स्कुल-कलेजलाई ड्रग्सबाट जोगाउन हिँड्दा…

स्कुल-कलेजलाई ड्रग्सबाट जोगाउन हिँड्दा…


-वसन्तराज कुँवर,
मुलुकका पूर्व र मध्ये क्षेत्रअर्न्तर्गतका अञ्चल, सदरमुकामका प्रशासक, व्यवस्थापक, प्रहरी, स्कुल-कलेज, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूमाझ ‘स्कुल तथा कलेजलाई ड्रग्सबाट कसरी जोगाउने -‘ विषयमा प्रशिक्षण कार्यक्रम आयोजनाका सिलसिलामा लगभग दुई साता राजधानीबाहिर गुजारेर गत साता म काठमाडौं फर्किएँ । र्फकंदा थकित र घाँटीको समस्याबाट पीडित हुनुपरे पनि उक्त अभियानबाट मेची, कोसी, सगरमाथा, जनकपुर र नारायणी अञ्चलका सरोकारवालाहरूले दर्शाएको अभिरुचि एवम् उनीहरूले उठाएको लाभ सम्झँदा पङ्क्तिकार सन्तुष्ट र प्रफुल्ल महसुस गरिरहेछ ।
अहिले नेपालमा एक लाख ५० हजार व्यक्ति ड्रग्सका दुर्व्यसनी छन् र तीमध्ये एक लाख सात हजार स्कुल तथा कलेजका केटाकेटी छन् । त्यसैले यो कार्यक्रम विशेष रूपमा जोखिममा रहेका स्कुल तथा कलेजका विद्यार्थीलाई ड्रग्सबाट जोगाउने उद्देश्यले चलाइएको थियो । स्कुल तथा कलेजलाई दुर्व्यसनमुक्त बनाउन विद्यार्थी, शिक्षक, अभिभावक, नागरिक समाज, पत्रकार, सामाजिक कार्यकर्ता र प्रहरी प्रशासन साथसाथै काम गर्नुपर्ने हुन्छ । त्यसैले यो प्रशिक्षणमा सबैको सामूहिक सहभागिताको आवश्यकता थियो । प्रत्येक अञ्चलमा यो कार्यक्रम सञ्चालन गर्न स्थानीय सरोकारका संस्थाहरूसँग सहकार्य गर्न जरुरी हुन्थ्यो । पहिला मैले सोचेँ- कोसँग सहकार्य गरी म यो काम अघि बढाऊँ – मेरो नजरमा प्याप्सन, पत्रकारसँग, प्रहरी प्रशासन वा कुनै स्थानीय सामाजिक संस्थासँग मिलेर यो काम गर्न सकिन्थ्यो । मसँग गण्डकीमा सञ्चारकर्मीहरूसँग मिलेर काम गरेको अनुभव थियो । पूर्वमा मैले सबैभन्दा पहिला प्रहरीसँग मिलेर काम गर्ने सोच बनाएँ र पूर्वक्षेत्रका डीआईजी भीष्म प्रर्साईंलाई आफ्नो विचार सुनाएँ । उनी मैले सोचेभन्दा निक्कै सकारात्मक देखिए । मेची अञ्चलका एसएसपी बिदामा रहेकाले मैले कोसी अञ्चलका प्रमुख मिङमार लामा र सगरमाथा अञ्चलका एसएसपी केसरी घिमिरेलाई पनि आफ्नो योजना बताएँ । उनीहरू पनि सोचेभन्दा बढी सकारात्मक र उत्साहित देखिए । मेचीमा मैले यो कार्यक्रम पत्रकारसँग मिलेर गरेँ । किनकि कुनैबेला काकताली परेर गृहमन्त्री बन्ने मौका पाएका एक झापाली ‘काङ्ग्रेसी नेता’का कारण प्रहरीहरू अनावश्यक रूपमा विवादमा तानिन पनि सक्थे, अतः त्यहाँ मैले सञ्चारकर्मीसँग मिलेर कार्यक्रम सम्पन्न गरेँ । कोसीमा एसएसपी मिङमारको कार्यक्रममा ठूलो उपस्थिति थियो । त्यहाँको प्रशिक्षण कार्यक्रममा स्वयम् डीआईजी भीष्म प्रर्साईंको उपस्थिति थियो । त्यसैगरी सगरमाथा अञ्चलमा एसएसपी केसरी घिमिरेले गर्नुभएको कार्यक्रममा पनि ज्यादै ठूलो उपस्थिति थियो । हामीले संयुक्त रूपमा त्यो कार्यक्रम सम्पन्न गर्‍यौँ र यस कार्यका लागि स्थानीय जनताबाट राम्रै प्रतिक्रिया र प्रशंसा पायौँ । पूर्वक्षेत्रको ड्रग्स रोक्ने प्रयासको इतिहासमा डीआईजी भीष्म प्रर्साईंको प्रयास अविस्मरणीय रहनेछ ।
