उनी आफ्नो पद ‘यथावत्’ राखेर मनिला पुगेका हुन् ।
भौतिक योजना मन्त्रालयका तात्कालिक सचिव धनबहादुर तामाङ असार २८ गतेदेखि सेवानिवृत्त हुने भएपछि त्यसअघि नै सुवेदीलाई राजीनामा गराएर मुख्यसचिव पद रिक्त बनाउने, उक्त पदमा तामाङलाई बढुवा नियुक्ति गर्ने र करिब ६ महिनामा तामाङले सो पदबाट पनि अवकाश पाएपछि लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउने रणनीतिक योजना सत्ता–घटककै एउटा पक्षले बनाएको थियो । तर, माओवादी अध्यक्ष प्रचण्डले ‘धनबहादुर तामाङले अवकाश पाउनुअघिसम्म राजीनामा नदिन’ सोमलाल सुवेदीलाई भनेका कारण सुवेदी मनिला जाने दिन निश्चित भइसकेपछि पनि राजीनामा नदिईकन बसेका थिए । प्रचण्डको योजना शान्तराज सुवेदीलाई मुख्यसचिव बनाउने थियो र साउन २ गतेसम्म राजेन्द्रकिशोर क्षेत्रीको सेवाअवधि कायम नरहेको भए यसबीचमै शान्तराज सुवेदी या शान्तबहादुर श्रेष्ठ मुख्यसचिव बन्न सम्भव थियो । अब मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेरहदका कारण आगामी कात्तिकमा अवकाश पाउँदैछन्, तर त्यसअघि नै शान्तराज र शान्तबहादुर सेवानिवृत्त हुँदै छन् । कुनै अप्रत्यासित घटना भएन भने अब राजेन्द्रकिशोर क्षेत्रीपछि लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाइने निश्चितप्रायः छ ।
कर्मचारी प्रशासनभित्रको राजनीति या प्रशासनमाथि राजनीतिक क्षेत्रको हस्तक्षेप, जे भने पनि नेपालको कर्मचारी प्रशासनमा के कसरी ‘राजनीति’ हुन्छ भन्ने यस घटनाले पनि स्पष्ट गरेको छ । कर्मचारी प्रशासनभित्र हुने राजनीतिका कारणले भन्दा पनि सोमलाल सुवेदीले पैसाका लागि कर्मचारी जगत् र देशसमेतको मानमर्दन हुने जुन काम गरेका छन् यसले चाहिँ धेरै नेपालीलाई दुःखी बनाएको छ । हुन त पैसाका लागि यसरी देशको बेइज्जत गर्ने पहिलो कर्मचारी भने सोमलाल सुवेदी होइनन् । यसअघि परराष्ट्रसचिव र संयुक्त राष्ट्रसङ्घका लागि नेपालका प्रतिनिधि तथा बेलायतका लागि नेपाली राजदूत भइसकेका मुरारीराज शर्मा नामक व्यक्तिले पनि नेपालको बेइज्जत गरेका हुन् । बेलायतमा राजदूत रहँदा तात्कालिक परराष्ट्रमन्त्री उपेन्द्र यादव र तात्कालिक प्रधानमन्त्री प्रचण्डसँग वादविवाद उत्पन्न भएपछि उनलाई फिर्ता बोलाइएको थियो । प्रचण्ड डेनमार्कको भ्रमणमा जाँदा आफूलाई भ्रमण टोलीमा सामेल नगरी पूर्ण बेवास्ता गरिएको भन्दै मुरारीराजले पत्र लेखेरै प्रचण्डको भ्रमणको विरोध गरेका थिए । यसरी गैरकूटनीतिक व्यवहार गरेपछि फिर्ता बोलाइएका मुरारीराज शर्मा नेपाल फर्किएनन्, बरु बेलायतमै शरणार्थी घोषणा गरेर जीविकोपार्जन गरिरहेका छन् । राजदूत भइसकेका व्यक्तिले आफूलाई शरणार्थी घोषणा गरेर राजदूत रहेकै देशमा बसोवास गरेका कारण नेपालीले लज्जाबोध गर्नुपरेको छ ।
त्यस्तै, पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यचाहिँ संयुक्त राष्ट्रसङ्घमा नेपाली प्रतिनिधि रहेकै बेला आफ्नो कार्यकाल सकिनुअघि राजीनामा गरेर राष्ट्रसङ्घअन्तर्गतको मामुली ‘जागिर खान’ गएका थिए । उनले इराकस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयमा निर्देशक तहमा ‘जागिर खाएका’ थिए । एउटा देशको प्रतिनिधित्व गरेर संयुक्त राष्ट्रसङ्घमा पुगेको व्यक्तिले त्यसरी पैसाका लागि इज्जत दाउमा लगाउँदा आमनेपालीले लज्जा महसुस गर्नुपरेको थियो । मधुरमणबाहेक परराष्ट्रसचिव रही संयुक्त राष्ट्रसङ्घका लागि प्रतिनिधि भएका ज्ञानचन्द्र आचार्य पनि राजदूत पदमा रहँदारहँदै राष्ट्रसङ्घमा आवेदन दिएर उपमहासचिव तहको जागिर खान पुगेका थिए । संयुक्त राष्ट्रसङ्घअन्तर्गत अतिकम विकसित भूपरिवेस्टित मुलुकको कोटामा परेको उपमहासचिव तहको जागिरका लागि आचार्यले देशको राजदूत पद छोड्दा पनि देशवासीले लज्जित हुनुपरेको थियो । उच्च तहका कर्मचारीले पैसाका निम्ति निम्नकोटिको व्यवहार देखाउँदा पटकपटक देशको प्रतिष्ठामा धक्का पुगेको भए पनि राज्य गम्भीर नहुनुलाई दुःखद मानिएको छ ।
स्मरणीय छ, संयुक्त राष्ट्रसङ्घमा नेपालको प्रतिनिधिको कुनै बेला ठूलो सम्मान थियो । संयुक्त राष्ट्रसङ्घका तात्कालिक सेकेन्ड महासचिव ड्याग ह्यामर सोल्डले सन् १९६१ मा अफ्रिकी देश कङ्गोमा भएको रहस्यमयी विमान दुर्घटनामा परी ज्यान गुमाएपछि उक्त घटनाका बारेमा छानबिन गर्न गठित समितिको संयोजक राष्ट्रसङ्घका लागि नेपाली प्रतिनिधिलाई बनाइएको थियो । त्यसबेला प्रतिनिधि थिए– ऋषिकेश शाह । राष्ट्रसङ्घमा नेपालको उचाइ कति थियो भन्ने एउटा दृष्टान्तका रूपमा यस घटनालाई लिइन्छ । तर, अहिले देशको प्रतिनिधि भएर जानेहरूले नै पैसाका निम्ति देशलाई धोखा दिन थालेपछि नेपालको प्रतिष्ठामा गम्भीर धक्का पुगेको महसुस गर्न थालिएको छ ।
हाल संयुक्त राष्ट्रसङ्घमा नेपालका प्रतिनिधि दुर्गाप्रसाद भट्टराई छन् । अब उनले ‘आचार्य’हरूलाई पछ्याउने हुन् या ऋषिकेश शाहलाई भन्ने जिज्ञाशा कूटनीतिक क्षेत्रमा पैदा भएको छ । आइन्दा उक्त जिम्मेवारीका लागि चयन गरिने व्यक्ति देशको इज्जत राख्न सक्नेस्तरको हुनुपर्छ भन्नेतर्फ सरकारको ध्यान जाने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया