विदेशमा रहेकालाई मतदान व्यवस्था गर्न माग

विदेशमा रहेकालाई मतदान व्यवस्था गर्न माग


वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न आवश्यक प्रक्रिया छिटो गर्नुपर्ने माग गरिएको छ । राजधानीमा विहिबार आयोजित मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम) नामक संस्थाले आयोजना गरेको ‘आप्रवासी कामदारको मतदान अधिकार’ विषयको छलफल कार्यक्रमका सहभागीले अहिलेको निर्वाचनमा विदेशमा रहेका नेपाली मतदान गर्नबाट छुटे पनि अब पाँच वर्षपछि हुने निर्वाचनमा सहभागी हुने गरी काम अघि बढाउनुपर्ने सुझाव दिएका हुन् ।

कार्यक्रममा श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरले करिब ४० लाख नेपाली वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक गएको तथ्याङ्क प्रस्तुत गर्दै सार्थक निर्वाचनका लागि उनीहरुको सहभागिता आवश्यक रहेको विचार व्यक्त गरे भने अन्य वक्ताहरुले विश्वका ११५ मुलुकले आप्रवासी कामदारलाई मतदानको व्यवस्था मिलाएको उदाहरण दिँदै नेपालले पनि विदेशस्थित नेपाली नियोगमा मतदान गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका थिए ।

श्रममन्त्री मन्सुरले विदेशमा रहेकालाई निर्वाचनमा सहभागी गराउन सबैतर्फबाट दबाब सिर्जना गर्न आवश्यक रहेको भन्दै यसले संसद् र राज्यको ध्यानाकृष्ट भई मुद्दाको सुनुवाइ हुने तर्क गरे ।

सोही कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुुक्त नीलकण्ठ उप्रेतीले प्रत्यक्षतर्फको निर्वाचनमा नभए पनि समानुपातिक निर्वाचनमा विदेशबाट मतदान गर्न सक्ने व्यवस्था मिलाउन सकिने धारणा राख्दै नेपालमा निर्वाचन हुनुभन्दा एक हप्ता अघिबाटै नेपाली नियोगमा दुई हप्तासम्म मतदान गर्न सकिने व्यवस्था मिलाउँदा उपयुक्त हुने सुझाव दिए । यस्तै निर्वाचन आयोगका सहसचिव नवराज ढकालले विदेशबाटै मतदानका लागि आयोगले तीन पटक अध्ययन गरिसकेको जानकारी दिँदै छिट्टै त्यसले सार्थकता पाउने गरी काम अघि बढिरहेको जानकारी दिए ।