यसैगरी म पूर्वबाट मध्यक्षेत्र आइपुगँे । मेरा लागि यो औधी खुसीको कुरो थियो कि मध्यक्षेत्रका प्रहरी प्रमुख नवराज ढकाल स्वयम्ले हेटौंडामा नारायणी अञ्चलस्तरीय जनचेतना कार्यक्रमको आयोजना गर्नुभएको थियो । उहाँले निर्देशन दिएबमोजिम जनकपुरमा पनि ठूलो समूहबीच यो कार्यक्रम सम्पन्न भइसकेको थियो । त्यहाँका अञ्चल प्रमुख नवराज सिलवाल र एसपी र्सर्वेन्द्र खनालको प्रयास साँच्चिकै प्रशंसायोग्य थियो ।
जनकपुरबाट हेटौंडा आउँदा डीआईजी कार्यालयले नै आयोजना गरेको त्यो विशाल कार्यक्रममा क्षेत्रीय प्रशासकहरूलगायत नारायणीका सम्पूर्ण प्रहरी प्रमुख, प्रशासक, सञ्चारकर्मी र स्कुल व्यवस्थापकहरू सहभागी थिए । त्यहाँ पनि खुवै राम्रो कार्यक्रम भयो ।
पूर्वक्षेत्र र मध्यक्षेत्र जानुअघि मैले पत्रकारसँग मिलेर पश्चिम क्षेत्रमा कार्यक्रम गरेको थिएँ । त्यहाँ डीआईजी कुवेर रानालगायत दुर्जकुमार राईसमेतको उपस्थिति थियो । त्यस क्षेत्रका प्रशासकहरूको पनि सहभागिता थियो ।
म जहाँ गए पनि दुर्व्यसनविरुद्धको अभियानमा क्षेत्रीय प्रहरी प्रमुखहरूको सक्रियता र सद्भाव पाएँ । मैले बरु प्रहरीमा हुँदा त्यसप्रकारको सद्भाव र सहयोग पाएको थिइनँ । हरेक स्थानमा यो राम्रो कामका लागि प्रहरी प्रमुखहरूलाई उठेर ताली बजाउन म अनुरोध गर्दथेँ र सहभागीहरूले खडा भएर लामो समय ताली पिट्थे । त्यसक्षण सम्पूर्ण प्रहरीहरूले गौरव महसुस गरेको म देख्थेँ । यस अभियानमा हिँड्ने क्रममा राजविराजबाट मैले प्रहरी महानिरीक्षक रमेश चन्दलाई आफ्नो अभियानबारे बताएको थिएँ र उहाँले पनि सबै सम्बन्धित प्रहरी प्रमुखहरूलाई यो कार्यक्रममा सहयोग गरिदिन निर्देशन दिनुभएको रहेछ । म त्यस सहयोगका लागि आईजीपी साहेवलाई धन्यवाद दिन चाहन्छु ।
म धरान पुग्दा एक अर्सइले मेरो झोला बोक्न मद्दत गरे र भने, ‘सर सर्ुर्खेतमा हुँदा हजुरले मलाई राम्रो काम गरेबापत दुई ग्रेड थपिदिनुभएको थियो ।’ मलाई सम्झना थिएन तर उसलाई सम्झना रहेछ । मैले बुझँे- समाजमा राम्रो काम गर्नेहरू नै सधैं सम्झन लायक हुँदारहेछन् । पद दुईदिने अवसर हो तर यो दुई दिनमा हामीले समाजलाई केही दिन सक्छौँ । मैले पदमा हुँदा समाजमा दिएको योगदानकै कारण आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा केही सम्मान र माया पाएको छु । धमिरा खाले काम षड्यन्त्र र पाप कर्मले जागिर छोडेपछि पनि दुःखी तुल्याउँछ । यस मानेमा म भाग्यमानी नै रहेछु कि आज असल काम गरेकै हुनाले हुनुपर्छ अवकाशपछि पनि मलाई माया गर्ने र सहयोग गर्नेहरूको कमी छैन । म यस अभियानमा सहयोग गर्ने सम्पूर्ण प्रहरी अधिकृतहरूप्रति आभार व्यक्त गर्दछु र भविष्यमा पनि दुर्व्यसनविरुद्धको अभियानमा आफूलाई जीवनको अन्तिम घडीसम्म समर्पित गर्नेछु, आभार व्यक्त गर्न चाहन्छु ती प्रहरी अधिकृतहरूलाई जो समाजप्रति उत्तरदायी छन् । त्यस्ता प्रहरी अधिकृतहरू मेरो नजरमा सम्मानित भइरहनेछन् ।